×

हमासका कमान्डर रकाबा मारिएको दाबी

images


काठमाडौं । इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमान्डर असिम अबु रकाबा मारिएको दाबी गरेको छ । हमासका वायु सेना प्रमुख असिमले गएकाे अक्टाेबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएकाे इजरायलकाे दाबी छ । उनकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल पसेका थिए । यी कमान्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएकाे छ ।

इजरायली रक्षा बलले सामाजिक सञ्जालमा लेखेकाे छ, ‘गएकाे रातकाे लडाइँका क्रममा आईडीएफकाे लडाकु विमानले हमासलाई हवाई आक्रमणकाे निर्देशन दिने असिम अबु रकाबामाथि आक्रमण गरी मारेकाे छ ।’ ‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्शन र रक्षाका लागि जिम्मेवार थिए’, इजरायली रक्षा बलकाे पोस्टमा भनिएको छ ।

इजरायल र हमासबीच जारी युद्धकाे तेस्राे हप्ता बितिसकेकाे छ । हमासले इजरायलमाथि गएकाे अक्टाेबर ७ मा आक्रमण गरेकाे थियाे । याे आक्रमणमा इजरायलका एक हजार चार सय नागरिककाे ज्यान गएकाे थियाे । यस्तै इजरायली आक्रमणमा गाजा पट्टीमा अहिलेसम्म सात हजार जनाभन्दा धेरैकाे ज्यान गइसकेकाे खबरमा उल्लेख छ ।

शनिबार ११ कात्तिक २०८० ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया