सुनसरी : शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका दुई स्थानीय तहमा आज पनि निषेधाज्ञा जारी गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिका क्षेत्रमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जनाएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम यो आदेश जारी गरिएको छ।
जिल्लामा विकसित पछिल्ला अनपेक्षित घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख बन्दै गएको भए पनि सम्भावित अशान्ति रोक्न र शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञालाई निरन्तरता दिइएको प्रशासनले स्पष्ट पारेको छ।
निषेधाज्ञाको समयमा अनावश्यक रूपमा हिँडडुल गर्न, सभा-जुलुस गर्न तथा हुलमुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ। सर्वसाधारणलाई नियमको पालना गरी शान्ति व्यवस्था कायम राख्न सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया