×

यस्तो परिवर्तन होला भनेर सोचेकै थिएनौँ’

images

कञ्चनपुर-  शुक्लाफाँटा नगरपालिका–१० झलारीका हरुवा (हरि) कामीको उमेर ९० वर्ष पूरा हुँदैछ । पुख्र्यौंली थातथलो डडेल्धुराबाट तराई(कञ्चनपुर) झरेको झण्डै ७० वर्ष पूरा हुनै लाग्यो ।
 
विगतको तुलनामा तराईमा निकै परिवर्तन भएकामा उहाँ निकै खुसी देखिनु हुन्छ । पहिला तराई पहाड गर्नका लागि आजको जस्तो सवारीका साधन थिएनन् । हिँड्नु पर्दथ्यो । 

आठ दिनमा गाईगोरु, भैँसी र परिवारसँगै ठाउँठाउँमा बास बस्दै तराई पुगिन्थ्यो । दशैँको टीका थापेर पहाडबाट तराई झर्नेको लर्को लाग्थ्यो । गर्मी सुरु हुनै आँटेपछि बस्तुभाउ र परिवारसहित पहाडतर्फ जाने हतार हुन्थ्यो ।
 
तराईमा गर्मी सुरु भएपछि औँलोको प्रकोपले धेरैको ज्यान जान्थ्यो । “घाम लाग्यो भन्थे । एकै दिनका ज्वरोले गाउँ नै सखाप हुन्थ्यो”, कामीले भन्नुभयो, “ती दिन सम्झँदा तराईमा बस्न कसरी सकिएको होला भनेर मनमनै निकै सोचमा पर्ने गरेको छु ।” अहिलेको जस्तो खानेपानीको व्यवस्था थिएन । खोलाको पानी पिउनु पर्दथ्यो । 
 
साना जमिन्दार लहडुमा चढ्थे । ठूला जमिन्दाका घरमा हात्ती पालिएका हुन्थ्यो । त्यसमै ओहरदोहर गर्दथे । गाउँमा जमिन्दारकै बोलबाला हुने गर्दथ्यो । २५ बिघा जग्गा कमाउने जमिन्दारलाई मालपोतमा त्यसबेला पाँच बिघा जग्गाको मालपोत छुट दिइन्थ्यो । 

“जसको जोत उसकै पोतको व्यवस्था त्यसबेला थियो”, उहाँले भन्नुभयो, “जति जग्गा कमाउन सके पनि पाइन्थ्यो । पहाडमा परिवार पाल्न असहज थियो । त्यही भएर १२ वर्षको उमेरमै गाउँकै माल झर्नेसँग आए । पहाडमा जस्तै पर्खौंदेखि गर्दै आएको आफर(आरन)को काम गरुला, भाँडा पिटेर खाउला भनेर आए ।”
 
सुरुका दिन निकै कष्टररुपमा बिताइयो । पछि बस्न अभ्यस्त भइयो । सुरुमा आरनको काम गरे । तीन हजार रकम जम्मा गरी १२ बिघा जग्गा जोडेको उहाँ बताउनुहुन्छ ।

“जातीय विभेद चरमरुपमा हुन्थ्यो त्यो बेला । उहाँले भन्नुभयो, “आजभोलि त्यो पुरानो व्यवस्थामा निकै परिवर्तन भएको छ । दलित समुदायका व्यक्तिले निर्धक्कसँग व्यवसाय र एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छन् । छुवाछूत पहिला जस्तो छैन ।”
 
अहिले त ठाउँठाउँमा प्रहरी चौकी छन् । त्यस बेला जिल्ला समदरमुकाम बेलौरीमा मात्रै प्रहरी बस्ने गर्दथे । तराईमा बाह्र महिना राना समुदायका व्यक्ति परम्परागत माटो र काठबाट बनेका घरमा बस्ने गर्दथे । केही काठैकाठ र खप्टा(टायल) लगायतका घरसमेत हुन्थे । पहाडबाट झर्नेमध्ये धेरैले राना समुदायको ढिकीमा धान कुट्ने गर्दथे । त्यसबाटै आफ्नो र परिवारको खर्च चलाउथे । केहीले कपडाको व्यापार गर्दथे । “फलामका औजार बनाउने, त्यसमा धार लगाउने कार्य गर्ने २४ गाउँको म मात्रै एक्लो थिए”, उहाँले भन्नुभयो, “खलोमा काम गर्दथे । एक सिजनको ४० बोरी अन्न सङ्कलन हुन्थ्यो ।”
 
सिजनअनुसार धान, मकै, गहुँ, लाही (तोरी)को अधिक खेती हुन्थ्यो । दलहनका रुपमा मटर, चना, मसुरोकोसमेत उत्तिकै खेती हुन्थ्यो । खलोका रुपमा उठ्ने अन्नबाट त्यसबेला १२ बिघा जग्गा किनेको हुँ ।” पिठयुँमा खलोबापत पाइने अन्न बोक्न नसकेर घोडा खरिद गरी त्यसमै बोक्ने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँले विगत सम्झँदै भन्नुभयो,  “छिटुवा धान छर्ने चलन थियो । खेतमा खनजोत नगरिकनै धान छरिन्थ्यो । आजको रोपाई गरेकोभन्दा राम्रो धान फल्ने गर्दथ्यो । पछि थोरै खनजोत गरेर जरै(धानको जरा उमारेर) बनाएर धान छर्न थालियो ।”
 
औलो उन्मूलन गर्नका लागि कार्य अगाडि बढाइन थालेपछि पहाडबाट झरेर तराईमा बस्न थाले । उहाँका अनुसार विसं २००५ देखि पहाडी समुदायका व्यक्ति फाट्टफुट्टरुपमा तराईमा बाह्रै महिना बस्न थालेका हुन् । औलो नियन्त्रणका लागि त्यति बेला डिटी पाउडर छर्कने गरिन्थ्यो । पहाडी समुदायका व्यक्ति स्थायीरुपमा बस्न थालेपछि रोपाइँको चलन चलेको हो । 

घरमै पालेका गाईगोरुको मलमूत्र मलका रुपमा प्रयोग हुन्थ्यो । हाल जस्तो रासायनिक मल हाल्ने चलन थिएन । 
 
बिरामी परे उपचारका लागि भारतको टनकपुर पुग्नुपर्दथ्यो । महाकालीमा नाउ चढेर टनकपुर पुगिन्थ्यो । हुने खाने परिवार (जमिन्दार) ले मात्रै त्यो उपचार पाउथे । अन्यले गाउँमा गुरुवा, धाँमी, झाँक्रीको शरणमा पुग्नु पर्दथ्यो । 

“सितला फैलिँदा गाउँका गाउँ सखाप भएको आफ्नै आँखाले देखेको हुँ”, उहाँले भन्नुभयो, “उपचारको भरपर्दो व्यवस्था नहुँदा धेरैले त्यसबेला ज्यान गुमाए । सितलाबाट बच्नका लागि धेरैले भागेर पहाड जान खोज्दा बाटोमै बिरामी परेरसमेत मृत्युवरण गरे ।”
 
“राजा महेन्द्रले राजमार्ग निर्माण गरेपछि । गाडी चल्न थाले तराईमा बस्नेका लागि दिन फिरे । त्यसपछि उपचार गर्न र अन्य कार्य गर्न निकै सहज भयो”, उहाँले भन्नुभयो, “पहिला मालपोत तिर्नसमेत बेलौरी पुग्न बास बस्नु पर्दथ्यो । पछि जिल्ला सदरमुकाम महेन्द्रनगर स¥यो । बजार बस्यो । त्यसपछिका दिन सहज बन्दै गए ।”

औषधोपचारका लागि ठाउँठाउँमा स्वास्थ्यचौकी बने, सहजरुपमा स्वास्थ्यकर्मीले घरदैलोमै सेवा दिन थाले । सदरमुकाम पुगेर हुने काम गाउँपालिका, नगरपालिकाले दिन थालेका छन् ।विगत र आजका दिनको तुलना गर्दा निकै सहज छ । आजभोलि स्वर्ग यही छ । पहिलेका दिन निकै कष्टर थिए । आज सुखभोग गर्ने दिन आएको उहाँ बताउनुहुन्छ ।

बुधबार ११ साउन २०७९ १०:०४ PM मा प्रकाशित

प्रतिक्रिया