×

व्यासऋषिको एक सय आठ फिट अग्लो मूर्ति निर्माण

images

तनहुँको सदरमुकाम दमौलीको काख भएर मादी र सेती नदी बग्छ । उक्त नदीको सङ्गमस्थल नजिकै पर्छ, व्यासऋषिको आश्रम व्यासगुफा । व्यासऋषिको तपोभूमिका रूपमा परिचित ठाउँ हो व्यासगुफा । सोही गुफामा बसेर भगवान् व्यासऋषिले चारवेद र अठार पुराणको रचना गर्नुभएको बताइन्छ ।

उहाँको योगदानको कदर गर्दै उहाँको तपोभूमि व्यास क्षेत्रमा व्यासको पूर्णकदको मूर्ति निर्माण थालिएको छ । हुन त यसअघि पनि व्यासऋषिको मूर्ति निर्माणका प्रयास नभएका होइनन् । आर्थिक स्रोत जुटाउन नसक्दा मूर्ति निर्माण प्रक्रिया अघि बढाउन नसकिएको बताउनुहुन्छ मूर्ति निर्माण समितिका सचिव मदन पण्डित । उहाँले भन्नुभयो, “धेरै वर्षको प्रयासपछि बल्ल सपना पूरा भएको छ ।”

व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा एक सय आठ फिट अग्लो व्यासको मूर्ति निर्माणकार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो । विसं २०७८ जेठ ३० गते सम्झौता गरी विसं २०७९ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि बल्ल निर्माणले गति लिन थालेको छ ।  

ठेक्का सम्झौता गरी निर्माण थाले पनि जग खन्ने स्थानमा पानीको मूल फुटेर समस्या भएपछि निर्माण अघि बढाउन ढिलाइ भएको उहाँले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६५ प्रतिशत, व्यास नगरपालिका र व्यास शिवपाञ्चायन संरक्षण कोषको ३५ प्रतिशत लागतमा निर्माण सम्पन्न गर्न लागिएको हो ।  

कुल रु सात करोडको लागतमा व्यासको पैतला रहने स्थानसम्म (पेडेस्टल) निर्माण गर्न लागिएको छ । मन्त्रालयबाट बजेट निकासा नहुँदा अर्थाभावका कारण निर्माण प्रभावित हुने देखिएको व्यास शिवपाञ्चायन संरक्षण कोषले जनाएको छ । 

व्यासको मूर्ति अगाडिको भागमा गणेशको मूर्ति राखिने छ । मादीसेती नदीको सङ्गमस्थल आकारको डुङ्गा बनाउने र डुङ्गामा परासर र मत्स्यगन्धा सवार मूर्ति निर्माण गर्ने समितिले जनाएको छ । 

त्यसैगरी मूर्तिसँगै महर्षि वेदव्यास र परासरको वृत्तचित्र बनाउने,  फोटो प्रदर्शनी हल बनाउने, धर्मशाला, कुटी, ध्यान गर्ने हल, चमेनागृह, कोसेली घरलगायत निर्माण गरिनेछ । मूर्तिलाई थप आकर्षण बनाउन दुबोसहितको बगैँचा, टिकट काउन्टर, प्रतीक्षालय रहनेछ । मूर्ति निर्माण सम्पन्न पश्चात् दमौली विश्वका सबै हिन्दू धर्मको उद्गमस्थल बन्ने विश्वास गरिएको एक सय आठ फिट अग्लो मूर्ति निर्माण समितिका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो ।

सबै हिन्दू धर्मावलम्बीलाई एकपटक व्यास परिसरमा भित्र्याउने, मादी सेती नदीमा स्नान गराउने र व्यास तथा परासर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको छ । हाल निर्माण भइरहेको पेडेस्टल तीन ढलानको हुने र त्यसको उचाइ २८ फिट अग्लो हुनेछ ।

एक सय आठ फिट अग्लो व्यासको मूर्ति नेपालको मात्रै नभई विश्वकै अग्लो हुने शान्ति स्वरूपानन्द दामोदर बाबाले बताउनुभयो । मूर्ति निर्माण सम्पन्नपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा कायपलट हुने विश्वास गरिएको छ । उक्त मूर्ति निर्माणको ठेक्का गौरी पार्वती÷देव एण्ड सयर÷ऋषिशक्ति जेभी काठमाडौँले पाएको छ ।

बुधबार २२ भदौ २०७९ ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया