काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपालमा विदेशी पर्यटकको अगामन ३ प्रतिशतले बढेको छ । गत बर्षको अक्टोबर महिनामा भन्दा यस बर्षको अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्या ३.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अक्टोबरमा कुल एक लाख २८ हजार ४४३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को अगस्तमा यो संख्या एक लाख ३४ हजार ९६ रहेको थियो । नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी युरोपबाट नेपाल आएका छन् । युरोपबाट अक्टोबर महिनामा ४० हजार ६०० जना अर्थात ३१.६ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै अन्य दक्षिण एशियन देशका २२.६ प्रतिशत पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । त्यसैगरी एशियाका अन्य देशका १८ प्रतिशत, अमेरिकाबाट १२.८ प्रतिशत पर्यटक अक्टोबर महिनामा नेपाल आएका छन् । त्यस्तै नेपाल आउने सबैभन्दा बढी पर्यटक छिमेकी देश भारतका रहेका छन् । अक्टोबर महिनामा मात्र नेपालमा १७ हजार २९८ भारतीय नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट १३ हजार २८६ पर्यटक अक्टोबरमा नेपाल आएका छन् । त्यस्तै बेलायतबाट ८ हजार ७१८ जना, छिमेकी मुलक चीनबाट ६ हजार ७५५ जना नेपाल आएका छन् । त्यस्तै जर्मनीबाट ६ हजार ३६६, अस्ट्रेलियाबाट ६ हजार १७७, श्रीलंकाबाट ५ हजार ५३५ , फ्रान्सबाट ५ हजार ४५ जना नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार जनवरी देखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल आएका छन् । अघिल्लो बर्ष २०२४ को जनवरीदेखि अक्टोबरसम्म ९ लाख ४१ हजार २४ पर्यटक नेपाल आएका थिए । जबकी कोरोना अघि २०१९ को जनवरीदेखि अक्टोबरसम्म ९ लाख ६५ हजार ९९६ पर्यटक नेपाल आएका थिए ।
२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसमेत २ जना र कन्सट्रक्सन कम्पनीविरुद्ध नदीजन्य पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । अख्तियारले गढवा गाउँपालिका- १ स्थित पत्रिङघाट र जेठानगाउँको उत्तर बीचमा राप्ती नदीको किनारमा घाटगद्दी गरिरखेको नदीजन्य पदार्थमा सम्झौता भन्दा बढी उत्खनन गरेर र सो उत्खनन गरेको रकम धरौटीबाट कट्टा नगरेको अनुसन्धानबाट पाइएको र कन्सट्रक्सन कम्पनीसँग मिलोमतोमा सो धरौटी रकम निकालेको पुष्टि भएको जनाएको छ । अख्तियारले यसबाट ९५ लाख ९८ हजार बराबरको बिगो र कानुन अनुसार सजायको माग गर्दा गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी र बज्र गुरु कन्सट्रक्सन र कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण कुमार रानाविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
३- सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदुतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन् । फिर्ता बोलाइएका राजदुतलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन पनि दिइएको थियो ।
४- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् । पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । उनले भनिन्- 'जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?’ कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देशन दिइन् । यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ। कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए । प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन्- 'हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो। त्यो पनि छैन ।’ प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिएकी थिइन् । उनले भनिन्- ‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन् । तपाईँहरु किन खुरुखुरु त्यस्तो दबाब मान्ने? भोलि कारबाहीमा पर्ने त तपाईँहरू हो नि । तपाईँहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन। राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन। अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस्।’ निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन् । उनले भनिन्- 'यो घाटा त जनताले बेहोरेको घाटा हो नि । अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ। अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।’ निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उनले प्रश्न गरिन् । ‘सरकारले नै यति ठूलो स्रोतसाधन उपलब्ध गराएको छ। सरकारले साथ दिइरहेको छ। तैपनि, यो संस्था घाटामा जानुको कारण के हो?’ उनको प्रश्न थियो, ‘बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि ?’ निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए । उनले भने- 'निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ। धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु। यसका लागि सरकारको साथको अपेक्षा गरेको छु।’ प्रधानमन्त्री कार्कीले भनिन्- 'संस्था सुधारका लागि तपाईँहरू लाग्नुहोस्। सरकार दाहिने हातमा छ।’ कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो ।
५- कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार गरिएको छ । आइतबार डुङ्गा अचानक पल्टिए पछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–३ बस्ने ४९ बर्षिय सोमबहादुर तामाङ र ४४ बर्षिय लालमान थारू फेवातालमा डुबेका थिए । घटना बारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरवोटको सहायताले उनिहरुको सकुशल उद्धार गरेको हो ।
६- भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा कमब्याक गरेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै सिरिजमा कमव्याक गरेको हो । अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछाएको भारतले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । भारतको जितमा वाशिंटन सुन्दरले सर्बाधिक ४९ रन बनाएका थिए भने तिलक बर्माले २९, अभिषेक शर्माले २५, कप्तान सूर्यकुमार यादवले २४, जितेश शर्माले २२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर नाथन इलिसले ३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि टिम डेभिडले सर्बाधिक ७४ रन बनाएका थिए भने मार्कस स्टोइनिसले ६४ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिएका थिए । यो जितपछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । अब सिरिजको चौथो खेल विहिबार हुने तालिका रहेको छ ।
७- नेप्से आज बढेको छ । आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१. १४ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सामुदायिक लघुवित्त, गोर्खा फाइनान्स, पन्चकन्यामाई हाइड्रो, पिपुल्स पावर र तेर्हथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज खानीखोला हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको ३४ करोड ३० लाख बराबरको कारोबार भएको छ ।
८- धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले आइतबार पार्टीका अध्यक्ष हर्क साम्पाङलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रस्ताव गरे अनुसार नै चुनाव चिह्न माटो पाएको छ । श्रम संस्कृति पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् भने प्रवक्तामा अरुण गुरुङ रहेका छन् । साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
९- काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्ड साइटतर्फ गएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा पुगेका थिए । टोलीले फोहोर विर्सन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो । मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए । स्थानीयसँगको अन्तरक्रियामा मन्त्री घिसिङले भने- 'विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबैको अध्ययन गरेको छु, अहिले म आवश्वास दिन आएको हैन, कार्यान्वयन गर्छु, फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्, अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग गरेर नभई प्रभावितसँग वार्ता र सम्वादमार्फत सौहार्दपूर्ण रुपमा समस्या समाधान गर्छौ । फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्छौ, अल्पकालीन रुपमा गर्न सकिने काम काम तत्काल अगाडि बढाउँछौं, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्छौ ।’ स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ । ल्याण्ड फिल्ड साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १-१ जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ । रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक पर्ने वत्तिको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारबाटै वत्ति राख्न सुरु गरिने उल्लेख गरे । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिइसकेका छन् । वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचाहन गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने उनले बताए । ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार सिजनको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने देखिएकाले यस्तो अवस्थालाई बुझिदिन उनले स्थानीयलाई आग्रह गरेका थिए । मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए । दीर्घकालीन रुपमा फोहोर व्वस्थापनका लागि लगानी बोर्डले अगाडि बढाइएको प्रक्रियामा भएको कानूनी अड्चन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे । धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, प्रभावित वडाका वडाध्यक्ष, स्थानीय सरोकारवालाले विगतमा सहमति हुने तर कार्यान्वयन नहुँदा फोहोर विसर्जनको समस्या बारम्बार आउने गरेको बताए । उनहरुले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि कार्ययोजना सहित अगाडि बढ्नु पर्ने, फोहोर फाल्ने स्थान र मानिसलाई छुट्याउनु पर्ने, विगतमा गरिएका सहमति समझौता कार्यान्वयन गरिनु पर्ने बताएका थिए ।
१०- नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । ४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको हो । अभियानले पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमै तालाबन्दी गरेको छ । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । साथै अभियानमा सहभागी युवाहरुले केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय नगरेमा नेताहरुलाई घेराउ गर्ने चेतावनी पनि दिएका छन् । महाधिवेशन बारे विवाद हुदा कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विवाद मिलाउन भन्दै शनिबार र आइतबार बिहान गरिएका बैठकमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
११- अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा बाल गोपाल साहुखल र चेतन कुमार घिमिरेलाई नियुक्त गरेको छ । एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । यसअघि मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा एन्फाले हरि खड्कालाई नियुक्त गरेको थियो । खड्कासहित प्रशिक्षण टिमले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् । फुटबल टिमका मुख्य प्रशिक्षक रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टिमले अब एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका छ ।
१२- काठमाडौँ । नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गरेको छ । आइतबार बिहान पेरिसडाँडामा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । त्यस्तै माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक कार्तिक १८ गतेका लागि बोलाएको छ । त्यस्तै माओवादी केन्द्रको सचिवालय बैठकमा उपमहासचिव जनार्दन शर्मा अनुपस्थित भएका छन् । आइतबार बिहान पेरिसडाँडामा बसेको सचिवालय बैठकमा नेता शर्मा अनुपस्थित भएका हुन् । शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने धारणा राख्दै तत्काल एकता प्रक्रिया रोक्नुपर्ने बताएर बैठकबाट बाहिरिएका थिए । नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहित विप्लब समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा ( समाजवादी), जनसमाजवादी लगायतका पार्टीसंग पार्टी एकता गर्ने अन्तिम तयारी गरेको छ । एकीकृत समाजवादीले केन्द्रीय कमिटीबाट माओवादी केन्द्रसहितका दलहरुसँग एकता गर्ने निर्णय गरिसकेको छ । एकता पछि नेकपा समाजवादी नाम राखेर नयाँ दल दर्ता गर्ने तयारी समेत गरिएको छ ।
१३- अवरुद्ध रहेको बीपी राजमार्ग अन्तर्गत चारसय बेसीमा डाइभर्सन निर्माण गरेर संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले डाइभर्सन निर्माण पूरा गरी सडक सुचारु गरिएको जानकारी दिएको छ । केहि दिनदेखि नदीमा आएको बाढीका कारण यसअघि डाइभर्सनमा क्षति पुगेकाले विपी राजमार्ग अवरुद्ध रहेको थियो । प्रहरीले सडकको अवस्थालाई मध्यनजर गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।
१४- न्यूजील्याण्डका पुर्व कप्तान केन विलियमसनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । न्यूजील्याण्ड क्रिकेटले विलियमसनको सन्यास बारे जानकारी दिएको हो । विलियमसनले न्यूजील्याण्डका लागि ९३ टी-२० खेल खेलेका छन् भने कुल २५ सय ७५ रन बनाएका छन् । विलियमसनले २०११ मा आफ्नो टी-२० अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए र ७५ खेलमा टोलीको कप्तानी गरेका थिए । उनको नेतृत्वमा टोली दुई पटक (२०१६ र २०२२) आईसीसी टी-२० विश्वकप सेमिफाइनल र एक पटक (२०२१) फाइनलमा पुगेको थियो । न्यूजील्याण्ड क्रिकेटका अनुसार, विलियमसनले आफ्नो सन्यासको बारेमा बोल्दै छोटो ढाँचाबाट टाढा रहने समय सही भएको बताएको उल्लेख गरेको छ । उनले भनेका छन्- 'यो त्यस्तो चीज हो, जुन म लामो समयदेखि हिस्सा बन्न मन पराउँछु, र म यी सम्झनाहरू र अनुभवहरूको लागि धेरै आभारी छु । यो मेरो र टोलीको लागि सही समय हो । यसले आगामी सिरिज र उनीहरूको अर्को ठूलो लक्ष्य टी-२० विश्वकप अघि टोलीलाई स्पष्टता प्रदान गर्नेछ ।' विलियमसनले भनेका छन्- 'हामीसँग टी-२० मा धेरै प्रतिभा छन् र आगामी वर्षहरू यी खेलाडीहरूलाई थप क्रिकेट खेल्न र विश्वकपको लागि तयारी गर्न महत्त्वपूर्ण हुनेछन् ।' विलियमसनले न्यूजील्याण्डका कप्तान मिचेल स्यान्टनरको प्रशंसा गर्दै भनेका छन्- 'मिच एक उत्कृष्ट कप्तान र नेता हुन् । उनले यस टोलीसँग साँच्चै उत्कृष्ट काम गरेका छन् । अब ब्ल्याक क्याप्स (न्यूजील्याण्ड पुरुष टोली) लाई यस ढाँचामा अगाडि बढाउने काम उनको हातमा छ र म उनलाई बाहिरबाट समर्थन गरिरहनेछु ।'
१५- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख ३९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ३९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ३०५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३०६० मा कारोबार भएको थियो ।
१६- शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका हुन् । महावीर पुनले लेखेका छन्: केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।
१७- धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१८- नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएतापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ । सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच बर्षको सुरुङ मार्ग संचालन तथा मर्मत गर्ने छ । यसअवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै संचालन गर्न सहज हुने देखिन्छ । सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८-८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
१९- नेकपा एकीकृत समाजवादीले पार्टी एकता भाँड्न केपी ओलीले 'घर फर्क' को जाल फ्याँकेको आरोप लगाएको छ । उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न पार्टीबीचको एकताको विषयमा गरेको ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले 'घर फर्क' भन्ने भ्रम जाल फ्याकेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा एकता प्रक्रियालाई भाड्ने ओलीको यो दुष्प्रयास मात्र भएको उल्लेख गर्दै यसबाट कोही पनि भ्रमित नहुन र सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन आव्हान गरिएको छ । बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्ने, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने निर्णय गरेको छ । साथै, जनवादी क्रान्तिका उपलब्धि तथा राष्ट्रिय स्वतन्त्रता संरक्षण गर्दै सुशासन, सामाजिक न्याय, आर्थिक–सामाजिक रूपान्तरण सहित समाजवादतर्फ अघि बढ्ने रणनीति तय भएको छ। बैठकले नेकपा माओवादी केन्द्र, विप्लव समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी लगायत समावेश हुनेछन्। पार्टीले यसलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने निर्णय गरेको थियो ।
२०- काठमाडौं महानगरका मेयर बालेन शाहले गएराती मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा 'आपत्तिजनक स्ट्याटस’ पोष्ट गरेर हटाएका छन् । शनिबार मध्यराति गरेको पोस्ट आलोचनापछि केहीबेरमै उनले हटाएका हुन् । हटाएको पोष्टको स्क्रीन शट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त पोष्टमा बालेनले छिमेकी देश भारत, चीन र अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई गाली गर्न अश्लिल शब्द प्रयोग गरेका थिए । साथै उनले उक्त पोष्टमा प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा सबै मिलेर पनि केहि गर्न नसक्ने बताएका थिए । बालेनको उक्त पोस्टको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । पछिल्लो समयमा जेनजी आन्दोलन गर्न युवाहरूलाई उक्साएर आफु लुकेको आरोप लागेका बालेनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको तर कार्की नेतृत्वको सरकारको कामप्रति असन्तुष्ट जनाएको विषय चर्चामा रहेको छ । सामाजिक सञ्जाल र मिडियामा बालेनले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समेत समाचार आइरहेका छन् । जेनजी आन्दोलनसँग जोडिएर आलोचना खेप्दै आएका बालेनले आफ्नै स्ट्याटसका कारण फेरी विवादमा परेका छन् ।
प्रतिक्रिया