नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले आज बुधवार सूचना निकालेर विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिइ टेलिफोन/इन्टरनेट/केवल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो ।
पोल भाडा बक्यौता रकम भुक्तानीका लागि वैशाखसम्मको समय तोकिएको भन्दै प्राधिकरणले तोकिएको समयमा सम्झौता गर्न, नवीकरण गर्न एवम् अहिलेसम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ । वैशाखसम्म बक्यौता रकम भुक्तानी नगरे तार काट्ने चेतावनी प्राधिकरणले दिएको छ । केही सेवा प्रदायक संस्थाहरूले केही क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवा प्रदायक संस्थाहरूले सम्झौता नै नगरि विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको सूचनामा उल्लेख छ ।
प्राधिकरणले यसअघि पटक–पटक सार्वजनिक सूचना आह्वान गर्दै सेवा प्रदायक कम्पनीलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको छ । प्राधिकरणले २०७७ मा काठमाण्डाैलगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवा प्रदायक कम्पनीहरूले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् ।
बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवा प्रदायक कम्पनीले अडान राख्दा विद्युत् प्राधिकरणले इन्टरनेटको तारसमेत काटेको थियो । इन्टरनेटको तार काटिएपछि पोल भाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । त्याे समितिले वृद्धि गरिएको भाडा समायोजन गरेर विवाद समाधान गर्नुपर्ने सुझाव दिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
प्रतिक्रिया