 
                        काठमाडौँ । श्रीलंकाको पछिल्लो जनसंख्या प्रतिवेदनले देशको सामाजिक र जनसांख्यिकीय अवस्थाको नयाँ तस्वीर प्रस्तुत गरेको छ ।
२०२४ को जनगणना अनुसार, देशको कुल जनसंख्या २ करोड १७ लाख छ, जसमा महिला ५१.७ प्रतिशत र पुरुष ४८.३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले अब देशको जनसंख्याको आधाभन्दा बढी महिलाहरू रहेको देखाएको छ । विज्ञहरूले यसलाई शिक्षा, स्वास्थ्य सेवा र महिला सशक्तिकरणमा भएको सुधारको महत्वपूर्ण सूचक मानेका छन् ।
प्रतिवेदन अनुसार, शहरी क्षेत्रमा महिलाहरूले जनसंख्याको ५१.९ प्रतिशत प्रतिनिधित्व गर्छन्, जबकि ग्रामीण र इस्टेट (चिया बगान) क्षेत्रहरूले क्रमशः ५१.७ र ५१.४ प्रतिशत प्रतिनिधित्व गर्छन् । पुरुषहरूले शहरी क्षेत्रमा ४८.१ प्रतिशत, ग्रामीण क्षेत्रमा ४८.३ प्रतिशत र इस्टेट क्षेत्रमा ४८.६ प्रतिशत प्रतिनिधित्व गर्छन् ।
यो प्रवृत्तिले महिला जनसंख्यामा भएको वृद्धि देशभर समान रूपमा वितरित भएको संकेत गर्छ । जनसंख्या विज्ञहरूका अनुसार, यो परिवर्तन शिक्षा र स्वास्थ्य सेवामा भएको सुधार, मातृ मृत्युदरमा आएको गिरावट र महिलाहरूको बढ्दो आयुद्वारा प्रेरित रहेको छ ।
जनगणना तथा तथ्याङ्क विभागको प्रतिवेदनले अर्को ठूलो सामाजिक परिवर्तन देखाएको छ । जसमा १५ वर्ष मुनिको जनसंख्या २०१२ मा २५.२ प्रतिशतबाट घटेर २०२४ मा २०.७ प्रतिशतमा पुगेको छ, जसको अर्थ देशको युवा जनसंख्या द्रुत गतिमा घट्दै गएको छ । साथै, ६५ वर्षभन्दा माथिका नागरिकहरूको संख्या ७.९ प्रतिशतबाट बढेर १२.६ प्रतिशत पुगेको छ । विज्ञहरूका अनुसार, यो परिवर्तनले श्रीलंका 'वृद्ध समाज' तर्फ अघि बढिरहेको संकेत गर्छ, जसको अर्थ जन्मदर घट्दै जाँदा वृद्धवृद्धाको संख्या द्रुत गतिमा बढिरहेको छ । १५ देखि ६४ वर्ष उमेर समूहका काम गर्ने जनसंख्यामा पनि थोरै गिरावट आएको छ, २०१२ मा ६६.९ प्रतिशतबाट अहिले ६६.७ प्रतिशत पुगेको छ ।
जातीय रूपमा, सिंहली समुदाय श्रीलंकामा सबैभन्दा ठूलो समूह हो, जसको जनसंख्या ७४.१ प्रतिशत छ । यसपछि श्रीलंकाली तमिलहरू १२.३ प्रतिशत, मुस्लिमहरू १०.५ प्रतिशत र भारतीय मूलका तमिलहरू २.८ प्रतिशत रहेका छन् । त्यस्तै बर्गर, मलाय, श्रीलंकाली चेट्टी, भरत र आदिवासी वेद्दा समुदायहरू ०.३ प्रतिशत छन् । यी तथ्याङ्कहरूले देशको जातीय विविधता कायम रहेको संकेत गर्दछ, यद्यपि सिंहली बहुमत भएको समाज सधैं जस्तै बलियो नै दखिएको छ ।
धर्मको हिसाबले, श्रीलंकामा बौद्ध धर्मावलम्बीहरू बहुमतमा छन्, जसको संख्या ६९.८ प्रतिशत छ । हिन्दूहरू १२.६ प्रतिशत, मुस्लिमहरू १०.७ प्रतिशत, रोमन क्याथोलिकहरू ५.६ प्रतिशत र ईसाईहरू १.३ प्रतिशत रहेका छन् ।
प्रतिक्रिया