×

‘विद्यार्थी सङ्गठन नै तालाबन्दी, धम्की र चन्दा असुलीमा लाग्दा काम गर्ने वातावरण रहेन’

images

 त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नभएको बताउनुभएको छ । 

विश्वविद्यालयले आज आइतवार गरेको पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको निरन्तर आन्दोलन, तालाबन्दी र धम्कीले शिक्षक र कर्मचारीमा त्रास पैदा भएको बताउनुभएको हो । उहाँले काम गर्ने वातावरण नहुँदा विश्वविद्यालयले सम्पादन गर्नुपर्ने काम समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको पनि बताउनुभयो ।  

उपकुलपति बाँस्कोटाले पछिल्लो समय विद्यार्थी विदेशिने क्रम बढिरहेको उल्लेख गर्नुभयो । विभिन्न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा तीन सय दिनभन्दा धेरै तालाबन्दी भइसकेको भन्दै उहाँले विश्वविद्यालयमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाउने काम भइरहेको पनि गुनासो गर्नुभयो । बाँस्कोटाले विश्वविद्यालयमा एउटा विद्यार्थी समूह निरन्तर तालाबन्दी, धम्की र तोडफोडमा संलग्न रहेको समेत बताउनुभयो ।  

उपकुलपतिको कुर्सी जलाउने, कार्यालय र बैंकमा तोडफोड गर्ने, तालबन्दी खोल्नुपर्छ भन्दा उल्टै उपप्राध्यापकमाथि कुटपिट गर्ने समूहले नै त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेर प्राध्यापकको पदोन्नति रोकेको पनि बताउनुभयाे । 

आइतबार​ १२ भदौ २०७९ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया