काठमाडौं । बंगलादेशमा आन्दोलन फेरि चर्किएको छ । हिजो भएको सरकारविरोधी प्रदर्शनमा एकै दिनमा ९० जनाको मृत्यु भएको छ । गत महिना निजामती सेवाको जागिरमा कोटा खारेज गर्नुपर्ने माग राखेर सुरु भएको विद्यार्थी आन्दोलन अहिले सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।
विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिनुपर्ने माग गर्दै सविनय अवज्ञाको अभियान घोषणा गरेपछि आन्दोलन चर्किएको हो । आन्दोलनका क्रममा १३ प्रहरीको पनि मृत्यु भएको छ । सिराजगन्ज जिल्लाको प्रहरी चौकीमा हजारौं मानिसले आक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
प्रहरी र सत्तारुढ दलका केही समर्थकहरूले सरकार विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रत्यक्ष गोलाबारी चलाएको बताइएको छ । प्रहरीले अश्रुग्यास र रबरका गोली समेत प्रहार गरेको छ । जुलाईमा विरोध आन्दोलन सुरु भएयता मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । स्थिति नियन्त्रणमा लिन सरकारले साँझ छ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ । गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै नगरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाइएको छ । राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट समेत बन्द गरिएको छ ।
विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सुरु गरेको अवज्ञा आन्दोलन आगोसरी फैलिन थालेको छ । नागरिक पनि आन्दोलनमा सहभागी हुन थालेपछि देशव्यापी प्रदर्शनहरु बढेका छन् । प्रदर्शन चर्किदै गएपछि बंगलादेश सरकारले राति कर्फ्यु लगाउने घोषणा गरेको छ ।
हजारौँ नागरिकहरु प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि राजधानी ढाकामा केन्द्रित भएका छन् । सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुर्नस्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् । सेनाले केही समयका लागि आन्दोलन मत्थर पारेपनि प्रधानमन्त्रीको राजीनामाको मुख्य माग गर्दै पछिल्लो हप्तादेखि बंगलादेशमा फेरि आन्दोलन चर्किएको हो ।
बंगलादेशको अदालतले ९३ प्रतिशत सरकारी जागिर खुला प्रतिस्पर्धाबाटै हुने आदेश दिएपछि आन्दोलन केही मत्थर बने पनि आइतबारदेखि पुन: प्रदर्शन चर्किएको हो । विद्यार्थीहरूले आइतबारदेखि देशभर 'अवज्ञा आन्दोलन' को घोषणा गरेका छन् । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायातका साधन बन्द गर्न आग्रह गरेका छन् । प्रदर्शनमा २०० भन्दा बढी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि ढाकामा इन्टरनेट सेवा बन्द गरिएको छ ।
बंगलादेशमा जुलाईमा भएको हिंसात्मक प्रदर्शनमा २ सयभन्दा बढीको मृत्यु भएको थियो । अधिंकाश सुरक्षाकर्मीको गोलीबाट मारिएको पनि विद्यार्थी समूहको भनाइ छ । शेख हसिना सरकारले यसबीचमा १० हजारभन्दा बढीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा विपक्षी दल बीएनपी समर्थक र आन्दोलनकारी विद्यार्थी हरेका छन् ।
प्रतिक्रिया