×

दक्षिण अफ्रिका र जिम्बावेलाई एक एक अंक

images

होबार्ट । दक्षिण अफ्रिका र जिम्बावेले सोमबार ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–२ को खेलमा एक एक अंकमा चित्त बुझाएका छन् । खेल वर्षाले प्रभावित भएपछि विना नतिजा टुंगेको हो । लगातार पानी परेपछि सुरुमा खेल नौ नौ ओभरमा झारिएको थियो । यसक्रममा जिम्बावेले पाँच विकेटमा ७९ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गर्दा खेल फेरि वर्षाले प्रभावित रह्यो । त्यस स्थितिमा डक वर्थ नियम अनुसार सात ओभरमा ६४ रनको नयाँ लक्ष्य तय गरियो । वर्षाले खेल रोकिन अगाडि दक्षिण अफ्रिकाले विना कुनै विकेट तीन ओभरमा ५१ रन बनाएको थियो । त्यस अगाडि दिनको पहिलो खेलमा बंगलादेशले विजयी सुरुआत लिएको थियो ।

सुपर–१२ को ग्रुप–टुको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई नौ रनले पराजित गरेको हो । जितका लागि १ सय ४५ रन पछ्याएको नेदरल्यान्ड्सले २० ओभर सबै विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि कोलिन एकरमनले ४८ बलमा ६२ रन बनाए । बंगलादेशका लागि तास्किन अहमदले २५ रनमा चार विकेट लिए ।

उनी ‘प्लेयर अफ द म्याच’ भए । नेदरल्यान्ड्सले टस जितेर बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र त्यसक्रममा बंगलादेशले आठ विकेट गुमाएर १ सय ४४ रन बनायो । उसका लागि आफिफ हुसेनले बनाएको ३८ रन नै सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो । समूहको लिग तालिकामा बंगलादेश र भारत शीर्ष दुई स्थानमा छन् । 

मङ्गलबार ८ कात्तिक २०७९ ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया