×

पूजा आराधना गरी स्थापना दिवस मनाइयो

images

वैदिक सनातन धर्म संस्कृतिको रक्षा गर्ने प्रमुख उद्देश्यले स्थापना भएको राष्ट्रिय धर्मसभा नेपालले सबै जिल्लामा शाखा विस्तार गरी धार्मिक जागरण फैल्याउने भएको छ ।

कोरोना महामारी सुरु हुनुअघि धर्मसभाले ६५ जिल्लामा शाखा स्थापना गरेको थियो । कोरोनाका कारण साँढे दुई वर्ष शाखा विस्तार एवं धार्मिक जागरणका काम हुन नसकेकामा धर्मसभाको १५ औँ स्थापना दिवसका अवसरमा आज आयोजित गणेश भगवान्को विशेष पूजाका अवसरमा यस्तो जानकारी दिइएको हो ।

विसं २०६५ भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीका दिन सनातन धर्म संस्कृतिमाथि हुन थालेको आक्रमणका विरुद्ध आवाज उठाउन धर्मसभाको स्थापना भएको थियो । नेपालको सांस्कृतिक गौरवका रुपमा रहेका चाडपर्वको संरक्षण र संवद्र्धन गरी यसको महत्वका विषयमा जागरण फैल्याउने विषयलाई पनि मुख्य लक्ष्य बनाएर धर्मसभा स्थापना भएको थियो । धर्मसभाले विसं २०७० मा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँगको सहकार्यमा पुरोहित एवं यजमानले पालना गर्नुपर्ने आचार संहितासमेत सार्वजनिक गरेको थियो ।

धर्म, संस्कृतिसँग सरोकार राख्ने सरकारी निकाय समेतलाई समावेश गरी गरिएको सम्मेलनबाट आचारसंहिता जारी भएपछि यस क्षेत्रमा देखापरेका केही विकृति रोक्न सहयोग पुगेको थियो । कोरोनाका कारण २०७६ चैतदेखि निस्क्रिय रहेको धर्मसभालाई सक्रिय बनाउन धेरै जिल्लाका जिल्ला सम्मेलनसमेत भइरहेका छन् ।
विसं २०६५ पुसमा मन्त्रिपरिषद्ले विसं २०६६ चैतमा रहेको पुरुषोत्तम महिनालाई नेपाली पात्रोबाट हटाएर ११ महिने पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्नेलगायतका निर्णयको विरोध गरेर उल्ट्याउन सफल भएको धर्मसभाका संस्थापक अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो । धर्मसभाको बिरोधपछि सरकार पनि निर्णयबाट पछि हट्न बाध्य भएको थियो । “त्यसबेला सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष म आफैँ थिएँ, ११ महिने पात्रोलाई स्वीकृति मैले नै दिनुपर्ने थियो, हामीले ११ महिनाको पात्रो निकाल्न सकिँदैन भनी समितिबाट पनि सर्वसम्मत निर्णय गराएर विरोध जनाएका थियौँ, यो विषय सरकारका मन्त्री र प्रधानमन्त्रीलाई पनि बुझायौँ”, उहाँले भन्नुभयो । 

धर्मसभाले विसं २०६६ को गणेश चतुर्थीका दिन हरेक वर्ष पूजा आराधना गरी स्थापना दिवस मनाएर भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीका दिन   काठमाडौँ उपत्यकामा गणेश रथयात्रा गर्दै आएको छ । यस अवसरमा आज बिहान धर्मसभाको अनामनगरस्थित केन्द्रीय कार्यालयमा वैदिक विधिपूर्वक गणेशको पूजा आराधना गरी स्थापना दिवस मनाइएको छ । बिहीबार भक्तपुरको सानो ठिमी क्षेत्रमा गणेश रथयात्रा चलाउने संंस्थापक अध्यक्ष डा भट्टराईले बताउनुभयो । धर्मसभा आजैदेखि १४ वर्ष पूरा गरी १५ औँ वर्ष प्रवेश गरेको छ ।

बुधबार १५ भदौ २०७९ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया