×

कारवाहीमा पर्न थाले ,भिडभाडको मौका छोपी यात्रु ठग्ने र मनपरी तरिकाबाट भाडा असुल्ने राजमार्गमा चल्ने गाडी र रेस्टुराँ

images

काठमाडौं । बढी भाडा लिने, यात्रुलाई टिकट नदिने र क्षमताभन्दा बढी यात्रु चढाउने सवारीसाधनमाथि कारबाही सुरु गरिएको छ। भिडभाडको मौका छोपी यात्रु ठग्ने र मनपरी तरिकाबाट भाडा असुल्ने सवारीसाधनलाई पृथ्वी राजमार्गमा कडाइका साथ राजमार्ग प्रहरीले समेत अनुगमन सुरु गरेको छ । धादिङ–काठमाडौं रुटमा चल्ने एक र काठमाडौं–चितवन रुटमा चल्ने एक सवारीसाधनलाई १० हजार र २० हजारका दरले जरिवाना गरिएको छ ।

धादिङबाट काठमाडौं जान लागेको ग्रामीण यातायात धाङरको बा ५ ख ५७ नम्बरको मिनिबसलाई यात्रुलाई टिकट नदिएको र भाडादर गाडीमा नटाँसेको कसुरमा उपभोक्ता संरक्षण ऐनबमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमनका संयोजक युवराज अर्यालले जानकारी दिए ।

त्यस्तै काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ग १ ख ५५९२ नम्बर को बसलाई तोकिएको भाडादर भन्दा बढी भाडा असुल गरेको र सिट क्षमताभन्दा बढी यात्रु चढाएकाले २० हजार जरिवाना गरिएको हो ।

चाडपर्वको समयमा सवारीसाधनहरूले यात्रुबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासोलाई सम्बोधन गर्न छड्के जाँच गरिएको र यो जाँचलाई निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ । बढी भाडा लिएमा तत्काल प्रहरी र प्रशासनमा खबर गर्न पनि यात्रुलाई अनुरोध गरेको छ । अनुगमनको क्रममा होटेल सरसफाइमा ध्यान नदिएको भन्दै बेनिघाट रोराङमा रहेको पिस हेभन रेस्टुरेन्ट एन्ड गेस्ट हाउसलाई समेत २० हजार रुपैयाँ जरिवाना गरी तत्काल सुधार गर्ने निर्देशन दिएको छ ।

बिहीबार १७ असोज २०८१ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया