×

रास्वपाको केन्द्रीय समिति बैठकले के के निर्णय गर्यो ?

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा नक्खु कारागारको घटना छानबिन गर्न, जेनजी उमेर समूहका युवाहरुसँग आवश्यक संवाद गर्न र फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न समिति गठन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्  । 

रास्वपाले नख्खु कारागारलगायत अन्य केही स्थानमा भएका घटनामा पार्टी सदस्यको सम्भावित संलग्नता भए नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । त्यस्तै जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रवक्ता झाका अनुसार फागुन २१ गते हुनगइरहेको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने निर्णय गरेकोछ  ।  

रास्वपाको केन्द्रीय समितिका निर्णयहरु: 

राष्ट्रिय स्वतन्त्र पार्टीको असोज ७ र ८ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिसँग सम्बन्धित केन्द्रीय सदस्यहरुले राख्नुभएका मौखिक धारणाहरु एवं लिखित प्रस्तावहरुमाथि वृहत् छलफल पश्चात् देहायका निर्णयहरु गरिएको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ । 

१. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते गर्ने । उक्त विस्तारित बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका विषयमा समेत छलफल गर्ने । 

२. भदौ २४ गते नख्खु कारागार लगायत अन्य केही स्थानहरुमा भएका घटनाहरुमा पार्टी सदस्यहरुको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने ।

३. भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई  राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने । 

४. वि सं २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न  सरकारलाई दबाब दिने ।

५. जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्यतथ्य छानबिन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने ।

६. जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य श्री पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने ।

७. फागुन २१ गते हुनगइरहेको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने ।

 

बिहीबार ९ असोज २०८२ ०८:३५ AM मा प्रकाशित

प्रतिक्रिया