×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमण पुरा गरि स्वदेश फर्किएका छन् ।  विहिबार राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्कीलगायत विशिष्ट व्यक्तिहरुले  स्वागत गरेका थिए । सोमबार कात्तिक १८ देखि २० गतेसम्म कतारको दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुने त्यसतर्फ गएका थिए । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरण कुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी थिए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गरेका थिए । यसक्रममा उनले कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता गरेका थिए । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहेको छ ।

२- माधव कुमार नेपालले नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुनु अघिनै महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेको खुलेको छ । बुधबार भएको १० दलको राष्ट्रिय एकता सम्मेलन हुनुभन्दा अघि नै नेपालले महासचिव भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठलाई  पार्टी सदस्य समेत नरहनेगरी कारवाही गरेको खुलेको हो । साथै अध्यक्ष नेपालले कारबाहीमा परेका नेताहरुले पार्टीको नाम र पदको दुरुपयोग गरेर  भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिबिधि गरेमा कारवाही हुने चेतावनी समेत दिएका छन् । एकीकृत समाजवादीसहित १० बाम दलले नेपाली कम्युनिष्ट पार्टी गठन गरिसकेका छन् । एकता प्रक्रियामा असन्तुष्टि जनाउदै रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमै फर्किने तयारीमा छन् भने भुसालले भने पार्टीलाई पुनर्गठन गर्ने भन्दै भेला बोलाएका छन् । यस अघि असन्तुष्ट रहेका नेता झलनाथ खनाल भने अन्तिम समयमा एकता प्रक्रियामा सहभागी भएका थिए ।

३- भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४८ रनले पराजित गरेको हो । भारतले दिएको १६८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले सर्बाधिक ३० रन बनाए भने माथ्यु शर्टले २५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर वाशिंटन सुन्दरले ३ विकेट लिए भने अक्सर पटेल र शिभम दुबेले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले सर्बाधिक ४६ रन बनाएका थिए भने अभिषेक शर्माले २८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र नाथन एलिसले ३-३ विकेट लिएका थिए । यो जितपछि ५ खेलको सिरिजमा भारत २-१ ले अगाडी भएको छ र अब भारतले कम्तिमा यो सिरिज गुमाउने छैन । सिरिजको पहिलो खेल रद्ध भएको थियो भने अस्ट्रेलियाले दोस्रो खेल जितेको थियो । त्यस्तै भारतले तेस्रो खेल जितेको थियो । त्यस्तै सिरिजको अन्तिम खेल आज शनिबार हुने तालिका रहेको छ ।

४- सुख्खा पहिरोले अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकैको सडक सुचारु भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खसेको पहिरो हटाएर सडक दुईतर्फी नै सुचारु भएको छ ।  डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

५- नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ । मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको विषयमा युवा संघले पक्राउको माग गर्दै जाहेरी दिएको हो । युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले विहिबार साइबर ब्युरो गएर जाहेरी दिएको जानकारी दिएका छन् । गत शनिबार मध्यराति बालेनले आफ्नो फेसबुकमा अमेरिका, भारत, चीन लगायत प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै अश्लिल शब्दमा स्टाटस लेखेका थिए । उनले आलोचना भएपछि केहीबेरमा सो स्ट्याटस हटाएका थिए ।  जाहेरीमा भनिएको छ- 'सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशहरुलाई पनि गाली गरी सम्बन्धमा आँच आउने कार्य गरेको हुनाले प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरी पाउँ । निज बालेन शाह विदेश भागी जाने र प्रमाणहरु नष्ट गर्नेहुँदा तत्काल पक्राउ गरी निजको राहदानी समेत रोक्का राखी पाउँ ।’

६-  मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण पुर्ण रुपमा स्थानीयले बन्द गरेका छन् । पटक पटकको आन्दोलनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गरेको जनाएका छन् । उनीहरुले तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । अघिल्लो असोज २२ गते मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएको थियो ।  त्यति बेला मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच पुनः छलफल गरि तीन महिनाभित्र टुङग्याउने,  हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन गरी कार्यान्वयन गर्न यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यन्वयनमा ल्याउन स्थानीय सरकार र खानेपानी मन्त्रालयले पहल गर्ने लगायतका विषयमा सहमति भएको थियो । तर स्थानीयले यी मागहरु अहिलेसम्म पुरा नभएको आरोप लगाएका छन् ।

७- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्धामा जिल्ला अदालत रुपन्देहीले जारी गरेका आदेशसहित मुद्धासँग सम्बन्धित फाइल झिकाउन आदेश भएको छ । तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले यस मुद्धामा जिल्ला अदालत रुपन्देहीले जारी गरेका आदेशसहित मुद्धासँग सम्बन्धित फाइल झिकाउन आदेश गरेको हो । यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

८- आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ । विभागले करदाता सेवा कार्यालयहरू खारेजपछि लिने सेवा बारे जानकारी गराएको छ । विभागले स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गर्नेलगायतका सेवा अब सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुने जानकारी दिएको छ  । स्थानीय तहमा सो सेवा सञ्चालनमा समय लागेमा ती सेवा सम्बन्धित जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गरिने व्यवस्था गरिएको र कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायत धेरै सेवा अनलाइन प्रणालीमार्फतै प्राप्त गर्न सकिने विभागले जनाएको छ । करदाताको पहुँचलाई अझ नजिक र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवाहरू विकेन्द्रीकरण गरिएको विभागले जानेको छ । साथै विभागले वैकल्पिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नभएसम्मको लागि भने सम्बन्धित करदाता सेवा कार्यालयबाटै सेवा सुरू रहने स्पष्ट गरेको छ ।

९- नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२० कम्पनिका एक करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारम खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ८.१५ प्रतिशतले बढेको छ । त्यसैगरी आज सम्पदा लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३० करोड ९१ लाख बराबर कारोबार भएको छ भने राढ़ी जलविद्युतको शेयर ३० करोड ७६ लाख बराबर कारोबार भएको छ ।

१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रालिविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया खोलाको नदीजन्य पदार्थ उत्खनन बापतको रकमको मूअकर बापतको एक करोड २३ लाख ६९ हजार ६४९ रकम आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्नेमा नबुझाएको पाइएको र अनुसन्धान गर्दा तत्कालीन कर अधिकृत तिलक आलेसमेत स्वामीनारायण निर्माण सेवा धरानका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले मिलोमतोमा सो रकम लिएको पुष्टि भएकोले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले दुवैलाई सो रकम बराबरको बिगो किटान गरेको छ भने कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।

११- विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको  छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । रिलायन्सको ७५ करोड ३७ लाख  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

१२- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको निरीक्षण गरेका छन्। बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा भएको पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण गरेका हुन् । त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल समेत गरेका थिए । छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीबारे चासो व्यक्त गरेकी थिइन् । यसअघि अर्यालले काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरीक्षण गरेका थिए भने  पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

१३- हामी नेपालका संस्थापक सुदन गुरुङले जेनजीका माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल मार्फत गुरुङले ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन भन्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी दिएका हुन् । साथै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले बाचा अनुसार काम गर्न नसकेको भन्दै पद छोड्न समेत आग्रह गरेका छन् । गुरुङले देशभरबाट 'हत्यारालाई कारबाही गर' 'भ्रष्टाचारीलाई कारबाही'  गर भन्ने आवाज उठ्दा 'जेनजीलाई कारबाही'  गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको समेत उल्लेख गरेका छन् ।

१४- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच ध्रुवीकरणको प्रयासबारे छलफल भएको छ । विहिबार बिहान काठमाडौंको एक होटलमा जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन गर्न नयाँ वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताबीच गम्भीर छलफल जारी रहेको भट्टराईको सचिवालयले जनाएको छ । छलफलमा डा. भट्टराईसहित नेपाली कम्युनिष्ट पार्टीमा नगएका जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यावाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी दुर्गा सोब, मानुषी भट्टराई, विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालगायत उपस्थित रहेका छन् ।

१५- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ए डिभिजन लिगको कार्यतालिका सच्याउन एक साताको अल्टिमेटम दिएको छ । विहिबार एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई ए डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् । उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । एन्फाले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन् । धर्नाका लागि एन्फा कम्प्लेक्समा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो । गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए । यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

१६- नेपाल स्काउटको लैनचौरस्थित जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । विहिबार सूचना जारी गदै नेपाल स्काउटले  खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिएको जनाएको छ ।  खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनि हो । खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बीचमा भएको सम्झौता सकिए पनि अदालतमा मुद्दा रहेका कारण खड्का ल्यान्डले सो जग्गा भोगचलन गरिरहेको छ । 

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३०१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार बुधबार चाँदी लाको २९९० मा कारोबार भएको थियो ।

१८- असोज महिनामा मादकपदार्थ सेवन गर्दा भएका दुर्घटनाबाट १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार असोज महिनामा मादकपदार्थ सेवन गरेर कुल २०७ दुर्घटना भएको र त्यसमा १६ जनाको मृत्यु तथा ३५२ जना घाइते भएका छन् । जसमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १०८ दुर्घटना भएका छन् भने ६ जनाको मृत्यु र १९९ घाइते भएका छन् । त्यस्तै मादकपदार्थ सेवन गरेर त्यसपछि गण्डकीमा ६ दुर्घटना भएका छन् र ५ जनाको मृत्यु भएको छ । त्यस्तै सुदूरपश्चिममा ५ दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने उपत्यका, कोशी प्रदेश र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । 

१९- दशौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको परिषदको १२३औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्नेलगायत निर्णय गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।

२०- ईन्डोनसियामा हुने ट्राईनेसन महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक १७ जनाको टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा २७ खेलाडी बोलाएका हुन् । नेपाली महिला फुटबल टिममा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, हिरा कुमारी भुजेल, सजनी थोकर, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला विक, प्रतिक्षा चौधरी, रेणुका नगरकोटी, पुर्णिमा राई,  प्रीति राई, सरु लिम्बु, दीपा शाही सबिता राना मगर, अनिता बस्नेत, मीना देउवा, सावित्रा भण्डारी, बिर्सना चौधरी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, नेहा कुमारी चौधरी, लिला जोशी, सरस्वती हमाल, मन माया दमाई र अनिता लाम्जल रहेका छन् । नेपाली महिला फुटबल टिमले नोभेम्बर २६ मा इन्डोनेसियामा ट्राइनेसन मैत्रीपूर्ण खेल खेल्दैछ ।

 

बिहीबार २१ कात्तिक २०८२ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया