×

‘कांग्रेसले चुनावी तालमेल गर्न छलफल अगाडि बढाउँदै’

images

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकतानुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि कञ्चनपुर कांग्रेसले छलफल अगाडि बढाउने तयारी गरेको छ । 

कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर बलायर तालमेल विरुद्ध देखिएकाले छलफल गरी अघि बढ्न खोजिएको हो । कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले केन्द्रको निर्णयानुसार तालमेलका लागि छलफल गरी अघि बढ्ने बताउनुभयो । “तालमेलको निर्णय भएको छ, त्यसका लागि नेताहरुसित छलफल गर्छौँ”, उहाँले भन्नुभयो, “त्यसका आधारमा मात्रै कञ्चनपुरमा तालमेलको आवश्यकता छ छैन भनेर जान्छौँ ।” कांग्रेस सुदूरपश्चिमका अध्यक्ष बलायलरले तालमेल नहुने भन्दै आएकाले पनि केन्द्रको निर्णयपछि छलफल गरेर मात्रै अघि बढ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष बलायरले कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नभएको र चुनाव जित्न बलियो भएको तर्क अघि सार्दैै चुनावी तालमेल गर्न नहुने अडान लिँदै आउनुभएको छ । कञ्चनपुरमा नौ स्थानीय तह छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा सत्तारूढ कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले दुई÷दुई ठाउँमा जितेका थिए । अन्य पाँचमा नेकपा एमालले जितेको थियो ।

अहिले एमाले विभाजन भएर चुनावी मैदानमा जान लागेको छ । कांग्रेस एमाले विभाजनको फाइदा उठाउने गरी चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीति बनाएर अघि बढेको छ । “कांग्रेस अहिले बलियो नै छ, तालमेल नगरी पनि जित्न सकिन्छ”, सचिव भट्टले भन्नुभयो, “तैपनि छलफल गरी अघि भने बढ्छौँ ।” ‘कांग्रेस घर घर जाऔँ’ अभियान लिएर अहिले चुनावी घरदैलोमा छ ।

बिहीबार १७ चैत २०७८ ०८:४२ AM मा प्रकाशित

प्रतिक्रिया