×

वर्तमान सरकार मुलुकको कलंकको रुपमा स्थापीत भइरहेको छ- माओवादी केन्द्र

images

काठमाडौं। नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने तर्क गरेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताए। सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारको आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिने उनले बताए।

सापकोटाले आफूहरु सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे। उनले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे। वर्तमान सरकार मुलुकको कलंकको रुपमा स्थापीत भइरहेको उनको भनाइ छ।

त्यस्तै उनले  भने, “सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्‍याइयो? परस्पर विरोधी प्रावधान कसले थप्यो? यस्ता अनेकन गम्भीर प्रश्नहरु उठेका छन् । यस जालसाँजीपूर्ण घटनाले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।”

विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस नभएको सापकोटा बताउँछन् ।

उनले भने, “यसको जिम्मा नैतिक रुपमा संसद्‌को नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।”

प्रतिनिधिसभामा पेस भएको प्रतिवेदनमा भने समितिले उक्त कुलिङ अफ पिरियड रहेको दफा ८२ लाई निष्प्रभावी पार्नेगरी अर्को व्यवस्था गरेको खुलेको छ । विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ  ।

तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२, (५), (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’को व्यवस्थालाई निष्प्रभावी बनाइएको हो  ।

बुधबार १८ असार २०८२ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया