×

ऐतिहासिक १३ तले मन्दिर ओझेलमा

images


अर्घाखाँची, ८ भदौ : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ ।

    विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको उक्त मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय यसको मर्मत तथा प्रचारप्रसारमा लागेका छन् ।

    मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन् । यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेयले मन्दिरको प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्वीकार्दै दसैँसम्म विभिन्न प्रचारप्रसारका कार्यक्रम गर्दै जाने बताउनुभयो । 

    मन्दिरको धार्मिक र ऐतिहासिक महत्वलाई बाहिर ल्याउनका लागि स्थानीय युवाको सहयोगमा काम थालिएको उहाँले जानकारी दिनुभयो । स्थानीय युवा शोभाखर न्यौपानेले मन्दिरको प्रचारमा आफूहरू लागिरहेको बताउँदै यसतर्फ मिडियाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

    “जिल्लामै १३ तले मन्दिर बन्दा पनि धेरैलाई थाहा नहुनु अनौठो कुरा हो । मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसको प्रचारप्रसार गर्न सके जिल्लाका साथै अन्य जिल्लाबाट पनि धार्मिक पर्यटक यहाँ आउने वातावरण बन्छ”, मन्दिरका पुजारी विष्णुप्रसाद मरासिनीले भन्नुभयो । उहाँले आकाशदेवी मन्दिरमार्फत यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।

    सीमित स्रोत र साधनका बीचमा पनि ऐतिहासिक र धार्मिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा काम थालिएको छत्रदेव गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले उक्त मन्दिर छत्रदेवको मात्रै नभई सिङ्गो अर्घाखाँचीकै पहिचान भएकाले यसको व्यवस्थापन थप प्रभावकारी रुपमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पालिकाभित्रका सबैजसो धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्ने बताउनुभयो ।
 

शुक्रबार​ ८ भदौ २०८० ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया