×

अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट २१७ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

images

काठमाडौं ।  केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए । त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ ।

मङ्गलबार १५ असोज २०८१ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया