×

अछाममा सासूमाथि कुटपिट गरेको घटना बाहिर ल्याउने बालक सम्मानित

images

काठमाडौं । अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक शुक्रवार (आज) सम्मानित भएका छन् । 

यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने त्यही ठाउँका बालक दीपेन्द्र न्यौपाने सम्मानित भएका हुन्। 

न्यौपानेलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाशसिंह विष्टले जानकारी दिए।

बालकले तत्काल घटना रोक्न नसके पनि घटनाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घरभित्रका हिंसाका घटनालाई बाहिर ल्याउनुका साथै कानुनी दायरामा ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो । 

मन्त्री रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गरे ।

कुटपिटमा परेकी सासुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जना बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार​ १० भदौ २०७९ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया