काठमाडौँ - असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर सोमबारसम्म मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । सोमबार साँझसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ ।
एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।
मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाममा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपतकालीन राहत, पुनःनिर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनःनिर्माणलाई गति दिन निर्देशन दिएको प्रवक्ता तिवारीले बताए ।
विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया