×

लोसपाको माओवादी सिको- पार्टीमा योगदान पुर्‍याउने नेता पाखा, आफन्त काखा ! 

images

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठनको दुई वर्ष पूरापूर भएको छ । त्यसयता उसले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको थिएन । तीन दिनअघि लोसपाले केन्द्रीय समितिलाई पूर्णता दिएको हो । 

लोसपा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति नै परिवारवादमा परिणत गरेका छन् । नेकपा (माओवादी केन्द्र)मा परिवारवाद हाबी भएको भन्दै चौतर्फी आलोचना हुँदै गर्दा ठीक त्यसरी नै लोसपामा पनि अध्यक्ष ठाकुरले पार्टीमा आफ्नो परिवार, साख, सन्तानलाई केन्द्रीय समितिमा अटाएका छन् । 

लोसपाका शीर्ष नेताहरूले केन्द्रीय समितिमा आफ्ना आफन्त र नजिकका नातेदारहरूलाई पदाधिकारीको जिम्मेवारी दिएका छन् । अध्यक्ष ठाकुरले केन्द्रीय समितिमा आफ्ना सम्धी, सम्धिनीलाई पदाधिकारीमा चयन गरेका छन् । 

उनले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई केन्द्रीय सदस्यमा चयन गरेका छन् भने सम्धी उमाकान्त झालाई पार्टी बरिष्ठ उपाध्यक्षमा चयन गरेका हुन् । त्यस्तै सम्धिनी इन्द्रा झालाई पनि उपाध्यक्षको जिम्मेवारी दिएका छन् । उमाकान्तका आफ्नै भतिजा डा.सन्दीप झालाई भने सचिवमा चयन गरेका छन् । 

त्यसैगरी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पनि आफ्ना दुई नातेदारलाई केन्द्रीय पदाधिकारीमा अटाएका छन् । उनले आफ्ना ज्वाइँ अनिल महासेठ र भतिज उपेन्द्र महतोलाई महासचिवको जिम्मेवारी दिएका छन् । 

अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले पनि श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पदको जिम्मेवारी दिएका छन् भने छोरी सृष्टिसिंह भण्डारीलाई सचिवमा चयन गरेका छन् । पार्टीका नेता प्रदीपनारायण यादव वरिष्ठ उपाध्यक्ष र छोरा देवेन्द्र महासचिवमा चयन गराएका छन् । 

लोसपाले केन्द्रीय समितिलाई पूर्णता दिएसँगै ३११ सदस्य चयन भएका छन् । पदाधिकारीको संख्या भने ६३ रहेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिलकुमार झा बनेका छन् । 

सर्वेन्द्रनाथ शुक्ला वरिष्ठ सहअध्यक्षसँगै ६ जना वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद सोनाल, उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद साह, निर्जला राउत र प्रदीपनारायण यादव रहेका छन् । 

१५ जनाले उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने कार्यकारी महासचिव १६ जना तोकिएका छन् । ८ जना सहमहासचिव, ११ जना सचिव, १ जना सहकोषाध्यक्ष र १ जनालाई प्रवक्तामा चयन गरिएको छ । ६३ जनाको पदाधिकारी टिम नै पार्टी केन्द्रीय कार्यकारिणी समितिमा रहने बताइएको छ । 

लोसपा पार्टी विधानमा ६५ सदस्यीय कार्यकारिणी समिति रहने व्यवस्था गरिएको छ भने यो पटक ६३ जना चयन गरिएको छ । विधानमा व्यवस्था भए अनुसार ४०१ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् भने पनि अहिले ३११ जनालाई मात्रै जिम्मेवारी तोकिएको छ । बाँकी थप गर्दै जाने लोसपाले बताएको छ । 

लोसपाको संघमा ४ र मधेश प्रदेशमा ९ सिटमात्रै जितेको छ भने लुम्बिनी प्रदेशमा ३ सिट जितेको छ । गत निर्वाचनमा लजास्पद हार व्यहोरेको लोसपा राष्ट्रिय पार्टी बन्नबाट पनि बञ्चित भएको छ । 

लोसपामा परिवारवाद हाबी भएकै हो भन्ने प्रश्नमा वरिष्ठ नेता राजेन्द्र महतो भन्छन्– ‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम नै केन्द्रीय समितिलाई विस्तार गरिएको हो । यसमा परिवार, आफन्त, नातागोता भन्दा पनि पार्टीमा योगदान दिनुभएका नेताहरूलाई केन्द्रीय समितिमा निर्वाचित गरिएको हो ।’

जनता समाजवादी पार्टी (जसपा)बाट लोसपा २०७८ भदौमा विभाजित भएको थियो । विभाजन भएर लोसपा गठन भएको झन्डै दुई वर्षसम्म पनि केन्द्रीय समिति विस्तार हुन सकेको थिएन । 

उक्त समिति गठन नभएको भन्दै राजनीतिक वृत्तमा लोसपा र अध्यक्ष महन्थ ठाकुरको चौतर्फी आलोचना भएको थियो । पार्टीभित्रै पनि ठाकुरमाथि दबाब परेको थियो । केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको भन्दै नेताहरूले अध्यक्षलाई दबाब दिएका थिए । 

दबाब सहन नसकेर ठाकुरले सोमबार पार्टीको बैठक बोलाएर केन्द्रीय समिति विस्तार गरेको नेताहरूले बताएका छन् । उनीहरूले केन्द्रीय सदस्य चयनमा अध्यक्षले त्रुटिपूर्ण कार्य गरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

पार्टीमा लामो सयमदेखि संघर्ष, बलिदान र योगदान दिँदै आएका योग्य नेतालाई पाखा लगाएर परिवार, आफन्त र नाता–गोतालाई काखी च्यापेको आरोप लगाएका छन् । 

यद्यपि केन्द्रीय समितिमा अटाएका अधिकांश नेताहरूले कमिटी त्रुटिपूर्ण भए पनि आफूहरू पार्टीकै निम्ति लामो सयमदेखि लागि पर्दै आएको बताएका छन् । उनीहरूले पार्टीको अबको मिशन– २०८४ भएको बताएका छन् । 

जसका लागि आफूहरू आजैका दिनदेखि मधेस तथा अन्य प्रदेशमा पनि पार्टीको सांगठानिक संरचना निर्माण गर्नेतर्फ लाग्ने बताएका छन् । केही नेताहरूले यो पटकको केन्द्रीय कमिटीमा केही त्रुटि भए पनि आगामी महाधिवेशनबाट सच्याउने बताएका छन् ।


 

बुधबार १० असोज २०८० ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया