×

बाढीपहिरोबाट देशभर २२८ जनाको मृत्यु , २० अर्बभन्दा बढीको क्षति

images

काठमाडौं ।  अघिल्लो साता परेको भीषण वर्षापछिको बाढी पहिरोका कारण देशभर २० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको हुँदा वास्तविक तथ्याङ्क त्यो भन्दा अझै बढ्न सक्ने जनाइएको छ।

हालसम्म प्राप्त तथ्यांकअनुसार कृषि क्षेत्रमा मात्रै ६ अर्बभन्दा बढीको क्षति पुगेको अनुमान छ। बाढीले ५८ हजार ४७६ हेक्टरमा लगाइएको ३ अर्ब ५० करोड बराबरको धान बाली नष्ट  भएको छ । त्यस्तै २६ हजारभन्दा बढी  पशुपन्छीमा मरेको तथ्याङ्क छ।

बाढीले खानेपानी पूर्वाधारमा साढे  ३ अर्ब ५५ करोड, सडक पूर्वाधारमा साढे ३ अर्ब, ऊर्जातर्फ ४ अर्ब र जलस्रोत तथा सिँचाइतर्फ डेढ अर्ब  बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग र ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । सडक विभागअन्तर्गतका झन्डै २२ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ ।

बाढीले पुलतर्फ १ अर्ब र तटबन्धमा करिब डेढ अर्ब बराबरको क्षति पुगेको छ । सरकारको तथ्याङ्कमा आएका पूर्वाधारको प्रारम्भिक विवरण मात्रै  हो। नागरिकको धनमालको क्षतिको विवरण आउन समय लाग्ने सरकारले जनाएको छ।

हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

बुधबार १६ असोज २०८१ १०:०४ AM मा प्रकाशित

प्रतिक्रिया