काठमाडौं । समुद्र र नदीमा पाइने 'हाइड्रा' रोमाञ्चक र हेर्दै अनौठो लाग्ने जीव हो। प्राचीन ग्रीक मिथकमा नयाँ टाउको उमार्न सक्ने सर्पको नाम पैँचो लिएर यसको नामकरण गरिएको हो।
यसको जेलीफिश, चम्किलो र फूलजस्तो देखिने अनि ढुङ्गामा पाइने समुद्री जीव एनिमोन र मुगा अर्थात् कोरलसँग नजिकको नाता छ। सिंहपर्णी (ड्यान्डेलिअन) फूलको बीजजस्तो सानो र लामो शरीर अनि एकातर्फ कैयौँ टेन्टकल भएको उक्त जीवमा हेर्नुपर्ने अरू धेरै कुरा छैनन्।
तर जीवविज्ञानमा यसको एउटा विशिष्ट विशेषता छ किनभने यो पुन: जीवित हुन सक्छ। यदि तपाईँले एउटा हाइड्रालाई धेरै वटा टुक्रामा काटिदिनुभयो भने प्रत्येक टुक्रा एउटा अलग्गै जीवको रूपमा फेरि हुर्कन्छ।
यही विशेषताका कारण प्रकृतिमा अमरत्वको प्रमाणको खोजी गरिरहेका वैज्ञानिकहरूमाझ उक्त जीवलाई लिएर कौतूहल पाइन्छ। यी जीवहरू प्राकृतिक कारणले किन मर्दैनन्? अनि के मृत्यु अवश्यम्भावी छ ?
बीसौँ शताब्दीको मध्यतिर उमेर ढल्किनुलाई प्रजनन र कोष व्यवस्थापनबीचको लेनदेनका रूपमा व्याख्या गरिएको थियो। प्रारम्भिक अवस्थामा हाम्रो शरीरले आफूलाई हुर्काउन र स्वस्थ राख्न आफ्ना कोष प्रयोग गर्छ। बाल्यकालदेखि किशोरावस्थासम्म सकेसम्म बलियो र स्वस्थ रहन जोड रहन्छ। परिपक्व यौन क्षमता विकास भएपछि प्राथमिकता प्रजननमा हुन्छ।
किनभने अधिकांश जीवहरूको स्रोत सीमित हुन्छ र सन्तान उत्पादनलाई प्राथमिकता दिने कुरा आफू स्वस्थ रहने कुराभन्दा माथि पनि रहन सक्छ।
उदाहरणका लागि सामन माछालाई हेर्नुहोस्। अण्डा पार्न तटको माथिल्लो भागतिर पौडिने उक्त माछा त्यसलगत्तै मर्छ। अण्डा पार्ने ठाउँसम्म ऊ सहजै पुग्छ र त्यहाँ हुँदा उसले उक्त अवसरलाई यथोचित प्रयोग गर्छ।
तर सामन माछा तलको किनारातर्फ फर्किने र समुद्रमा फेरि अर्को वर्ष जीवित रहने अनि सन्तान जन्माउन त्यही किसिमको यात्रा सफलतापूर्वक गर्ने सम्भावना ज्यादै न्यून हुन्छ।
प्राकृतिक छनोटले पनि तिनलाई यस्तो अवसर कहिल्यै दिँदैन। तर जे भए पनि उनीहरूले आफ्नो अनुवंश एकचोटि सफलतापूर्वक हस्तान्तरण गर्छन्। तर हामी किन मर्छौँ भन्ने अहिलेको हाम्रो बुझाइ अझ विशिष्ट छ।
परिपक्व यौन क्षमता विकास गरेपछि कुनै पनि जीवको प्राकृतिक छनोटको शक्ति कमजोर हुन्छ र बुढ्यौलीको प्रक्रिया आरम्भ हुन्छ। त्यसले अन्ततः मृत्युसम्म पुर्याउँछ।
तर त्यो ‘परोपकारी जस्तो देखिने कोण’ भावी पुस्ताका लागि बाटो खोलिदिन भने नभएको यूनिभर्सिटी अफ इस्ट एङ्लिया यूकेका क्रमविकास विज्ञान तथा बायोजेरन्टोलजीका प्राध्यापक एलेक्सेइ माक्लाकोभ बताउँछन्। बीबीसी
प्रतिक्रिया