×

‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

images

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताउनुभएको छ । बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उहाँले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिनुभयो । पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले के गर्नुपर्छ त्यसका लागि कुनै कन्जुस्याइँ हुनेछैन”, उहाँले भन्नुभयो, “त्यसका लागि किसान जागरुक बन्न आवश्यक छ ।” प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्र्याक्टर अनुदानमा प्रदान गरिएको हो । प्रदेश सरकार कृषि मन्त्रालयबाट रु २४ लाखको लागतमा उक्त ट्र्याक्टर प्रदान गरिएको हो ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले पहाडी भागमा सुन्तला तथा कागती खेती गरी पाखाटारमा लिफ्टिङको व्यवस्था गरी सिँचाइ गर्न सकिए मात्रै कृषि क्षेत्रमा फड्को मार्न सकिने बताउनुभयो । उक्त समूहमा एक सयभन्दा बढी सदस्य आबद्ध रहेको समूहकी अध्यक्ष अञ्जु श्रेष्ठले जानकारी दिनुभयो । प्राप्त भएको ट्र्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उहाँले बताउनुभयो ।

बुधबार १५ असार २०७९ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया