×

हामी माओवादीमा गएका हाेइनाैँ, चुनावी तालमेल मात्रै हाे : डा. भट्टराई

images

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । 

आज शुक्रवार पार्टीको काठमाण्डाै जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाउनुभएको हो । उहाँले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि त्यही पक्षमा रहेकाले आउँदाे सङ्घीय र प्रदेश सभाकाे चुनावमा तालमेल गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सुशासन, समृद्धि ल्याउने कुराकाे एजेन्डा कोसँग मिल्छ भन्ने ढङ्गले हामीले सबैसँग कुराकानी गर्‍याैँ र हामीसँग अलि बढी नजिक एजेन्डा मिल्ने भनेको त माओवादीसँगै हो । त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्न सक्छ । तर अरूको सापेक्षतामा सङ्घीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भन्ने त माओवादी पार्टी हामी छँदै त्यति बेलै नोट अफ डिसेन्ट लेखेर राखेको हो । त्यसैले पहिचान र अधिकारसहितको सङ्घीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ । दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको कुरा हामीले गरिराखेका छौँ । त्यति बेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो । अहिले पनि त्यो मुद्दा उनीहरूसँग मिल्छ ।’

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विराेध रहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरू राम्रो काम गर्ने र गलत तत्त्वहरूलाई साथ दिन नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताउनुभएको हो । 

उहाँले आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको नभइ आउँदाे चुनावका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पार्नुभयो । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत् समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुन सक्ने बताउनुभयो । 

शुक्रबार​ १० भदौ २०७९ ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया