काठमाडाैं। नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवारी प्रतिपक्षीको हैसियतले अधिकतम पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताए ।
‘दुवै पक्षसँग छलफल गर्नुपर्नेछ । आज त्यो कुराकानी हुन्छ’, पदाधिकारी बैठकपछि सापकोटाले भने, ‘हामी सकेसम्म यो महत्वपुर्ण र गम्भीर विषय भएकाले छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष छ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।
बैठकको निर्णय सुनाउँदै प्रवक्ता सापकोटाले माओवादी जिम्मेवार प्रतिपक्षीको हैसियतमा रहेकाले अहिलेको परिस्थितिलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने ढंगले बैठकमा छलफल भएको बताए।
त्यसका लागि सरकार र अन्य प्रतिपक्षी दलहरूसँग भइरहेको छलफललाई निरन्तरता दिने र एउटा निष्कर्षमा पुग्ने उनले बताए।
'हिजो पनि छलफल भएको थियो। आज पनि छलफल गर्छौं। सरकार पक्ष र अरू प्रतिपक्षी दलहरूसँग पनि छलफल गर्छौं। त्यसको निष्कर्षबाट एउटा टुंगोमा पुग्छौं,' उनले भने। उनले व्यक्ति विशेषमा भन्दा पनि छानबिन समिति बनाउनुपर्नेमा माओवादी केन्द्रको जोड रहेको बताए।
'विषय गम्भीर भएकाले छानबिन अपरिहार्य छ, मुख्य त छानबिन हो। व्यक्तिविशेषमा ध्यान छैन,' सापकोटाले भने, 'छानबिनका लागि वातावारण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि हुनुपर्छ भन्ने विषयमा कुराकानी भएको छ।'
प्रतिक्रिया