×

बजेट तुलनात्मक रुपमा. सन्तुलित : महासचिव पोखरेल

images

काठमाडौँ, २४ जेठ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित भएको बताउनुभएको छ । 

उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज लतिलपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बजेटमाथिको अन्तरसम्वाद कार्यक्रममा उहाँले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताउनुभयो । 

महासचिव पोखरेलले आन्तरिक र बाह्य ऋणले पुँजीगत खर्च गर्न सके प्रतिफल प्राप्त हुने धारणा राख्नुभयो । “आन्तरिक राजस्वबाट बजेट प्रणालीलाई सन्तुलन गर्न सकेनौँ भने त्यसले घुमाएर उपभोक्तालाई असर पार्दछ । हामीले लिने आन्तरिक र बाह्य ऋणबाट पुँजीगत खर्च गर्न सक्यो भने त्यसका आधारमा प्रतिफल प्राप्त गर्न सक्दछौँ”, उहाँले भन्नुभयो । 

उहाँले बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्ने हो भने प्रतिफल प्राप्त गर्ने ठाउँ रहेको र निर्धारित लक्ष्यभन्दा बढी राजस्व प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो । 

मौद्रिक तरलताको विस्तारसँगै जनताका पैसा बैंकमा जम्मा भइरहेको तर लगानी हुन नसक्दा जनता मारमा परेको बताउनुभयो । “बैंकमा जति पैसा जम्मा हुने गरेको छ त्यसको तुलनामा खर्च न्यून देखिएको छ । उपभोक्ताले जम्मा गरेको पैसा खर्च हुन नसकेपछि उपभोक्ताको ब्याजदरमा कटौती हुन्छ”, उहाँले भन्नुभयो । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले एमालेले बजेटमा भएका राम्रा कुराको स्वामित्व लिने तर कमजोर कुरा आगामी दिनमा सच्चाउन  सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै खास व्यक्ति र क्षेत्र विशेषलाई लाभ हुने गरी बजेट विनियोजन गर्ने र भोलि राष्ट्रिय प्राथमिकताका आयोजनामा बजेट कतौटी गर्नुपर्ने स्थिति नबनोस् ।” 

उहाँले बजेटमाथि टिप्पणी गर्दै स्रोत नपुगेको बताउनुभयो । “हामीलाई डेढ खर्ब बजेट स्रोत पुग्दैन भन्ने अहिले अनुमान गर्न सक्दछौँ । यदि त्यसो हो भने १७ अर्ब माथिको बजेटमा पहिलो चौमासिकदेखि सरकारले ध्यान दिएन भने भोलि ठेक्का लाग्ने र ठेक्का लागेपछि भुक्तानी दिन सक्दैनौँ”, उहाँले भन्नुभयो । 

बिहीबार २३ जेठ २०८१ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया