वर्षको बाह्र महिनामा एघार महिना कुनै चर्चा परिचर्चा नहुने र बाह्रौँ महिनामा आएर मात्र यसको व्यापक चर्चा हुने संवतको नाम ‘नेपाल संवत्’ हुन आइरहेको छ । यो कुरा भन्नुपर्दा बडो अपशोच लागेको छ । त्यसरी बाह्रौँ महिनामा आएर मान्छेहरू आफू कत्तिन बुझक्कड जस्तो बनेर नेपाल संवत्को बारेमा अनेकौँ हावादारी गफहरू दिँदै आएको कुरा प्रत्यक्ष देख्न र सुन्न पाइरहेका छन् ।
ती गफहरू कसले गरेका हुन् ? नाम भनिरहनु आवश्यक नपर्ला । तर, गफहरू मात्र यस प्रकारका छन् भन्नू उपयुक्त होला । जस्तै :
१) के आधारले नेपाल संवत् नेवारहरूको ‘नेवार संवत्’ भन्न खोजेको हो ? त्यत्ति कै गफको भरमा भन्न पाइने होइन । एक जना इतिहासकार कहलिएका व्यक्तिले नेपाल संवत्लाई नेवार संवत् ठानेर यसलाई राष्ट्रियस्तरको मान्यता दियौँ भने भोलि तराईका बन्धुहरूले ‘लक्ष्मण संवत्’ पर्सि भोट मूलकाले ‘भोटको संवत’लाई राष्ट्रियस्तरको मान्यता माग नगर्ला भन्न सकिन्न भन्ने तर्क अघि सार्ने गरेका थिए । त्यसैगरी जनसंख्याको आधारमा नेवारहरू तृतीय स्थानमा रहेको, द्वितीय स्थानमा मैथिली र चतुर्थ स्थानमा भोजपुरीहरूले पनि आफनो स्थानमा आफनो संवतको उठान गरि दिए भने के गर्ने ? नेवार समुदाय र बौद्धमार्गीबीच नै पनि प्रसिद्धि पाएको ‘बुद्ध संवत्’ चलाउने तर्क उठाए भने त्यसलाई नाजायज भन्न मिल्ने अवस्था नआउला भन्ने तर्क गर्दै नेपाल संवत् भनेको व्यक्ति वा उपलव्धिको सम्झनामा चलेकोले भोलि समुदायको संवत् ‘लोकतन्त्र संवत्’ ‘गणतन्त्र संवत’को कुरा उठेको खण्डमा के गर्ने जस्ता तर्क अघि सारेको पनि देखियो ।
वास्तवमा नेपाल संवत्लाई के आधारमा नेवार संवत् भनेर ठानेको हो र नेपाल भनेको नेवार मात्रै हो भनि ठान्न पुगेको हो । यहीँ नै मूल समस्या हो । नत विगतमा नेपाल नेवारको मात्र पेवा थियो भन्ने आधार छ न आज छ नत भोलि कै दिनमा सिद्ध हुन् आउँला । जुन वेला नेपाल संवतको आरम्भ भयो, त्यो वेला नेपालमा केवल नेवारहरूमात्र थिए भन्ने प्रमाण कहाँ छ ? अरूले त भन्यो होला तर कथित इतिहासकार भनाउँदाहरूले त प्रमाणको खोजी गरेर प्रमाणको आधारमा मात्र भन्नुपर्दथ्यो । त्यसकारण नेपाल संवत् नेवारको संवत् हो भनी हावादारी तर्क गर्न पाइँदैन । नेपाल संवत्को बारेमा यस्ता संकुचित र संकीर्ण बुझाइ बोकेको आधारमा आइन्दा यसरी होच्याउने खिज्याउने नगरियोस् ।
२) किम्वदन्तीहरूलाई आत्मसात गरियो भने नेपाल संवत् सुन र ऋणसँग मात्र सम्बन्धित रहेको देखिने हो । अहिले बालुवा सुनमा परिणत हुने कुरा विस्तारै त्याग्दै आएको छ । किनकि बालुुवामा सुन हुने भए पहिले उठाएको बालुवाको भारिमा सुन हुने एकछिन पछि उठाएकोमा सुन नहुने भएको हुँदा यसता कुरामा दम छैन भनेर विस्तारै बुझन थाले । अर्को नेपाल संवत् उठेको समयभन्दा हजारौँ वर्षपछि लेखिएको वंशावलीले केवल नेपाल संवतलाई गौरवान्वित गर्न योगदान दिने व्यक्ति शंखधर साख्वा भनेर मात्र चर्चा गरिएको छ ।
तथापि नेपाल संवत्लाई प्रेम जताउने होस् या यसलाई होच्याउनेहरू होउन । जो पनि नेपाल संवतको शुरूवात गर्ने व्यक्ति शंखधर नै हुन् भनि मान्दै आएका छन् । यदि शंखधर नै नेपाल संवत्का प्रवत्र्तक थिए भने यो संवत् उठान हुनुभन्दा अघि नै प्रचलित रहेको संवत् पनि त थिए । त्यो कुरा वंशावलीकार, इतिहासकार सबैलाई थाहा छ । तब पहिले नै प्रचलित रहेको संवतमा के समस्या देखिएको थियो र, अर्को संवत् प्रचलनमा ल्याउन त्यस्तो जरुरी आवश्यकता के थियो । त्यसको पनि कारण त अवश्य खुलाउन पर्नेहुन्छ । हरेक इतिहासकारले कुनै घटना घट्न गएछ भने त्यसको कारण अवस्य खोज्छ । स्पष्ट यो हुन्छ कि कालान्तरमा लेखिएका वंशावलीहरूमा अघि प्रचलित संवतलाई विस्थापित गरी नयाँ संवत् थालनी गर्नुको कारण केही पनि दिइएको छैन । अतः सुन र ऋणको किम्वदन्ती केवल कपोल कल्पित कथा मात्र हो । त्यसकारण कपोल कल्पित कथालाई मात्र बोकेर नेपाल संवत्को बारेमा टीकाटिप्पणी गर्ने प्रयास कसैले नगरियोस् ।
३) वंशावलीलाई पनि अन्यथा नगर्ने र इतिहासलाई पनि अन्यथा नगर्ने सोच बिकास गर्नेहरूले शंखधर भन्ने व्यक्ति र राघवदेव भन्ने व्यक्ति एकै हुन् भन्ने तर्क पनि ल्याउने गरेको देखिन आएको छ । त्यसको लागि तर्क यो छकि राजालाई नारायण भन्ने प्रचलन र संस्कृति छ । शंखधर, चक्रधर भनेका नारायण हुन् । त्यसैले राजा राघवदेव भनेकै शंखधर हुन् भन्नका लागि कुनै हिच्कीचाहट बिना नै यस्तो हावादारी तर्क अघि सारेको पाइन्छ ।
इतिहासले नत शंखधरको नाममा प्राधान्यता खोजको हो नत राघवदेवको नाममा प्राधान्यता खोजेको हो । इतिहासले त पहिले चलिआएकोे संवत् छँदाछँदै अर्को नयाँ संवत् किन ल्याइयो र अघिल्लो संवत् प्रचलनमा के कस्ता कठिनाई वा समस्या देखा परको हुनाले अर्को थालनी गरेको हो । त्यो कुरा पो खोजेको हो । यदि नयाँ संवत् कै खाँचो भएको भए अघि प्रचलित संवत् कै जगमा उठाउनु परेको कारण के ? यो सबै खोज्छ । अतः राघवदेव भनेकै शंखधर शंखधर भनेकै राघवदेव जस्ता मनगढन्ते तर्क चाहिएको होइन । त्यसकारण यस्तो हावादारी तर्क नेपाल संवतसँग जोड्ने प्रयास कसैले नगरून् ।
४) कतिपय लेखक तथा इतिहासकारहरू ‘विक्रम संवत्’ र नेपाल संवत् दुवै नेपाल कै उपज हुन् भनि मान्दै आएका छन् भने कतिपयले विक्रम संवत् व्यावहारिक छैन । यो विदेशीले चलाएको आयातित संवत् हो । यो चन्द्र शमशेरले जवरजस्ती लादेको संवत् हो । जस्ता अनेक खालका कुतर्क गर्न थालेको देखिन्छ । यहाँ नत विक्रम संवत्लाई प्रेम गर्नेहरूले विक्रम संवत्को धरातल बुझे नत नेपाल संवत्लाई प्रेम गर्नेहरूले नेपाल संवत्को धरातल बुझे । उनीहरू सवै कागले कान लग्यो भन्दा काग कै पछि दौडँे जस्तै दौड्दै आएको छ ।
विक्रम संवतलाई प्रेम गर्नेहरूले नेपाल संवत् ८८८ हुंदा विक्रम संवत् १८२५ कसरी हुन आयो भन्ने कुरा थाहा छैन । नेपाल संवत् शुरू हुँदा विक्रम संवत् ९३६ कार्तिक थियो भन्ने कुरा त अवश्य थाहा छ । यदि यो कुरा अझै थाहा छैन भनियो भने के इतिहास बुझेको भन्ने यो सवाल उठ्छ ।
यदि थाहा छ भने विसं. ९३६ को कार्तिक देखि विसं. ९३७ को असोजसम्म नेपाल संवत् १ नै हुन्छ भन्ने कुरा पनि थाहा भएकै हुनुपर्छ । तब नेपाल संवत् र विक्रम संवतबीचको अन्तर त्यतिवेला ९३५ र ९३६ हो भन्ने कुरा पनि ख्याल राखेकै हुनुपर्छ । यहाँ विक्रम संवतलाई प्रेम गर्नेहरूले नेसं. ८८८ र विसं. १८२५ बीचको अन्तर किन ९३७ हुन आएको हो ? त्यसको जवाफ भने छैन ।
वास्तवमा विक्रम संवत्का अव्यावहारिक पक्ष भनेको यहीँ हो । विक्रम संवत् भनेको ‘शक संवत’मा १३५ जोडेपछि जति आयो, त्यसैलाई भन्नुपर्ने हो । तर शक संवतभन्दा फरक रहेको ‘लिच्छवि संवत’लाई नै शक संवत् ठानेर त्यसमा १३५ जोडेर बनेको विक्रम संवत् भएकोले इतिहासमा यसको छेउ–टुप्पो कहीँ पनि मिल्दैन । त्यसैले विक्रम संवतको धरातल छैन भनि लेखेको लेखमा यसबारे विस्तृत चर्चा गरिसकेको छु ।
यहाँ अंग्रेजहरूले ‘ग्रेगोरियन संवत्’ १७६८ मा जयप्रकाश मल्ल अपदस्त भएपछि शाह राजा आए भनेर लेखेको देखेर तात्कालीन नेपाल संवत् ८८८ भएकोले विक्रम संवत् र ‘इस्वी सन्’को अन्तर ५७ हुनुपर्ने आधारमा विसं. १८२५ लेख्न पुगेका हुन् । यहाँ आएर नेपाल संवत् र विक्रम संवत्मा ९३५र ९३६ को अन्तरलाई चटक्कै बिर्से । यो कुरा नत विक्रम संवतका प्रेमीहरूलाई थाहा छ । हो यसरी कहिले ‘शक संवत्’मा १३५ जोड्नुपर्नेमा लिच्छवि संवत्मा १३५ जोडेर विग्रेको, कहिले इस्वी संवतसँग ५७ जोड्नुपर्ने हुँदा १७६८ इस्वीमा ५७ जोडेर बनाइएको विक्रम संवत् १८२५ को निरन्तरतालाई चन्द्र शमशेरले कायम गरेको हो ।
यहाँ विक्रम संवत् विदेशबाट आयातीत, चन्द्रले जबरजस्ती लादेको जस्तो भनाइको कुनै औचित्य र दम छैन । विक्रम संवत् मल्लकालका अभिलेखहरूमै उल्लेख गर्ने चलन रहेको तथ्य तत्कालीन अभिलेखहरू खोतलेर हेर्दा पनि थाहा हुन्छ । त्यतिबेला नै शक संवत्मा १३५ जोडिएको हुनुपर्नेमा लिच्छविकालमा चलेको संवत्लाई नै शक संवत् नामले सम्बोधन गर्दै त्यसमा १३५ जोडेर बिटुलो भएको संवत् विक्रम संवत् हो ।
मल्लकालको अन्तमा आएर फेरि इस्वीसंवतँंग ५७ वर्षको अन्तर हुने बाटो समाएर १७६८ मा ५७ जोडेर बनाइएको ‘कृतिम विक्रम संवत’्को निरन्तरता नेपालमा प्रयोग हुँदै आएको हुनाले यो संवतको आफनो पहिचान भन्ने छैन । अतः यो संवतको व्यावहारिकता छैन भन्नुपरेको हो । इस्वी संवत् विदेशबाट आयातीत भए पनि त्यो जायज हुने विक्रम संवत् मात्र नाजायज हुनुको तर्क ठीक होइन । त्यसकारण विक्रम संवत् र नेपाल संवत्को पहिचान नबुझी खाली हावादारी गफ गर्नुको कुनै औचित्य नै छैन ।
५) नेपाल संवत्लाई देखावटी प्रेम जताउनेहरूले जानेर वा नजानेर उल्टो हानी पु¥याइ आएको सन्दर्भ पनि यहाँ चर्चा योग्य नै छ । बडो दुःखका साथ भन्नु परेको छ । खासमा नेपाल संवत् मूल विषय हो र योसँग गाँसिएका अनकौं पात्रहरु हुन्छन् । तसर्थ नेपालसंवत् मुख्य हो अन्य पात्रहरू गौण विषय हुन् । तर यसको ठीक उल्टो पात्रलाई मुख्य बनाइ नेपाल संवत् गौण बनाउँदै आएको छ । स्पष्टै छ नेपाल संवत्को नयाँ वर्षको दिन नेपाल संवत्को महत्वबारे चर्चा हुँदैन । केवल शंखधरको मात्र चर्चा हुन्छ । त्यहाँ बालुवा सुन भएको चर्चा हुन्छ र ऋण मुक्त गरेको मात्र चर्चा हुन्छ । शंखधर नेपालसंवत्का लागि अतुलनीय योगदान दिएकोे व्यक्ति हो तर उनले संवत् चलाएको होइन । तैपनि संवत् चलाउने व्यक्ति नै उनै हुन् भनाउनका लागि अपत्यारिला कथा समेत रचना गरी नेपाल संवत्को महिमा घटाइदिने कार्य गरिदिएको छ । यसले नेपाल संवतप्रतिको आस्थामा हानी पुगेको छ भने स्वयं शंखधरको महिमालाई समेत होच्याइदिने कुरामा प्रोत्साहित गराइ दिइको छ ।
हुँदाहँंदा पछिल्लो समयमा शंख्वा संवत् भनेरै उल्लेख भएको शिलालेख समेत भेटियो भन्दै बनावटी प्रचार गरेर नेपालसंवत् र शंखधर प्रति हिलो छ्याप्ने कार्य समेत भयो । यो दुःखद् कुरो हो । सुनलाई खोल हाल्नु पर्दैन । त्यसैले नेपाल संवत् र शंखधरको महिमा सुनभन्दा उज्वल छ । तर। त्यस प्रकारको बनावटी प्रचारले त्यो उज्वलतालाई धमिल्याइ दिएको छ । किनकि त्यो शिलालेख नेपाल संवत् ८२९ मिति वैशाखकृष्ण द्वादशीलाई बिगारेर ८२७ वैशाख कृष्ण दशमी बनाइएको छ । त्यो शिलालेखमा संवत् अंक पनि संख्या जोग वसु भनेर दिइएको हुनुले त्यसलाई ८२७ भनिँदैन । स्पष्टै छ– यहाँ शंखधर उल्लेख भएको शिलालेख समेत पाइयो भनी नक्कली शिलालेख बनाएर मिथ्या प्रचार गरेको छ । यस प्रकारको कैफियत कार्यले नेपाल संवत् र शंखधरको नै ठूलो अपमान हुन गएको छ । यस्तो दुष्प्रचारलाई भविष्यले धिक्कारी रहने छ ।
नेपाल संवत्को ऐतिहासिक पक्ष
नेपाल संवत् शुरू हुनुभन्दा अघि नेपालमा लिच्छविकालमा शुरू भएको संवत् चलिरहेको थियो । त्यो लिच्छवि संवत् अंशुवर्माको समयमा आएर ५२९ देखि २९ मात्र भनेर संक्षिप्त लिच्छवि संवत्को रूपमा चल्यो । यो नयाँ संवत् थिएन । लिच्छविकालमा चलेको संवत् केवल संवत् भनेर मात्र चल्दै आएको र संक्षिप्त लिच्छवि संवत् पनि केवल संवत् भनेर मात्र चल्दै आए । त्यही संक्षिप्त लिच्छवि संवत् ३०१ बैशाखमा आएर मानदेव तृतीय नाम गरेको लिच्छविराजाले शासन चलाउँदै आएको तथ्य सहोत्तर तन्त्र नामक ग्रन्थको पुष्पिका वाक्यले संकेत गरे । यही क्रमको संवत् ३०२ पछि ३०३ को सट्टा संवत् १ भएर शुरु भएको संवत् नै पछि आएर नेपाल संवत् कहलिएको हो । कतिपय इतिहासकारहरू यो संक्षिप्त लिच्छवि संवत्लाई ‘मानदेव संवत्’ हो र यो मानदेव संवत् ३०४ वर्षसम्म चल्यो भन्दै आएको पाइन्छ । यदि संवत् ३०१ वैशाख भनेको विक्रम संवत् ९३५ वैशाख हो भनी सिद्ध नभएको भए यो संवत् ३०४ वर्ष चल्यो होला कि भनेर विश्वास गर्न सक्थे होला । अर्थात् यता संवत् ३०१ भनेको विसं. ९३५ र नेपाल संवत् १ कार्तिक भनेको विसं. ९३६ कार्तिक थियो भन्ने कुरा पनि सिद्ध नभएको भए कथित मानदेव संवत् ३०४ वर्षसम्म नै चलेको होला भनेर मान्न सक्थे होला । तर, सामान्य गणना जान्नेले पनि बुझ्न सक्छ कि ३०१ बाट ३०४ हुन ३ वर्ष पूरा भुक्त हुनु जरुरी छ भने यता विसं. ९३५ बैशाखबाट विसं. ९३६ कात्तिक आउन डेढ वर्ष मात्र भुक्त भएको पाइने पनि स्पष्टरुपले बुझ्न सक्छ । त्यसकारण कथित मानदेव संवत् ३०४ वर्ष बित्न नपाउँदै ३०२ उप्रान्त ३०३ टेक्ने बित्तिकै ३०३ नभएर अर्को नयाँ संवत् १ शुरू भएको स्पष्ट हुन्छ । यो संवत् पनि शुरूमा लिच्छविकालमा झैँ संवत् मात्र कहलियो । यही संवत् १४८ पुग्दा ‘नेपालवत्सरे’ नामाकरण हुन पुगेको संकेत कलकत्ताको एस के सरस्वतीको संग्रहमा रहेको अष्टसाहस्रीका प्रज्ञापारमिताले संकेत गर्छ । यही संवत् ५६५ पुग्दा चीनका मिङ्वंशी राजाले पठाएको परवाना पत्रमा महाचीनाब्द भनेर उल्लेख भएको संकेत गर्छ । यहीँ संवत्को क्रममा ७५३ मा ‘कुचविहार’का प्राणनारायणले आफ्नो मुद्रामा पनि नेपाल संवत् प्रयोग गरेको स्पष्ट संकेत पाइन्छ ।
प्राय वंशावलीहरूमा दिइएअनुसार शंखधर, आनन्ददेवको समकालीन भन्ने संकेत गर्दछ । राजा आनन्ददेव यही नेपालवत्सर संवत् २६४ तिरको भएकोले शंखधर पनि त्यही बेलाको भन्ने संकेत पाइन्छ । यसबाट शंखधरले नेपाल संवत् चलाएको भन्नेमा मात्र होइन नामाकरण सम्म पनि उनले गरेको देखिँदैन भन्ने स्पष्ट हुन्छ । त्यसकारणले शंखधर साख्वा भन्ने व्यक्ति संवत् प्रवर्तक होइन नेपाल संवत्लाई गरिमामय बनाउन योगदान गर्ने महान व्यक्ति मात्र हुनसक्ने संकेत गर्दछ । नयाँसंवत् शुरु भएदेखि सरसर्ति अभिलेखहरु केलाउँदै आउँदा नेपालवत्सर संवत् ४९२ पुगेपछि बल्ल नेपाल संवत् स्पष्टरूपले नामाकरण भएको पाइन्छ । अतः नेपाल संवत् शुरूमा लिच्छविकालमा झैं संवत् मात्र कहलिँदै बिभिन्न चरणमा नेपालवत्सर, नेपाल हायने, नेपाल देशीय आदि भन्दा भन्दै ४९२ मा आएर मात्र नेपाल संवत् कहलिएको स्पष्ट देखिन्छ ।
यी तमाम तथ्यलाई मनन गर्ने हो भने नेपाल संवत् शुरू भएदेखि नेपाल संवत् नामाकरण भएका क४९२ वर्षको अवधिसम्म यस नेपाल संवतमा विशुद्ध नेवारहरूको मात्र पेवा भएर आएको होला भनेर पत्याउन सकिने ठाउँ छैन । चाहे यहाँ जो सुकै महान् भनिएका इतिहासकारले भनेको भएता पनि स्वीकार्न सकिने कुरा छैन । त्यसवेला नेपालमा केवल नेवारहरूमात्र थिए । अरू कोही थिएन भन्ने कुनै प्रमाण छैन । त्यतिवेला चारवर्ण छत्तीस जात भनांैँ या अहिले नेपालमा जति जात थर थिए, त्यतिवेला पनि थिए । तब त्यतिबेला सबैले अपनत्व गर्दै गरेको संवत् भएको हुनाले नै यो संवत्को नाम नेपाल संवत् नाम रहन गएको हो ।
दुर्भाग्य नै भन्नु पर्दछ, जव नेपाल संवत्को नाम शंखधरकृत नेपाल संवत् राखियो । त्यसबेला देखि नै नेपाल संवत् नेवारको संवत् भनेर अथ्र्याउन पुगेको देखिन आएको हो । जुनबेला देखि नेपाल संवत् बालुवा सुनमा परिणत भएपछि त्यहीँ सुनबाट ऋण तिरेर ऋणमुक्त गराएको जस्ता अनेकौ. अपत्यारिला हावादारी कथनहरू जोड्न ल्याइएपछि नेवारइतरका सारा नेपालीले यसमा आफनो अपनत्व जनाउन छोड्दै आएको स्पष्ट रूपले देखा परेको हो । वास्तवमा यथार्थ पनि यहीँ नै हो ।
निष्कर्ष
नेपाल संवत्लाई नजिकै राखेर सरसर्ती नियाल्दै आउने हो भने यसलाई अपनत्व जनाउने नेपाली र नजनाउने नेपाली दुवै पक्षले अपव्याख्या गर्दै आएको देखिनु भनेकै यो संवतको लागि घातक सिद्ध हुन जानु हो । ती घातक कुराले नेपाल संवत्को बदनाम गराउनु गराइ सके, हावादारी गफ गर्नु गरी सके अब त यो अति भइसक्यो भन्न सकिन्छ । त्यसकारण नेपालमा जति पनि जातजाति छन्, ती सबै नेपाली हुन् । नेपालीलाई आफनो राष्ट्रप्रति अवश्य माया । हुन्छ र नेपालको एक–एक कणमाथि नेपालीको मनमा राष्ट्र प्रेम जोडिएको हुन्छ । अतः नेपाल संवत्मा नेपालीलाई माया नहुनुपर्ने कुनै कारण छैन । अतः नेपाल हाम्रो साझा मुलुक हो भनेझैँ नेपाल संवत् पनि हामी सकल नेपालीको साझा संवत् हो भनेर बुझ्न बुझाउन जरुरी छ । अब हामी भनेर सोचेर नेपाल संवत्मा प्रत्येक नेपालीले आफनो अपनत्व हुने किसिमको बातावरण बनाउँदै लानु आजको आवश्यकता मात्र होइन जरुरी पनि छ ।
-श्याम सुन्दर राजवंश
उनी इसञ्चारपाटीका नियमति विचार स्तम्भका हुन् ।
प्रतिक्रिया