×

योग शिक्षक खड्काको पुस्तक लोकार्पण

images

काठमाडौं । योग शिक्षक एवं बरिष्ठ समाजसेवी केदार खड्काद्वारा लिखित तेस्रो कृति प्राकृतिक भोजन स्वस्थ जीवनको लोकार्पण गरिएको छ। खड्का पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष समेत हुन् ।
 
पतञ्जली योग समिति भक्तपुरको १६औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक समारोहमा प्रमुख अतिथि पतञ्जली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी लवदेव मिश्रलगायत विशेष अतिथिहरू साद्वी देवकृपा, महिला सह केन्द्रिय प्रभारी अर्चना घिमिरे र बागमती प्रदेशका प्रमूख ग्रोविन तौजलेले पुस्तकको विमोचन गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि मिश्रले सम्पूर्ण नेपालीलाई स्वस्थ राख्ने अभियानलाई सफल र सार्थक बनाउन भक्तपुर जिल्लाबाट पुस्तकका लेखक खड्का र उनका साथीहरुले मिलेर विगत एक दशकदेखि प्रयत्न गरिरहेका बताए ।

पुस्तकमा हाम्रो घर वरिपरी भएका तरकारी, फलफुल, अन्न, हाम्रो भान्छाको मसला आदिलाई सही तरिकाले खान सके यसले औषधिको काम गर्ने र गलत तरिकाले खायो भने मन्द विषको काम गर्ने भएकाले सधै प्राकृतिक भोजन गर्न लेखकले पुस्तकमार्फत सबैलाई उत्प्रेरित गरेका मुख्य केन्द्रिय प्रभारी मिश्रले प्रष्ट्याए । लेखकले आफ्ना स्वर्गिय बुबा इन्द्रबहादुर खड्का र स्वर्गिय आमा सान्नानी खड्कामा समर्पण गरेको उक्त पुस्तकको प्रकाशन कमला खड्काले गरेकी छन् । 

कोभिड महामारीले विश्वलाई गाँजेको बेलामा संसारभरका मानिस एक आपसमा त्रसित भएर बसे । तर ती दिनहरुमा आफूले पनि यस पुस्तकको रचना गरेको लेखक खड्काले स्मरण गरे । मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी भयो भने कुनै पनि रोगले केही गर्न सक्दैन भन्ने पाठ आम मानिसलाई कोभिडले सिकायो । राग प्रतिरोधात्मक क्षमता बढाउन नियमित ब्यायम , उचित भोजन र तनाव ब्यवस्थापन जरुरी रहेको आफूले पाएकाले पुस्तकमा प्राकृतिक भोजनका बारेमा जानकारी दिने प्रयास आफूले गरेको योग शिक्षक खड्काले बताए । 

हामीले खाएको भोजनले शरीरलाई मात्र नभई मन र विचारलाई पनि सिधा प्रभाव पार्ने बताउँदै लेखक खड्काले भने, ‘हामीले हाम्रो गाडी र मोटरसाइकलमा हाल्ने पेट्रोल त कहाँ शुद्ध पाइन्छ भनेर खोजी हिँड्छौं भने जीवन नै चलाउने शरीरमा चाही जस्तो भोजन खाए पनि हुन्छ र ?’

कार्यक्रममा भक्तपुर जिल्लाको पतञ्जलीका ३ वटै समिति मूल समिति, महिला समिति र यूवा समितिको दुई वर्षको लागि पदस्थापन कार्यक्रम सम्पन्न भयो । १९ सदस्यि मूल समितिमा पुस्तकका लेखक केदार खड्का, १८ सदस्यि महिला समितिमा मन्जु कुम्पाख र १४ सदस्यि यूवा समितिको अध्यक्षमा प्रभारी विकास बज्राचार्य चयन भएका छन् ।

शुक्रबार​ १० भदौ २०७९ ०७:५१ AM मा प्रकाशित

प्रतिक्रिया