×

तीन महिनादेखि अवरुद्ध बेनी–भकिम्ली सडक अझै खुलेन

images

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौंडा र खुर्सानीवारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडर तीन महिना बितिसक्दा पनि अझै सञ्चालनमा ल्याउन सकिएको छैन । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौंडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौंडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको हो । 

पहिराले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण रुटको प्रयोग गर्न बाध्य भएका छन् । “सडक मर्मत नहुँदा सास्ती भएको छ, मर्मत गरे पनि सामान्य वर्षाले भत्काउने गरेको छ”, स्थानीय शेरबहादुर घर्तीले भन्नुभयो । गतवर्ष ढलानसहित सडक पहिराले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिरोले हलेगौंडासहित आसपासका क्षेत्रका बस्ती समेत जोखिममा परेको छ ।

भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र तारा खोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौंडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सँधै जोखिम बन्दै गएको वडाध्यक्ष पदम पुनले बताउनुभयो । 

“सडक अवरुद्ध हुँदा जनतालाई सास्ती भएको छ, मर्मतमा ठूलो बजेटको आवश्यकता देखिएको छ”, वडाध्यक्ष पुनले बताउनुुभयो । गतवर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरासँगै बगेपछि उक्त मार्गमा नियमित जसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको सर्वे भएको थियो । सरकारी निकायबाट विनियोजित बजेटबाहेक स्थानीयले कठोर श्रमदान गरी सडक विस्तार गरेका थिए । यसैबीच स्थानीयवासीले तत्काल सडक मर्मत वा सहज अर्को वैकल्पिक मार्गको खोजी गरी आवतजावतलाई सहज बनाउन माग गरेका छन् ।

शुक्रबार​ १० भदौ २०७९ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया