 
                        चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुर्घटना भएको छ । प्रहरीका अनुसार राति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् ।
रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबाहक बसले अगाडिको ना–६ ख ८१३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो बसको पछाडि आइरहेको जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस पनि सोही क्रममा ठोक्किएको थियो ।
दुर्घटनामा दुवै बसका यात्रु गरी ३३ जना घाइते भएका छन् । तीमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । केहि घाइतेलाई चोट लागेको र धेरै जसोको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुई बस चालक मध्ये एक जना घाइते भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार रहेका छन् ।
प्रतिक्रिया