×

नेपाल टी-२० लिग : शहिदीको अर्धशतकमा फार वेष्टको पहिलो जित

images

 

 काठमाडौं । कप्तान हश्मतुलल्हा शहिदीको अर्धशतक मद्दतमा फार वेष्ट युनाइटेडले नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सलाई ४ विकेटले पराजित गरेको छ ।

लिगमा फार वेष्टको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा फार वेष्ट लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो ।


उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको काठमाडौंको भने यो पहिलो हार हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमाडौंले दिएको ९९ रनको लक्ष्य फार वेष्टले १९.१ ओभर खेल्दै १०२ रन बनाएर पूरा गरेको हो ।

स्कोर टाइ भएको अवस्थामा करण केसीले वसिर अहमदलाई चौका प्रहार गर्दै फार वेष्टलाई जित दिलाए ।


फार वेष्टका लागि कप्तान शहिदीले ४९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५० रन बनाए । करण ८ रनमा अविजित रहे ।

देव खनालले १७ र भीम सार्कीले ११ रन जोडे ।

बलिङमा काठमाडौंका अनिल खरेलले २ तथा अज्मतुल्लाह ओमारजाई, राएन बर्ल, वसिर अहमद र अविनाश बोहराले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

काठमाडौंका एलेक्स ब्लेकले ३७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा अविजित ४५ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन जोडे ।

फार वेष्टका उमाइर अलीले ३ तथा शहिदी र भुवन कार्कीले समान २ विकेट लिए । उमाइर रशहिदीले ४ ओभरमा समान १५ रन खर्चिए । शेर मल्लले १ विकेट लिए ।

सोमबार ११ पुस २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया