×

सुदन किराँती श्रम संस्कृतिमा प्रवेश, भन्छन, जनताको जाहना र वर्तमानको जिम्मेवारीबोध गरेर आफू श्रम संस्कृतिमा आए

images

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुदन किराँती पक्षबाट आएका सबैलाई हार्दिक स्वागत गर्दै एकले अर्कालाई स्वीकार गरेर अघि बढ्ने समझदारी बनेको जानकारी दिए।

शुक्रबार आयोजित राजनीतिक एकता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सुदन किराँतीसहितको टोलीलाई स्वागत गर्दै अब आपसी समर्थन र सहकार्यका साथ अगाडि बढ्ने बताएका हुन्।

उनले भने, ‘सुदन किराँतीज्यू र उहाँको समूहसँग एकता भएको छ। हामी हर्षित छौं, मिल्नु राम्रो छुट्नु नराम्रो हो। धेरै मानिसहरूले उहाँ र हामी मिलेर अगाडि बढोस् भन्ने चाहना राख्नुभएको थियो।’

उनले यो एकता छोटो समयका लागि मात्रै हो भन्ने आशंका नगर्न आग्रह गरे। उनले भने, ‘धेरैलाई शंका लागेको होला, दुई–तीन दिनका लागि होला, ६ महिनापछि त्यही त हो भन्ने होला। उहाँ माक्र्सवाद र माओवाद पढेर आएको, यता फेरि हर्कवाद के हो भन्ने कतिलाई लागेको छ। त्यो ठूलो कुरा होइन, देशका लागि सोच्ने ठूलो कुरा हो। यो देशको भारी सँगै बोक्छौं कि बोक्दैनौं भन्ने ठूलो कुरा हो।’

साम्पाङले ‘हर्कवाद’ को अवधारणाबारे पनि प्रष्ट पार्दै प्रकृति, संस्कृति र प्रविधिलाई जीवनको आधार मानेर अघि बढ्ने विचार रहेको बताए।

उनले भने, ‘हर्कवाद के हो भन्ने धेरैलाई छ। यो बहस हामीले छेडेका छौं। प्रकृति, संस्कृति र प्रविधिले जीवन बनेको हुन्छ। जीवनमा कुनै एक निकाल्ने हो भने त्यो जीवन रहँदैन। त्यसैले प्रकृति र संस्कृतिका लागि काम गर्छौं, साथै प्रविधिको विकास गर्दै अगाडि बढ्छौं भन्ने मान्यता नै हर्कबहादुरको कुरा हो।’

श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि नेता किराँतीले परिवर्तनकारीहरु एकै ठाँउमा आउन जनताको जाहना र वर्तमानको जिम्मेवारीबोध गरेर आफू श्रम संस्कृतिमा आएको बताए।

उनले एकताले एउटा कोसैढुङ्गा साबित गरेको र बाँकी आफूहरुको व्यवहार र प्रतिबद्धताले देखाउने धारणा राखे। किराँतीले विगतमा भएका कमीकमजोरी सच्चाउँदै देश र जनताप्रति थप उत्तरदायी भएर काम गर्ने समेत बताए। यसअघि विभिन्न पार्टीमा रहँदा आफूहरु कसैको कारिन्दाका रुपमा मात्र बस्नुपरेकाले गन्तव्यमा पुग्न नसकेको उनको भनाइ छ।

किराँतीलाई पार्टी प्रवेश गराउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले देशका लागि सच्चा भावनाका साथ काम गर्ने पार्टी आफूहरुको मात्रै भएको बताए। पार्टीमा धेरै भन्दा धेरै युवाहरुलाई जोड्दै देश बनाउने अभियानमा लाग्ने उनको भनाइ छ। उनले श्रम संस्कृति कुनै व्यक्तिका लागि नै जनताका लागि निर्माण भएको भन्दै जनताको पक्षमा सशक्त रुपमा लाग्ने प्रतिबद्धता जनाए।

शुक्रबार​ २५ बैशाख २०८३ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया