×

नेपालसंम्बतको क्यालेण्डर अब प्रयोगजन्य हुनु पर्‍यो

images

हरेक वर्ष नेपालसंम्बतको  क्यालेण्डर प्रकाशित हुंदै आएको छ । जसरी पोहर परार क्यालेण्डर निस्केर बजारमा आयो त्यसरी नै यसपालीको क्यालेण्डरमा पनि नयाँ केही देखिएन । भन्नलाई त नेसंतिकोडि प्रयोग भएको यो नयाँ क्यालेण्डर भनिएतापनि कुरो एउटै हो । जस्तो पोहर परारको क्यालेण्डरमा जम्मा ३५४ दिनको वर्ष मानेको थियो यसपाली पनि ३५४ दिन कै क्यालेण्डर बनेको छ । यदि यसरी  नेपालसंवत्को क्यालेण्डर जहिलेपनि ३५४ दिन कै मात्र बनाउंदै आउने हो भने कसैको निम्ति पनि त्यो प्रयोगजन्य क्यालेण्डर बन्यो भनेर पत्याउने कोही हुंदैन । किनकि त्यो पात्रो या क्यालेण्डरमा ३६५ दिन भएन भने त्यो काम लागेन र प्रयोग जन्य हुंदैन । अझ धार्मिक साँस्कृतिकमा काममा मात्र होइन दैनिक व्यवहारमा पनि ३६५ दिनको मात्र १ वर्ष हुने हो । क्यालेण्डरमा ३५४ मात्र देखाउने व्यवहारमा  ३६५ दिन कै हुने हो भने ३५४ दिन भएको क्यालेण्डरको औचित्य छँदै छैन भन्ने स्वतः सिद्ध हुन्छ । 
यो कुरा समीकरणको हिसावको उदाहरण लिएर हेर्न सकिन्छ । जस्तै-  
समीकरणको हिसाव

                          क=ख (मानौं क र ख बराबर छ)
अथवा, क भनेको वि.सं २०८० = ख भनेको ने.सं ११४४( यो वर्ष २०८० पनि हो र          
                                                            ११४४ पनि हो)
अथवा          २०८० घटाउ ४४= ११४४ घटाउ ४४
अथवा                २०३६ = ११००( नेसं ११०० हुंदा वि.सं २०३६ )
अथवा           २०३६ धन ४४ = ११००  धन ४४
अथवा        ४४ गुणन १ वर्ष = ४४ गुणन १ वर्ष
अथवा        ४४ गुणन ३६५ = ४४ गुणन ३५४

 

 

( अगाडिको विसंमा भने ३६५ को पिण्ड 
                                        झुण्ड्याउने  पछाडि नेसंमा चाहीं ३५४ को 
                                        पिण्ड झुण्ड्याउनाले समीकरण कुनै हालतमा 
                                        बराबर भएन )

अथवा  २०३६ सालको  ४४ वर्ष पछि २०८० साल भयो यसमा १६०६०  दिन हुन आयो इजइक्वेलटू (=) ११४४ सालको ४४ वर्ष पछि १५५७६ दिन मात्र हुन आयो 

 (यहाँ समीकरण बराबर भएन, १६०६० घटाउ १५५७६ को अन्तर ४८४ दिन हुन आयो , यो भनेको १ वर्ष ११९ दिन हुने भयो र ११९ दिन भनेको ३ महिना २९दिन )

समीकरण भनेको तराजु जस्तै हो । एकातिर ढक राखिन्छ र अर्कोतिर वस्तु राखेर काँटाले ठीक बराबर हुने गरी जोखेको छ भनी संकेत गर्दछ । यो कुरा बजारमा किनमेल गर्नेले देख्ने नै भयो किनमेल गर्न नपर्नेहरुले पनि तराजु कस्तो हुन्छ भन्ने कुरा देखी रहेकै हुन्छ । अझ सुन पसलमा त एक रत्तिलाल पनि फरक नपर्ने गरी सुन जोखी रहेका हुन्छन् । त्यो पनि एक पटक हो र एक तोला सुन जोख्न दश चोटी जोखी रहेका हुन्छन् ।

त्यस्तै कुनै पनि समीकरणको हिसाव गर्दा बराबरलाई (=) इजइक्वेलटू ले संकेत  देखाइएका हुन्छन् । समीकरणको हिसाव गर्दा इजइक्वेलटूको अगाडि र पछाडि मानौं शून्य दशमलवको पछाडि दशौं अंक पछि पनि १ मात्र पनि  फरक पर्नु हुंदैन । बजारमा आलु जोख्दा अलि फरक भए पनि लेनदेन गर्दा सह्य मान्न सक्ला भने समीकरणको हिसावमा दशवटा शून्यको पछाडि एक आए पनि हिसाव मिलेको मानिंदैन । यो कुरा हाइस्कूल पास गरी सकेकाहरुलाई भनीरहनु जरुरी नै होइन । 

 तर के गर्नु बिडम्वना कै कुरा छ । किनभने नेपालसंवत्को क्यालेण्डर बनाउंदै आउनेहरु हाइस्कूल पास नगरेका कोही पनि छैनन् । तैपनि समीकरणको हिसाव फिटिक्कै बुझेको हो जस्तो लागेको छैन परन्तु कतिले त अझै पनि बुझे पनि नबुझे जस्तो गरिरहेका छन् । हुनसक्छ  यो समीकरणको हिसाव जानेबुझेका व्यक्तिहरुले अझै पनि बेवास्ता नै गर्लान् अतः यो केवल बुझ्न चाहने जिज्ञासुहरुको लागि भनेर मात्र राख्न चाहेको हो । 

त्यसकारण विक्रमसंवत् र नेपालसंवत् संगसंगै चलीरहेको छ । तापनि ४४ वर्ष भित्र ४८४ दिन कहाँ हरायो । नेपालसंवत्को क्यालेण्डरमा त जहिलेपनि ३५४ दिन मात्र राखेर बनाइएका छन् । नेपालसंवत्को क्यालेण्डर बनाउंदा  चाहे नेसंतिकोडि प्रयोग गरेर बनाउनेहरु होउन या चाहे नगरीकनै बनाउंदै आएका हुन् । उनीहरुले ४८४ दिन कहाँ लगेर मिलान गरेको छ , कहाँनिर सम्वोधन गरिएको छ,बताउन किन सक्दैन ? अचम्म यसमा हो । बास्तवमा नेपालसंवत्मा केवल चान्द्रमास मात्र होइन यसमा सौरमास पनि छ भन्ने यथार्थलाई कहिल्यै बुझेन र यसलाई जहिले पनि अनदेखा गर्दै आउनु नै यो हविगतको प्रमुख कारण हो । 
 

समस्या
यहाँ समस्या इतिहास, संस्कृति ज्योतिष एवं सिद्धान्त कुनैमा पनि होइन । केवल मान्छेको बुझाइ, अपनाउने रुचि स्वार्थ मात्रैमा  निर्भर रहँदै आएको देखिन्छ । यो समस्या फेरि एक दुइ मात्र होइनन् अनगिन्ती छन् । तैपनि केही समस्याका बुंदाहरु यस प्रकारका छन् ।

१. मान्छेहरु यथार्थ र आफनो विवेक प्रयोग गर्ने तिर होइन । विद्वान भनाउंदा मान्छेले भनेको भनेपछि पुग्यो । त्यसमै आँखा चिम्लेर पछ्याउने प्रवृत्ति भनौं या मनोरोग बिकराल रुपमा छ ।

२. गणित भनेको एउटा विज्ञान हो । तर लामोलामो गणित तिर जानै पर्दैन । डिसेम्वर देखि जून सम्म महिना गन्दै गइयो भने जून सातौं महिना हुन्छ भनेर बुझाउन खोजेको त्यसमै पनि महाभारत नै खडा भए । यसमा सात होइन छ महिना मात्रै हुने हो भनेर जिद्दी गर्छन । होइन सात महिना नै हुने हो भनी त्यसमा ज्यान गए नि बुझाउन सकिएन । यस्तो परिस्थिति पनि आइ पर्छन् भने लामो गणित कसरी बुझाउन सकिएला, कठिन छ ।

. जुन वेला नेपालसंवत राष्ट्रले व्यवहार गर्थे त्योवेला अधिमास मान्ने मात्र होइन ग्रहण मान्ने चलन र संक्रान्ति मान्ने चलन समेत संगसंगै व्यवहार हुन्थे ।  अतः नेपालसंवतमा सौरमान र चान्द्रमान दुवै सक्रीय थिए भनेर जति भने पनि पत्याउने कोही छैन । उनीहरु एक तमासले नेपालसंवत् चान्द्रमासको संवत नै हो भनेर मान्नुमा एक इन्ची तल झरेर सोच्ने सोच कसैको देखिएकै छैन ।

४. सौरमानको वर्षमा ३६५ दिन हुन्छ र चान्द्रमानको वर्षमा ३५४ दिन हुन्छ हो । यो होइन कसैले भनी रहेको छैन । यहाँ बारम्वार नेपालसंवत्को विषयमा  लेख प्रकाशित गरी सकेको छ । ती लेखमा चान्द्रमासमा ३५४ दिन हुने हो तर नेपालसंवत् चान्द्रमासको वर्ष मात्र होइन सौरमान पनि उपस्थित छ । किनकि यसमा संक्रान्ति पर्व पनि छन् भनेर लेखेको कुरा कसैको कानको छेउ सम्म पनि ठोक्किन सकेको देखिएकै छैन । 

५. कोही त ११३५ नेपालसंवत्मा अनला (अधिमास) परेको हुंदा त्योवर्ष १३ महिना भएकोले त्यो वर्ष ३९० दिन भएको कुरा उठाएको पनि देखिए । यही २०८० सालको साउनमा अनला परेको थियो । नत २०८० मा ३९० दिन भएको देखाउन सके न त ११४३ मा ३९० दिन देखाउन सकेका छन् । यस्तो उट्पटांड्ड कुरा मात्रै गरेर भएन नि । कुनै तथ्य परक भएर विज्ञान र इतिहास सम्मत कुरा गर्ने भन्ने नै छैन  । 

६. इतिहासका स्रोत भनेका के हुन् , जे कुरा आफुले खोजि गरिरहेको हो त्यो कुरा प्रत्यक्ष रुपमा  त्यसमा उल्लेख भएको स्रोत पो स्रोत कहलिन्छ । शिलालेख, तामापत्र, ताडपत्र, हस्तलिखित ग्रन्थ कुनै लेनदेनका कागजात लगायत असंख्य मात्रामा स्वदेश तथा विदेशमा रहेका समेत स्रोतमा नेपालसंवत् प्रयोग भइरहेका छन् भने ती सवै नेपालसंवत्को स्रोत हुन सक्छ । ती स्रोतहरु प्रयाप्त हुंदा हुंदै कुनै शिलालेखको पाठ बिगारेर कृतिम शिलालेख तयार गरेर राखीरहनु के जरुरी छ ? छैन नि , यस्तो कार्यले उल्टो नेपालसंवतलाई विवादास्पद खाल्डोमा धकेलिन्छ भन्नेसम्म पनि सोच कसैले राख्ने गरेको छैन । 

७. इतिहासका तात्कालिक स्रोत र स्रोतले के कुरा दर्शाउंछ ? त्यसलाई सटिक रुपमा हेरिनु पर्छ भन्ने कुरा नै नेपालका इतिहासकारहरुमा छैन । ती इतिहासकारहरुको नजरमा नेपालसंवत्को हेराइ कस्तो होला ? त्यत्तिले पनि थाहा हुन्छ त्यस प्रकारका इतिहासकारबाट नेपालसंवत्लाई हित हुने पक्षमा केही आउला भन्ने आशाको किरण देखिएकै छैन । 

८. हरेक व्यक्तिको परिचय जान्न तीन पुस्ते खुलाउने गर्दछ भने झैं अरु विषयको पनि अघिल्लो कुरा नबुझीकन त्यस बारेमा जानेको भन्न कदापि मिल्दैन । त्यसकारण नेपालसंवत्को पनि पृष्ठभूमिको बारेमा कुनै जानकारी नै नलिइकन जसलाई जे मनलाग्यो त्यही ढंगले यो यस्तो उ यस्तो गरेर बखान गर्दै आउनुको कुनै औचित्य छैन । त्यसरी कुनै जानकारी नै नराख्नेहरुले क्यालेण्डर बनाउंदै आएको मात्र देखिएको छ । त्यसैले यही पाराले गइयो भने प्रयोगजन्य सिद्ध हुने कुनै आशा नै छैन ।

यस्ता बुंदाहरु खोतल्दै जाने हो भने कति छन् कति बयान गरेर साध्य नै छैन । हरेक वर्ष बिभिन्न संघसंस्थाहरुले नेपालसंवत्को क्यालेण्डर भन्दै प्रचार गर्दै आइरहेका छन् । ती क्यालेण्डर एउटा पनि व्यवहार योग्य सिद्ध छैनन् ।
 

समस्या समाधान गर्ने उपाय
कमसेकम यी औंल्याइएका समस्यालाई मन र मस्तिष्कले अनुभूति गरी महशूस मात्र गरियो भने पनि सुधार कसरी गर्ने भन्ने मार्ग प्रशस्त हुन सक्छ । अन्यथा अहिले सम्म जसरी मनको लड्डु घिउसित खाएर बसे जस्तै हुने बाहेक अरु हुने संभावना छँदै छैन ।

१. नेपालसंवत्को बारेमा विद्वान कहलिएकाहरुले कुन स्रोतमा टेकेर के लेखे ?  ती स्रोत  तात्कालिक एवं प्रमाणिक हो वा होइन ? त्यसमा ध्यान दिने हो त्यसपछि मात्र उनको भनाइ ठीक जँचिन आए लिने नत्र छोड्ने गर्नु पर्छ । 

२. जनवरी फरवरी लेखेर १२ वटा कार्ड बनायौं भने डिसेम्वर देखि जून सम्मको कार्ड एउटा हातमा र जून पछाडिको अरु कार्ड अर्को हातमा लियौं भने एक हातमा ७ पत्ति कार्ड र अर्को हातमा ५ पत्ति कार्ड मात्रै  पर्छ । दुइटा हातमा ६।६ पत्ति पर्दै पर्दैन । यति सामान्य हिसाव त नबुझ्नेहरु वा बुझ्न नचाहने छन् भने तारिख गणना तिथिमिति गणना सूर्यसिद्धान्त आर्यसिद्धान्त व्रह्मसिद्धान्त भन्ने कुरा कति कोश टाढा हुन जाने होला सोझै अनुमान गर्न सकिन्छ । यी कुरा बुझ्ने जनशक्ति तयार भएन भने पनि अति कठिन हुने हुन्छ ।

३.  नेपालसंवतमा सौरमान र चान्द्रमान दुवै समाहित छन् भन्ने कुरा त्यसमा ग्रहण र संक्रान्तिको उपस्थिति देखेरै भन्न सकिने कुरा हुंदा हुंदै यतातिर नजरै दिंदैन भने यस्तो स्थिति छउञ्जेल ,महशूसै गर्नै नचाहनेहरुलाई सिकाउन सकिंदैन  । 

४. सौरमानको वर्षमा ३६५ दिन हुन्छ र चान्द्रमानको वर्षमा ३५४ दिन हुन्छ यो मात्र बुझेर पुग्दैन । नेपालसंवत् सौरमान पनि हो चान्द्रमान पनि हो भन्ने महशूस नभए सम्म कठिन नै छ । 

५.  नेपालसंवत्लाई चान्द्रमासको नजरले मात्र हेरियो भने गत ११४३ मा अनला (अधिमास) परेकोले शुद्ध श्रावण र अधिक श्रावण देखेर  त्योवर्ष दृष्टि भ्रम भएर १३ महिना देख्न पुग्छ । सौरमानको नजरले हेरियो भने श्रावणको १ गते र भाद्रको १ गते यी दुइ संक्रान्तिको बीचमा एक चान्द्रमास परेको देख्ने छ । यदि नेपालसंवत् विशुद्ध चान्द्रमास मात्रै हो भने त्यसमा संक्रान्ति भन्ने हुंदै हुंदैन । जव संक्रान्ति प्रत्यक्ष छ भने दुइटा श्रावण मध्ये एउटा भाद्र रहेछ भनी देखादेख पनि १३ महिनाको कल्पना गर्ने मानसिकता रही रहुञ्जेल असम्भव छ ।  

. स्वदेश तथा विदेशमा रहेका ऐतिहासिक  स्रोतहरुमा नेपालसंवत् प्रयोग भइरहेको प्रत्यक्ष छन्  । ती स्रोतहरुमा आफुले चाहेको कुरा पाइएन भन्दैमा कुनै एउटा स्रोतलाई बिगारेर आफ्नो चाहना अनुकूलको बनाउदा नेपालसंवतको मर्म नै मर्छ भन्ने सोचाइ नभएका जनहरु हुञ्जेल  असम्भव नै छ । 

७. शिलालेख तामापत्र ताडपत्र लिखत कागजात भनेका इतिहासका तात्कालिक स्रोत हुन् र वंशावली भनेका इतिहासका स्रोत हुन् तर ती तात्कालिक होइनन् । परवर्तीकालमा बनेका स्रोतमा टेकेर हजारौ वर्ष अघिको कुरा निर्णय गर्न चाहन्छ भने त्यो गलत हो भन्ने सामान्य ज्ञानलाई पनि नबुझ्नेहरु हुञ्जेल संभव नै छैन । 

 ८. नेपालसंवत्को उत्पत्ति जुनबेला भयो त्योवेला संसारमा अरु कुनै पनि संवत्को शुरुवात नै भएको छैन भन्ने धृष्टता कोही संग छैन । जव यस्तो धृष्टता छैन भनेर थाहा भए पछि नेपाल मै पनि नेपालसंवत् शुरु हुनु अघि संवत् प्रचलन थियो भन्ने प्रष्ट हुन्छ । हो जसरी मान्छेको तीन पुस्ता ले उसको यकीन परिचय खुल्छ भने झै नेपालसंवत् शुरु हुन अघि चलेका  संवत्को यकीन चिनारी नभइकन नेपालसंवत्को यकीन चिनारी बन्दैन । त्यसमाथि नेपालमा शकसंवत् र मानदेव संवत् चले त्यो मानदेव संवत् पनि ३०४ वर्ष चले भन्ने घेरा भित्र मात्र रुमलिएर कुहिरो काग बनी रहुञ्जेल संभव नै हुंदैन । 

यस प्रकार नेपालसंवत्लाई यी समस्याबाट उन्मुक्ति दिलाउने हो भने अर्थात् माथिका यी मोटामोटी उपाय अवलम्वन गर्ने हो तव मान्छेहरुमा धारणाहरु स्वतः स्फूर्त सच्चिने संभावना बन्छ । 

निष्कर्ष
माथिको समीकरणले नेपालसंवत्को समानान्तरमा विक्रमसंवत् पनि नेपालमा चलेको देखिएको हो । नेपालसंवत् उठान हुनु भन्दा ९३५ वर्ष अघि उठान भएको संवत् भनेर देखाइएतापनि विक्रमसंवत् कालान्तरमा आएर मात्रै नेपालमा  प्रचलन देखिएको भन्ने त सर्वविदित नै छ । नेपालसंवत्मा ग्रहणको हिसाव, संक्रान्तिको हिसाव, अधिमासको हिसाव अघिदेखि नै विद्यमान भइरहेको देख्दा देख्दै  विक्रमसंवत् प्रयोगमा ल्याउंदै गर्दा सौरमान अनुरुपको बनाइयो । यता नेपालसंवत्मा १२ वटा संक्रान्तिलाई महत्व दिएको तर गतेलाई खासै महत्व नदिएको जस्तो देखिएको हो  । विक्रमसंवत्को प्रयोग आइ सके पछि पनि विक्रमसंवत्को पनि साल महिना तिथि नै लेख्ने चलन चली रहेको कुरा राजा त्रिभुवनको पाला सम्मको अभिलेखहरु नियालेर हेर्ने  हो भने त्यसमा नेपालसंवत्मा जस्तै महिना तिथि बार नै लेख्ने चलन रहेको भन्ने प्रशस्त उदाहरणहरु पाइन्छन् । यदि विक्रमसंवत् शुरु देखि सौरमास अनुरुपका संवत् भएको भए शुरु देखि गते लेख्ने गरिएको पाइनु पर्ने हो , तर पाइन्दैन । 

विक्रमसंवत्ले गते लेख्ने प्रचलन शुरु गर्नु भन्दा धेरै अघिदेखि नै नेपालसंवत्मा गतेको उपस्थिति थियो भन्ने कुरा संक्रान्तिको उपस्थितिले नै दर्शाइरहेको  प्रमाण  यथेष्ट मात्रामा पाइन्छन् ।

माथिको समीकरणले नेपालसंवतलाई विक्रमसंवत्को समानान्तर पनि मान्ने तर विक्रमसंवत्लाई भने ३६५ दिनको एक वर्ष भन्ने आफनो नेपालसंवत् चाही ३५४ दिनको १ वर्ष मानेर आफै खुम्चिएर प्रयोगजन्य हुनबाट बञ्चित गराउंदै आएको तडकारो रुपमा देखियो  । यो कुरा स्वयं नेपालसंवतका पक्षधरहरुले नै बुझ्ने कोशिस गरिएन  । किनकि केवल ४४ वर्ष को अवधिलाई उदाहरण मान्दा त उता विक्रमसंवत् भन्दा नेपालसंवत् दिनगन्तीमा ४८४ दिन कम देखिने हुन्छ । यता वि.सं र ने.सं  समानान्तरमा चलेको देखाउने तर ४८४ दिन को हिसाव कता हराएको हो खुलाउनु पर्ने तर कतै खुलाइएको छैन ।  वास्तवमा ४८४ दिन आफ्नै हीनताबोधले घटाएको भन्ने मात्र प्रष्ट हुन्छ । यदि साँच्चै ४८४ दिन घटी भएको वर्ष विक्रमसंवत्को ४४ वर्ष बित्दा  नेपालसंवत्को ४५ वर्ष ३ महिना २९ दिनले जेठो छु भन्न सक्नु पर्ने भन्न सक्नु प¥यो कित त्यो पनि छैन ।  विक्रमसंवत् आजभन्दा ४४ वर्ष अघि  २०३६ थियो भने झैं नेपालसंवत् आजभन्दा ४४ वर्ष अघि  ११००  नहुनु पर्ने किनकि नेपालसंवत् ३५४ दिनको वर्ष हो भने जव ४४ वर्ष अघि वि.सं २०३६ हुंदा नेसं ११०० भन्नु ले  समीकरण पनि बरावर हुनु आएको प्रष्ट छ ।

अतः ४४ वर्षमा विक्रमसंवत् १६०६०( सोह्रहजारसाठी) दिन बितेको छ भने नेपालसंवत् पनि १६०६० दिन नै बितेको हो । इजइक्वेलटू को अगाडि १६०६० छ भने पछाडि पनि १६०६० दिन नै छ । नेवारहरु स्वयंले ४८४ दिन कम १५५७६ दिनको फाँटवारी मात्र पेश गर्दै बेरुजुपन प्रकट गर्दै आएको खुलासा समीकरणले प्रष्ट गर्दछ । 

त्यसकारण  निसंकोचका साथ भन्नु पर्दछ कि नेपालसंवत्मा पनि  ३६५ दिन नै छ । ३५४ दिन भनेर खुम्चनु आवश्यक छँदै छैन । त्यसरी सूझनबूझ ढंगले नेपालसंवत् चान्द्रमानको वर्ष हो यसमा ३५४ दिन मात्र हुन्छ भनी रहनुको कुनै तूक छैन । 

 

आइतबार​ २२ पुस २०८० ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया