×

वैदिक देवता इन्द्रको जात्रामा कुमारीको रथजात्रा थपेर थप रौणक दिएको

images

इन्द्रध्वज उठाएपछि जात्रा शुरु हुने र यसको बिसर्जन संगै जात्राको अन्त हुने परम्परा भएको जात्रा इन्द्रजात्रा हो भन्ने कुरा सर्वविदित छ । यही जात्रा अन्तर्गत जीवित देवी कुमारी, जीवित देवता गणेश र भैरवको समेत रथजात्रा पनि जोडिएको हुनु साथै लाखे सवभक्कु पुलुकिसि लगायत अनेकौं देवी देवताको मुखुण्डो नाचको संयोग रहेको जात्रा ले थप रमणीय र भव्य बनाइएको जात्रा इन्द्रजात्रा हो । वैदिक काल देखि अहिलेसम्म यस जात्राले अनेकौं काँचुली फेरे सोही क्रममा गौरवमय पक्षहरु धेरै जोडिए साथमा केही विसंगतिहरु पनि अनायास जोडिंदै आएको समेत देखिएकोले यही विषय सित सम्वन्धित भइ यो लेख तयार गर्न कोशिस गरिएको छ ।

 नेपालीहरुको महान चाड दशैंको पूर्वांगमा आएको जात्रा  इन्द्रजात्रा हो  भने चथा (गणेश चतुर्थी ) देखि नै महान चाड दशैंको पूर्वांग भएर आएको छ । किनभने दशैंमा उखु र अदुवाको बोट अनिवार्य रुपमा चाहिन्छ भने चथामा पनि चन्द्रमालाई चढाउन  अनिवार्य चाहिन्छ । भनाइ पनि छ कि चथा गडबड भएमा दशैं पनि गडबड हुन्छ  । त्यसैले चथालाई  विशेष गरेर नेवार समुदायले अति महत्वपूर्ण चाड भनेर हर्षोल्लाह पूर्वक मनाइन्छ । यसको तात्विक अर्थ बुझेर चाड मनाउनेहरुले यो चाड पुरुषतत्व प्रधान मानेको छ भने । गुंपुन्ही( श्रावणशुक्ल पूर्णिमा)को दिनलाई स्त्रीतत्व प्रधान चाड भनेर लिने गरेको छ । किनकि  गेडागुडीलाई भिजाएर पकाई नरम पौष्टिक तत्व ग्रहण गरिने भएर त्यतिवेलाको चाडलाई स्त्रीतत्व प्रधान भनेर मानेको देखिन्छ भने  चथामा त्यस्तै गरि  गेडागुडी भुटेर कडा खाद्य वस्तुको रुपमा ग्रहण गर्ने गरेको देखिन्छ । यसको लागि आरुको बियाँलाई बस्पति भनेर त्यस बस्पतिलाई  गेडागुडी संगै चन्द्रमालाई चढाइ प्रसाद ग्रहण गर्ने चलन भनेको पुरुषतत्वको प्रतिक प्रमाण भनेर स्पष्टिकरण गरेको देखिन्छ ।  स्वास्थ्यको दृष्टिले दशैमा मासु खाइने भएर त्योवेला मासु पचाउने तागत आएको हो कि होइन भनी जाँचेको प्रतिक पनि भन्ने गर्दछ ।  

खासमा इन्द्रजात्राको पूर्वांग चथा हो र दशैंको पूर्वांग चाही इन्द्रजात्रा भएकोले सम्पूर्ण आसुरी शक्तिको बिनास गर्न , असत्यमाथि सत्यको विजय हासिल हुने महान चाड दशै को पूर्वागमा अनेकौं देवीदेवता नाच जात्रा इन्द्रजात्रामा सम्पन्न भएको हो  । 

त्यसैले इन्द्रजात्राको शुरुवात नै चथा बाट हुने गर्छ किनकि चथा कै दिनमा भगवान इन्द्र स्वर्ग लोक बाट मत्र्यलोकमा आफनो आमालाई व्रत बस्न चाहिने पारिजातको फूल लिन  आएको र इन्द्रलाई देवता भनेर थाहा नभएर चोर भनी समातेर बाँधी राखेको भन्ने प्रशंग रहेको पाइन्छ  । वास्तवमा इन्द्र पनि सहकालको देवता भएकोले रोपाईमा रोपेको धान फल्यो कि फलेन , पानी पुग्यो कि पुगेन अव के चाहिन्छ भनेर सोध्न ओर्लेको इन्द्र भगवान हो । कथा अर्कै रचना गरेर इन्द्रजात्रामा इन्द्रको आमा दागींले  बाँधी राखेको इन्द्रलाई फुकाई कुहिरो लिएर आइ कुहिरो छोडेर इन्द्रलाई लगेको भनेर अर्कै कथा जोड्न ल्याएको भन्नेहरु पनि पाइन्छ । वास्तवमा यो कुरा वादविवाद गर्ने विषय होइन । 

वास्तवमा इन्द्रलाई्र वैदिककाल देखि कसैले वर्षा एवं सहकालको देवता,कसैले आयुर्वेदको देवता र कसैले युद्धको देवता भनेर मान्दै आएको छ । वर्षको बाह्र महिना मध्ये ञला इन्द्रको महिना हो । यही महिनासंग इन्द्रध्वजको कथा  जोडेर हेर्दा भगवान विष्णुले ध्वज दिइ त्यही मुनि रहेर युद्ध गरियो भने अवश्य तिम्रै विजय निश्चित छ भनी दिएको इन्द्रध्वज भनिएको छ । त्यसैले इन्द्रको देशमा इन्द्रज्वज (यसिं) खडा गरी आसुरी शक्तिबाट बचाएको प्रतिक स्वरुप कान्तिपुर पनि इन्द्रको देश यें भएकोले स्वर्गबाट भूमण्डलमा आएको क्रममा स्वर्गका सवै देवता आएर निवास गरेको संस्मरण स्वरुप चलेको जात्रा इन्द्रजात्रा भनी मानेको हो । 

चथा कै दिनमा भगवान गणेशलाई चन्द्रमाले खिस्सी गरेर जिस्काएकोले गणेश रिसाई चन्द्रमालाई लखेट्दा लुकेको हुंदा गणेशले चन्द्रमालाई श्राप दिए । यदि तँ बाहिर त आओस् तँलाई चोर आरोप लागोस्  भनेको र चन्द्रमा सधै लुकेर बस्न मिलेन तव गणेशलाई पूजा गरी त्यस दिन मात्र चन्द्रमा बाहिर निस्कन नमिल्ने भएको कथा छ  । त्यस कथा को आधारमा चथामा चन्द्रमालाई पूजा गर्दा चोर आरोप मिथ्या आरोप नलागोस् भनी कामना गरी  लुकाइ राखेको वस्तुको प्रतिकमा कुनै फल चढाएर पूजागर्ने गरेको विश्वास गर्दछन् । त्यही भएर चथाको दिनमा इन्द्रलाई चोर आरोप लागेको हो उक्त दिन चोरदेवता भनेर इन्द्रलाई चथाद्य भन्ने चलन चलेको हो भन्ने धारणा छ । त्यसर्थ चथा र इन्द्रजात्रालाई दशैको पूर्वांग भनिएको र यी चाड दशैसंग सोझै सम्वन्ध छ भन्ने कुरा प्रष्ट हुन्छ ।

चथा र इन्द्रजात्राको सम्वन्ध
 भाद्र शुक्ल चतुर्थी तिथिलाई गणेश उत्पत्ति भएको महान तिथि हो भनी यसलाई नेवार समुदायले चथा भनेर हर्षोल्लास पूर्वक मनाउने गर्दछ । यस दिन बिहान गणेशको धूमधाम पूजा हुन्छ भने बेलुका चन्द्रमाको धूमधाम पूजा हुन्छ । चन्द्रमा पूजागर्न उखु र अदुवाको बोट अनिवार्य चाहिन्छ । दशैमा पनि सवै देवता लाई पूजागर्न उखु र अदुवाको बोट अनिवार्य चाहिन्छ । यही दिन पारिजातको फूल टिप्न भनेर देवराज इन्द्र मत्र्यमण्डलमा ओर्लेको , पारिजातको फूल रुखबाट टिपेको देखेर इन्द्रलाई चोर भनेर समातेर बााधेर राखे  । त्यही भएर पारिजातको फूल रुखबाट टिप्नु हुंदैन केवल भुईंमा झरेको मात्र बटुल्न पाइन्छ भनिएको हो ।  चथा भन्नाले गणेश भगवानको पूजा हुने महान दिन चन्द्रमा पूजा हुने दिन मात्र होइन स्वर्गबाट देवराज इन्द्र धरतीमा ओर्लेको दिन भनेर प्रसिद्ध छ । इन्द्र ओर्ले पछि स्वर्गका अरु देवीदेवताहरु पनि ओर्ले , त्यो देखेर बाँधेर राखेको व्यक्ति त चोर होइन  वर्षाको देवता इन्द्र पो रहेछ भनी थाहा पाए पछि इन्द्रजात्रामा विभिन्न देवी देवता नाचने चलन चलेको हो । यसरी इन्द्र भगवान ओर्लेको ठाउं कान्तिपुरलाई इन्द्रको देश भनेर पछि यें कहलिन पुगेको हो भन्नेविश्वास पाइन्छ । पछि यही यें अलकापुरी कान्तिपुरी नगरी कहलिन पुगेको हो । 

यसरी इन्द्रजात्राको दिनको तिथि भाद्रशुक्ल चतुर्दशी भए पनि मुख्य जात्राको रुपमा भाद्र शुकल द्वादशी बाट शुरु भई आठ दिनसम्म हुन्छ । पहिलो दिन उपाकु ऊवनेगु दिन कहलिन्छ, त्यसपछि चतुर्दशीको दिन इन्द्रजात्रा त्यसदिन कुमारीको रथ ये कान्तिपुरको तल्लो भेकमा घुमाइन्छ । पूर्णिमाको दिन माथिल्लो भेकमा कुमारीको रथ घुमाइन्छ । पूर्णिमान्त महिना पद्धति अनुसार आश्विन कृष्ण चतुर्थी( अमान्तमानले यंला वदि चौथि को दिन नानिचा या भनेर यें शहरको मध्य भागको टोलमा कुमारी रथ घुमाइन्छ । यसरी इन्द्र जात्राको महिना भएकोले नेवारी भाषामा यस चान्द्रमासलाई यँला  भन्ने गर्छ । तसर्थ यँया भनेको इन्द्रजात्रा र यँला भनेको इन्द्रजात्राको महिना भन्ने गरिएको हो ।
इन्द्रजात्राको शुरुवात कहिले देखि भएको हो भन्ने सम्वन्धमा ठ्याक्कै योवेला देखि भन्न गाह्रो छ । तैपनि लिच्छविकालमा लि.सं ५२६ को लेलेको अभिलेखमा इन्द्रगोष्ठिक, ध्वजगोष्ठिकको उल्लेख आएको छ । १४ औं शताव्दिमा लेखिएको गोपालराज वंशावलीमा इन्द्रध्वजको उल्लेख आएको छ , भक्तपुर टौमढी टोलको नेसं ५६१ को अभिलेखमा इन्द्रजात्राको उल्लेख आएको छ । यी आधारबाट १४ औं शताव्दी देखि इन्द्रजात्राको प्रचलन भइसकेको कुरा पुष्टि हुन्छ । 

उपाकु ऊवनेगु
यसपाली २०८० सालको पंचांग पात्रो पल्टाएर हेरियो भने असोज ९ गते मंगलवार वामनद्वादशी,दहिदान, इन्द्रध्वजोत्थान(मत छोयके) ध.पं.प्रा १८ः५१ बजे,द्विपुष्कर ७ः४० देखि २३ः८ बजेसम्म भनी उल्लेख गरिएको छ । यहाँ मत छोयके भनेको उपाकुउलेगुलाई भनिएको हो । संयोगवस यसपाली विहान ७ः४० देखि बेलुका २३ः८ बजे सम्म नै द्वादशी तिथि परेको छ । कथंकदाचित गएको चथाको दिनजस्तै  असोज २ गते को दिन १०ः४९ सम्म चौथी त्यस उप्रान्त पंचमी परे जस्तै १०ः४९ सम्म द्वादशी त्यस उप्रान्त त्रयोदशी भनी दिएको भए के हुन्छ ? भनी प्रश्न गरियो भने समय हेर्नेहरुले ८ गते सोमबार कै दिन  मत छोयके गराइ दिन्छ । ८ गते इन्द्रध्वज उठाए कै हुंदैन  उपाकु उलेगु गराइ दिने हुन्छ । इन्द्रध्वज नउठाई इन्द्रजात्रा नै हुंदैन । यहाँ उदाहरण मात्र दिएको हो कुनै पनि चाडपर्व घडि हेरेर होइन सूर्याेदय हेरेर गरिन्छ । चाडपर्वको उदय सूर्योदय संगसंगै हुन्छ भने घडिको उदय रातको १२वजे उप्रान्त हुने हो । त्यसकारण घडिको उदय संग चाडपर्वको उदयको कुनै सामञ्जस्यता छैन भन्न खोजेको हो । 

उपाकु ऊवनेगु शव्दको  अर्थ अलि गुह्य छ । मृत आत्माको नाममा बत्ती बालेर क्षेत्र उघार्न जाने भनेको हो । द्वादशीबाट इन्द्र जात्रा शुरु भएको हुंदा स्वर्गका इन्द्र व्यापक रुपले अदृश्य भइ रहकोले आफना मृत आत्मालाई पुनः आफनो कूलमा जन्म लिन माग गरेको स्वरुप इन्द्रलाई देखाउने भाव हो । अतः उपा भनेको उपाङ्ग कु भनेको कुण्ड र ऊवनेगु उघार्न जानु यी सवैको संक्षिप्तमा उपाकु ऊवनेगु भनिएको हो । यस दिन टालटोलमा स्थानीय देवीदेवतालाई सम्हे चढाइ पूजा  गर्नुको अभिप्राय पनि यही नै हो । 

कुमारी रथयात्रा
कुमारी भनेको राज्यलक्ष्मी देवी हो । परापूर्वकाल देखि नै नेपालका राजाहरुलाई राज्यसत्ता कसरी चलाउने भन्ने विषयमा परामर्श दिन मानव रुपमा देवी भएर उनै देवी आएर भेट्न आउने गर्दथे । राजा महेन्द्र मल्लको पालामा उनका राजकुमारीले शंका उपशंका गरी चियो चर्चा गरेको थाहा पाएर राज्यलक्ष्मी अन्तध्र्यान भइ दिंदा राजाले अनेक विलाप गरेपछि देवीले अव उप्रान्त शाक्यकूलको कन्यालाई कुमारी बनाएर दर्शन गर्नु  भन्ने कथा किंवदन्ती प्राय सुनेर आएको हो । कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाश मल्ललाई एकदिन देवी राज्यलक्ष्मीले तिम्रो सत्ताको आयु सकिन लागेको छ भनी देवीले सपनामा देखाए । तव उनले राज्यलक्ष्मी थामी राज्य सत्ता अझै लम्ब्याउन अनेक उपाय गर्दा देवीको सन्मान स्वरुप इन्द्रजात्राको बेला कुमारीको रथयात्रा थप भव्य बनाउन राजा जय प्रकाश मल्लले रथजात्रा चलाए भन्ने किंवदन्ती पनि पाइन्छ । कुमाारीको रथ यात्रा पहिलो दिन इन्द्रजात्राको दिन दक्षिण भेकमा, भोलिपल्ट पूर्णिमाको दिनमा उत्तर भेकमा र अन्तिम दिन रानीको अनुरोधमा भित्री शहरमा रथ परिक्रमा गराउने गरियो । तव अन्तिम रथजात्रा रानीको अनुरोधमा गरेको हुनाले नानीचाया भनिएको भन्ने चलन छ ।   


इन्द्रजात्राको मुख्य दिन
भाद्र शुकल चतुर्दशीको दिन लाई अनन्त चतुर्दशी पनि भनिन्छ । यस दिन  कान्तिपुरमा भव्य इन्द्रजात्रा मनाइन्छ । तल्लो भेकमा कुमारीको रथ लगी सकेपछि इन्द्रको आमा दागीं निस्कन्छ दागीं संगै मृतकका परिवारजनहरु पछिपछि लाग्ने गर्छ, मृतात्मा कहाँ छन् भनी खोजेको प्रतीक स्वरुप १०८ वटा पाल्चामा बत्ती बाली निगालोको नाग बनाइृ बाँसमा बत्ती राखी कोलाहल कराइ (बौमत)घुमाउने गरिन्छ । वास्तवमा यी सवै मृतात्मालाई सदगति दिलाई पुनः आफनै कूलमा जन्म लिन पाउन भनी गरिएका संस्कार हुन् । यता कुमारीको रथ जात्रा चली रहन्छ भने दागींले आफनो छोरा बाँधी राखेको इन्द्रलाई  तुषारोले छोपेर मुक्त गराइ स्वर्ग लिएर जान्छ । दागीं संगै जानेहरु इन्द्रदहमा नुहाइ घर फर्कन्छ र दागीं चाहीं त्यहींबाट स्वर्ग प्रथान गर्छ भन्ने कथन रही आएको छ ।  

 येंया पुन्हीको दिन
चतुर्दशीको भोलीपल्टको पूर्णिमालाई येंया पुन्हि वंघःया पनि भनिन्छ । शहरको माथिल्लो भेकमा कुमारी रथ परिक्रमा गरी इन्द्रचोक ल्याइने हुंदा वंघया भनिएको हो । यस दिन हरेक घरघरमा इन्द्र भगवानलाई गुणानुस्मरण गरी दलूचामा बत्ती बाली पूजा गरी सम्हेबजी चढाइन्छ र एक घरले अरु घरका मानिसलाई सम्हे दिइ आदान प्रदान गर्ने चलन छ । यस दिन अरुले दिएको सम्हे थापेर खानु झन उत्तम भनी ला छकु वयेक सम्हे बजी भन्दै सम्हे माग्ने चलन छ । 


 

नानिचा याको दिन 
अमान्तमानबाट यँलागा चतुर्थी भन्छ भने पूर्णिमान्तले आश्विन कृष्ण चतुर्थी भन्छ ।   यस दिन कुमारीको रथ शहरको बीच टोल किलागलबाट परिक्रमा गराइन्छ  । यस दिन इन्द्रजात्रा समापन हुने दिन भएकोले यसिं(लिंगो) ढाल्ने काम पनि गरिन्छ । शहर परिक्रमा सकिए सकिए पछि राष्ट्र प्रमुख राजा लगायत उच्च पदाधिकारीहरु कुमारीको दर्शन गरी टिका ग्रहण गर्ने चलन छ । यो टिका ग्रहण गर्नुको अभिप्राय राज्यलक्ष्मी देवीसित राज्यसत्ता कसरी संचालन गर्ने भन्ने कुराको प्रतीक मानेको छ । यस दिन देखि इन्द्रजात्रा सकिन्छ ।  

विकृति विसंगतिका कुराहरु
इन्द्र भगवान वैदिककाल देखि वर्षा एवं सहकालको देवता मात्र होइन आयुर्वेदको देवता , युद्धको देवता साथै धर्मराज देवताको रुपमा पूज्य आराध्य देवता हो । अनेकौं दुष्प्रचारका कथाहरुको सहारामा चोर भनेर बाँधी राखेको र त्यसतो चोरलाई पनि देवता भनेर पूजा गर्ने जस्ता अफवाह पूर्ण प्रचार गर्नु , इन्द्रजात्रा भनेर इन्द्रको जात्रा नै होइन जस्ता प्रचार हुनु सवै अनास्था फैलाउने कुरा हो । शोकाकूल परिवार जनले आफना मृतात्मा भइसकेका हरुलाई फेरि आफनै कूलमा जन्म दिलाउन धर्मराज इन्द्रको आवाहन गर्ने समपूर्ण तेत्तिसकोटि देवता साक्षी भएर रहेको बेला भएको र स्वयं इन्द्र भगवान पदार्पन भइरेहेको पावन दिनको संस्मरण गर्ने इन्द्रजात्रालाई अनास्था को प्रचार नगरुन । इन्द्र ध्वजोत्थान नै नहुंदै घडिपलाको कुरा ल्याएर  उपाकु ऊवनेगु जस्ता कृया कलाप नगराइ दिउन भन्न सकिन्छ ।   
 

निष्कर्ष
इन्द्रजात्रा भनेको जति गणेश चतुर्थीमा सुखद बातावारणमा चाड मनाउछौं त्यो भन्दा बढी सुखद बातावरण यसले दिन्छ भने इन्द्रजात्रा भन्दा पनि चौगुणा सुखद बातावरणमा महान चाड दशैंले दिन्छ । संपूर्ण पितृ देवता खुसी भइ सवैको सुस्वास्थ्य दीर्घायु को कामना गर्ने शुभ अवसरको चाड भनेर इन्द्रजात्रालाई मनन गर्न सकियोस् ।   

घडिपलाको अवधारणा पितृकार्यको बेलामा मात्र अकार्षित गरायुन् । चाडपर्वको बेलामा घडिपलाको अवधारणा ल्याई अलमल्याउने कार्य कसैले नगरुन् । प्रत्यक्ष प्रमाणले घडिपला जहिले पनि रातको १२ बजे उप्रान्त गते र बार फेरिन्छ भने तिथि भनेको सूर्योदय हुंदा सूर्यले जे तिथि बोक्यो अर्को सूर्योदय नभएसम्म त्यही तिथि कायेम हुने परम्परालाई अपनाउंदै जानु अहिलकोे समयमा नितान्त जरुरी भइरहेको छ । घडिपलाको अवधारणा ल्याएर चाडपर्व संस्कार सवै दूर्गति हुंदै गएको महशूस भइ आएको छ । चाडपर्वको संस्कार सवै सूर्योदय समय सित मात्र जोडिएको छ घडिपला संग होइन भन्ने कुरा मनन गरौ जति इन्द्रजात्राको महत्व छ अरु चाडपर्वको पनि उत्तिकै महत्वपूर्ण छ । 

(लेखक संस्कृतिविद्  हुनुहुन्छ)

शुक्रबार​ १२ असोज २०८० १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया