×

काठमाडौंमा सुकुम्बासीको प्रदर्शन- डोजर आतंक बन्द गर, जबरजस्ती उठीबास बन्द गर

images

काठमाडौं। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ। काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू–स्वामित्व प्रदान गर्न माग गरेका छन्।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका उनीहरुले ‘डोजर आतंक बन्द गर, जबरजस्ती उठीबास बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुम्बासीको पनि हो, सुकुम्बासीमाथि लगाएको मुद्दा निसर्त फिर्ता गर’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए। उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।

डोजर चलाएर उनीहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासीहरू आक्रोशित बनेका छन्। राम्ररी व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नमिल्ने उनीहरूको भनाइ छ। आफूहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरू भेला भएर शुक्रबार माइतीघरमा धर्ना दिएका हुन्।

शुक्रबार​ १३ माघ २०७९ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया