×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सरकार, दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक बोलाएकी छन् । उनले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बुधबार बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा जेनजीका विभिन्न समुहसहित राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ । यस अघि प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते गरेको राजनीतिक दलसँग गरेको छलफलमा अर्को छलफल जेनजीका प्रतिनिधिलाई राखेर गर्ने बताएकी थिइन् ।

२- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण नेपालका कोशी, मधेश र बागमती प्रदेशमा असर देखिने बताएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको प्राधिकरणले जानकारी दिएको छ ।  उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रभावित हुनेमा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला रहेका छन् भने मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्ला रहेका छन् । त्यस्तै बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्ला रहेको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै मौसम विभागका अनुसार कोशी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको छ ।

३- मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा गएरातीदेखि परेको हिउँको कारण आउनसक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई सचेत गरानुकोसाथै सावधानी अपनाउन अनुरोध गरिएको छ । मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गएराति देखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित यात्रा र  सावधानी अपनाउन अनुरोध गरेको छ । सो टोलीले यात्रुहरुको सहजताको लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्य समेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ । त्यस्तै असोज ११ गते रातीदेखि हिमाली भेगका केही जिल्लाहरुमा परेको हिउँका कारण फसेका व्यक्तिहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तर गरेको छ । हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङ्गको तिलिचो बेश क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षितकासाथ ल्याईएको छ भने ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाईएको छ । त्यसैगरी काठमाडौ महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाईलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ । तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासी लेक लागी वेहोस भएपश्चात सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो ।

४- चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए । 'हालसम्म हाम्रो चलचित्रले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ,' निर्माता तामाङले भने, 'अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो चलचित्र चलिरहेको छ ।' भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले जानकारी दिए । 'रगतको मात्रै होइन भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश दर्शकले निकै धेरै मन पराइरहनु भएको छ,' निर्माता तामाङले भने, 'स्थानीय स्रोतसाधनको दोहन र लभस्टोरी पनि मन पराइदिनु भएको छ ।' दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरेको पनि दर्शकले खुलेर तारिफ गरिरहेको उनले बताए ।   चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

५-  भारतमा यात्रुवाहक विमान निर्माण गर्ने गरि एक सम्झौता भएको छ । हिन्दुस्तान एरोनटिक्स लिमिटेड र रुसी सार्वजनिक संयुक्त स्टक कम्पनी युनाइटेड एयरक्राफ्ट कर्पोरेशनले एसजे- १०० यात्रुवाहक विमानको उत्पादनको लागि एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । रूसको राजधानी मस्कोमा सम्झौतामा हस्ताक्षर भएको थियो । हिन्दुस्तान एरोनटिक्स लिमिटेडले यस बारेमा जानकारी दिदै भनेको छ- एसजे-१०० दुई इन्जिन भएको, सानो आकारको विमान हो । अहिलेसम्म २०० भन्दा बढी विमानहरू निर्माण भइसकेका छन् र १६ भन्दा बढी एयरलाइन्सहरूद्वारा सञ्चालित छन् । एसजे-१०० भारतमा उडान योजना अन्तर्गत छोटो दूरीको उडानहरूको लागि खेल-परिवर्तक हुनेछ । यस सम्झौता अन्तर्गत, हिन्दुस्तान एरोनटिक्सलाई घरेलु यात्रुहरूका लागि एसजे-१०० विमान निर्माण गर्ने अधिकार हुनेछ ।' हिन्दुस्तान एरोनटिक्सले यो भारतमा पहिलो पटक हुनेछ जब यात्रुवाहक विमान पूर्ण रूपमा देशमा निर्माण गरिनेछ । यसअघि, हिन्दुस्तान एरोनटिक्सले १९६१ मा एभीआरओ एचएस-७४८ विमान निर्माण गर्न थालेको थियो तर १९८८ मा यसको उत्पादन बन्द गरिएको थियो ।

६- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभा अन्तर्गत बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना बारे सभाको विषयगत सत्रमा विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश) का लागि मार्गचित्र विषयमा मुख्य-विशेष वक्ताको रुपमा सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोतको रुपमा रहेको बताएका छन् । उनले नेपालको जलविद्युत यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्वपूर्ण स्रोत रहेको उल्लेख गरे । मन्त्री घिसिङले नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै भने- ' जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धकासाथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु—नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।’जलविद्युत उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन रहेको उल्लेख गर्दै घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रुपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माणका काम भइरहेको बताए ।  झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले उल्लेख गरे ।

७-  भारतको राजधानी दिल्लीमा पहिलो क्लाउड सिडिङ परीक्षण गरिएको छ । कानपुरबाट आएको विमानले आज बुरारी र करोल बाग क्षेत्रमा क्लाउड सिडिङ गरेको छ । दिल्लीको बुरारी र करोल बाग क्षेत्रहरूसहित दिल्लीका केही भागहरूमा पहिलो क्लाउड-सिडिङ परीक्षण गरिएको छ । अब वर्षाको प्रतीक्षा छ । विमान कानपुरबाट दिल्ली उडेको थियो र यो परीक्षण गरिएको थियो । वायु प्रदूषणसँग लड्न कृत्रिम वर्षा सिर्जना गर्ने उद्देश्यले यो परीक्षण गरिएको थियो । यो जाडो महिनाहरूमा बिग्रँदै गएको वायु गुणस्तर कम गर्ने दिल्ली सरकारको व्यापक रणनीतिको एक हिस्सा भएको बताइएको छ । गत हप्ता बुरारीमाथि परीक्षण उडान गरिएको थियो । परीक्षणको क्रममा, कृत्रिम वर्षा गराउन प्रयोग गरिने थोरै मात्रामा सिल्भर आयोडाइड र सोडियम क्लोराइड यौगिकहरू विमानबाट निस्किएका थिए । यद्यपि, बादल सिडिङको लागि सामान्यतया आवश्यक पर्ने ५० प्रतिशतको तुलनामा २० प्रतिशतभन्दा कम वायुमण्डलीय आर्द्रताका कारण वर्षा हुन सकेन । दिल्लीका वातावरणमन्त्री मनजिंदर सिंह सिरसाले परीक्षणको बारेमा जानकारी दिँदै आठ ज्वालामुखी निस्किएको बताए । परीक्षण दिल्लीको आकाशमा आधा घण्टासम्म चल्यो । उनले आईआईटी-कानपुरले क्लाउड-सिडिङ परीक्षणको १५ मिनेटदेखि चार घण्टाभित्र पानी पर्न सक्ने बताएको छ । आज पछि बाहिरी दिल्लीमा दोस्रो परीक्षण गरिनेछ । आगामी केही दिनहरूमा ९-१० परीक्षणहरूको योजना छ । बुराडीमा पहिले परीक्षण उडान गरिएको थियो । सिल्भर आयोडाइड र नुन छोडिएको थियो, तर हावामा आर्द्रता २० मात्र मात्र थियो, जसले गर्दा वर्षा भएन । मौसम विभागले अक्टोबर २८ देखि ३० सम्म बादल राम्रो रहन सक्ने बताएको छ । दिल्ली सरकारले मौसम अनुकूल रह्यो भने, अक्टोबर २९ मा दिल्लीमा पहिलो कृत्रिम वर्षा हुन सक्ने बताएको छ । 

८- एरिका गुरुङले कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन् । एरिका नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपको व्यक्तिगत विधामा छनौट भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । 

९-  राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । सचिव अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।  राष्ट्रपतिको कार्यालयले भनेको छ: राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागु हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ । 

१०- नेप्सेमा आज हरियाली छाएको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेर रोकिएको छ । आज ३१४ कम्पनिका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ मा कारोबार भएको थियो । आज ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावरको शेयरमा ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज हिमालयन पावरको शेयर ६.३६  प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको २४ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २३ करोड २२ बराबरको कारोबार भएको छ ।

११- जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या गरेको अभियोग लागेका व्यक्तिले अदालतमा आफ्नो दोष स्वीकार गरेका छन् । तीन वर्षअघि आबेको दिनदहाडै हत्या गरिएको थियो । उक्त हत्याले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको थियो । अभियुक्त ४५ वर्षीय तेत्सुया यामागामीलाई हत्या र हतियार नियन्त्रण कानून उल्लङ्घनको आरोप लगाइएको थियो । जुलाई २०२२ मा भाषण दिइरहेको बेला आबेको हत्या गर्न हस्तनिर्मित हतियार प्रयोग गरेको आरोप लगाइएको छ । यामागामीले अदालतमा आफुले आबेको हत्या गरेको सत्य भएको बताएका छन् । यामागामीलाई २०२२ को चुनावी भाषणको क्रममा आबेलाई हस्तनिर्मित बन्दुकले गोली हानेको आरोप लगाइएको छ । उनले कोरियाली युद्धको एक वर्षपछि १९५३ मा दक्षिण कोरियामा गठन भएको एकीकरण चर्चसँग रिसाएका कारण आबेलाई आक्रमण गरेको बताएका छन् । यामागामी विश्वास गर्थे, यो चर्चको आबे र अन्य जापानी नेताहरूसँग घनिष्ठ सम्बन्ध छ । उनले अधिकारीहरूलाई भने, उनकी आमाले चर्चलाई ठूलो रकम दान गरेकी थिइन्, जसले गर्दा उनको परिवार आर्थिक रूपमा बर्बाद भएको थियो ।

१२-  सिन्धुलीको सुनकोसी गाउँपालिका-६ चैनपुरमा कार दुर्घटनामा परेको छ ।  मङ्गलवार बिहान कार सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  दुर्घटनामा परि मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनको पत्नी ४९ वर्षीय सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको र उपचारको क्रममा ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले बताएको छ । उनकी पत्नीको अवस्था गम्भीर रहेको छ भने छोरा निशान्तको थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार ओम बहादुर आफैले चलाएका थिए ।

१३- नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ । मंगलबार सम्पन्न पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २९-२७  ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै  प्रतिष्पर्धात्मक तेस्रो सेटमाल्दिभ्सले ३७-३५ ले जितेको थियो भने चौथो सेट नेपालले २५-१९ ले जितेको थियो । यो जितपछि नेपाल ६ देश खेलेको प्रतियोगितामा पाँचौं भएको छ भने माल्दिभ्स छैटौं भएको छ । लिग चरणमा नेपाल तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग पराजित भएको छ । 

१४- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले 'कम्युनिष्ट पार्टी नेपाल' नामक दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । मंगलबार नेकपाका प्रवक्ता प्रकाण्डसहित आयोगमा पुगेका नेताहरुले 'कम्युनिष्ट पार्टी नेपाल' दल दर्ताको निवेदन दिएका हुन् । प्रकाण्डले जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै फागुन २१ को निर्वाचनमा भएका जटिलताका बिचमा आफुहरु दल दर्ता गर्न आएको बताएका छन् । उनले देश र जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर आफुहरु आयोगमा दल दर्ता आएको बताए । प्रकाण्डले आफुहरु आयोगमा आएर दल दर्ता गर्ने प्रक्रियामा आउनु ऐतिहासिक भएको बताउदै यसले निर्वाचन समयमा हुने र देशमा चुनावको माहोल बन्ने दाबि पनि गरेका छन् । 

१५- ठुलो हिमपात भएपछि शुक्रबार बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेसक्याम्पमा हाल हिमपात शुरु भइसकेको जानकारी दिदै शुक्रबार बेलुकासम्म त्यसतर्फ जान रोक लगाइएको जानकारी दिएको हो । अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा अहिले ठुलो हिमपात परेको र केहि पर्यटक रोकिएको भन्दै त्यसतर्फ सुरक्षाकर्मी परिचालन समेत गरिएको बताइएको छ । प्रशासनले भने म्याग्दी जिल्लास्थित उच्च पहाडी तथा हिमाली भेग हिमपात हुने संभावित क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, म्याग्दी जिल्लाका पर्यटकीय स्थल (अन्नपुर्ण वेशक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरी पदमार्ग, मोहरेडाँडा आदी) लगायतमा पदयात्राको लागि आवातजावत गर्ने पर्यटक तथा पर्यटन व्यवसायी र पदयात्रीहरू साथै काम विशेषले त्यस क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी नागरिकहरू सबैले आफु रहेको एवम् यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था, बसोबासको व्यवस्था ख्याल गरी सुरक्षित भई बस्न तथा यात्रा तय गर्न अनुरोध गरको छ ।

१६- मनाङ प्रशासनले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ । बुधबार बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडि तथा हिमाली भू-भागमा वर्षा तथा भारि हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न जिल्ला सुरक्षा समिति मनाङले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले भनेको छ :  जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मनसुन बुलेटिन अनुसार २०८२-०७-१० गते राति देखि २०८२-०७-१२ गते बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडि तथा हिमाली भू-भागमा वर्षा तथा भारि हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न/नगराउनुहुन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुमा हार्दिक अनुरोध गर्दछ । साथै, पर्यटकहरुलाई आफु बसकै स्थानमा सुरक्षित बस्नुहुन तथा यस जिल्लामा तत्कालको लागि पदयात्रा / हिमाल आरोहणका लागि ननिस्किनुहुन समेत सबैमा अनुरोध छ ।

१७-  नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २ हजार ९ सयले घटेर तोलाको २ लाख ३७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।

१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई सम्झौतामा एउटाले अमेरिका-जापान सम्बन्धको नयाँ 'स्वर्ण युग' को सुरुवात गर्ने भनिएको छ भने दोस्रोले महत्वपूर्ण खनिजहरूसँग सम्बन्धित सम्झौता रहेको छ । दुपहिलो सम्झौता दुई लामो समयदेखिका सहयोगीहरू बीचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ, जबकि दोस्रो, महत्वपूर्ण खनिज सम्झौताले दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्नको लागि रूपरेखा प्रदान गरेको रिपोर्टमा उल्लेख छ । हस्ताक्षर गरेपछि, राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगीको रूपमा प्रशंसा गरे र देशको पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको पनि प्रशंसा गरेका छन् । ट्रम्प र ताकायचीबीच भएको व्यापार सम्झौता अन्तर्गत, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने सम्झौता भएको छ । बदलामा, अमेरिकाले जापानी निर्यातमा १५ प्रतिशत कर लगाउनेछ । दुर्लभ पृथ्वी खनिजसम्बन्धी सम्झौताले इलेक्ट्रोनिक्सका लागि आवश्यक खनिजहरूको आपूर्ति श्रृंखलालाई बलियो बनाउने लक्ष्य राखेको छ । यो कदमले जापानको रक्षा खर्च बढाउन ट्रम्पमाथि दबाब कम गर्न सक्छ भन्ने विश्वास गरिएको छ । ट्रम्पले जापानले आफ्नो सेनामा बढी पैसा खर्च गरोस् भन्ने चाहन्छन् । ताकायचीले पहिले जापानले आफ्नो रक्षा बजेट देशको जीडीपीको २ प्रतिशतसम्म बढाउने बताएकी छन् । बैठकको क्रममा, ट्रम्प र ताकायचीले स्वर्गीय जापानी प्रधानमन्त्री शिन्जो आबेलाई पनि सम्झेका थिए ।

१९- मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन् भने हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले रातको समयबाट बर्षातसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात परेको जानकारी दिदै उक्त क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले सतर्कता अपनाई यात्रा गर्न आग्रह गरको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध गरेको छ । यसअघि पनि मुस्ताङ प्रशासनले पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गर्दै बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो । मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ। त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नु/नगराउन अनुरोध गरिएको छ । सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।

२०-  नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने गरि बोलाइएको हो । पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनको तयारी बारे छलफल गर्ने र निर्णयहरु लिने तयारी छ । एमालेको ११औं महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय यस अघि बसेको केन्द्रिय कमिटी बैठकले गरिसकेको छ । बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय जस्ता एजेण्डामा छलफल र निर्णय गर्ने बताइएको छ ।

मङ्गलबार १२ कात्तिक २०८२ ०८:४२ PM मा प्रकाशित

प्रतिक्रिया