×

आजदेखि एसइई परीक्षा सुरु

images

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखी देशभर औपचारिक रूपमा सुरु भएको छ । बिहानैदेखि विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुँदैछन् । 

यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

बोर्डको तथ्यांक अनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् । छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ । यसैगरी, ७ जना अन्य लिङ्गी विद्यार्थीहरूले पनि यस पटकको एसईईमा सहभागी छन् । छात्राको संख्या छात्रको तुलनामा बढी हुनुले नेपालमा महिला शिक्षाको पहुँच बढ्दै गएको सकारात्मक सन्देश दिएको बोर्डले जनाएको छ ।

यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् । जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।

बिहीबार १९ चैत २०८२ १०:११ AM मा प्रकाशित

प्रतिक्रिया