×

पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

images

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन्। रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ।

खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए। ‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए।

रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेर प्रधानमन्त्री टुंग्याउने उनको भनाइ छ ।


 

आइतबार​ ११ मंसिर २०७९ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया