×

कर्णाली प्रदेश सभा बैठक नबसेरै स्थगित

images

कर्णाली प्रदेश सभाको बैठक आज बिहीवार पनि स्थगित भएको छ । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति हुन नसक्दा आज बस्ने भनिएको बैठक स्थगित भएको हो । 

आज बिहान सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि फेरि सहमतिका लागि भोलि शुक्रवार बिहान बैठक बस्ने भएको छ ।

गएकाे असार १२ गते सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्षकाे बजेटमाथि असन्तुष्टि जनाउँदै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । एमालेले बजेट तथ्यपरक नभएको, आफूसँग भएको सहमति विपरीत भएको भन्दै संशाेधन गरिनुपर्ने अडान राखेको  छ । एमालेले १५ लाख रुपैयाँमुनिका टुक्रे योजनामा विनियोजन गरिएको बजेट संशाेधन गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशका तीन वटा जिल्लामा विनियोजन गरिएको बजेट सच्याउनुपर्ने र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिअनुसार हुनुपर्ने माग राखेर प्रदेश सभाको बैठकमा अवराेध गरिरहेको छ ।

सरकार र प्रमुख प्रतिपक्ष दलको आ–आफ्नै अडानका कारण सहमति नजुट्दा प्रदेश सभा बैठक अनिश्चित भएको छ । सभामुख शाहीले छलफल सहमति नजिक भएकोले भोलि बस्ने सर्वदलीय बैठकले टुङ्गो लगाएर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिनुभयो । 

बिहीबार २३ असार २०७९ ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया