×

बार्सिलोना सफल सिजनतर्फ अग्रसर हुँदै

images


बार्सिलोना । पछिल्ला केही सिजन बार्सिलोनाका लागि सुखद रहेनन् । तर सम्भवतः बार्सिलोनाका समर्थकले ती दिन बिर्से हुन्छ । यो सिजन उसका लागि निकै राम्रो हुँदैछ । ओसममन डेम्बेलाको निर्णायक गोलको मदतले बार्सिलोनाले बुधबार रियल सोसिडाडलाई १–० ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सेली फरवार्डले ५२ औं मिनेटमा निर्णायक गोल गरे र यो जितसँगै यस सिजन बार्सिलोनाको उत्कृष्ट लय कायम रहेको प्रमाणित भयो । सन् २०२३ को सुरुमै स्पेनी सुपरकप जितेको बार्सिलोनालाई स्पेनी ला लिगामा रियल म्याड्रिडमाथि शीर्ष स्थानमा तीन अंकको अग्रता छ । अब कोपा डेल रेमा पनि बार्सिलोना अन्तिम चारमा पुगेको छ ।
अर्कोतर्फ म्यानचेस्टर युनाइटेड पनि एक अर्को उपाधिको नजिक पुगेको छ । युनाइटेडले सन् २०१७ यता कुनै उपाधि जितेको छैन् र यसपल्ट त्यस खडेरीलाई तोड्ने राम्रो अवसर बनेको छ । युनाइटेडले बुधबार नटिङ्घम फरेस्टलाई लिगकप सेमिफाइनलका पहिलो लेगमा ३–० ले हराएको हो ।
उसका लागि फरेस्टको घरमा भएको खेलमा मार्कस रसफोर्ड, वट वेघरस्ट र र ब्रुनो फर्नान्डेजले गोल गरे । एरिक टेन हागको युनाइटेडका लागि रसफोर्ड गोल लयमा छन् र विश्वकपयताका १० खेलमा उनले लगातार गोल गरेका छन् । यस प्रतियोगितामा मात्रै उनले पाँच गोल गरिसकेका छन् । 

बिहीबार १२ माघ २०७९ ०९:५९ AM मा प्रकाशित

प्रतिक्रिया