×

पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान

images

पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो ।

केही दिनअघि जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज उद्घाटन गर्नुभएको छ । उपप्रमुख रमेशकुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीलगायतको उपस्थितिमा प्रमुख राईले गणक मेसिनको औपचारिकरूपमा उद्घाटन गर्नुभयो ।

हलेसी आउने पर्यटकको गणना गर्नका लागि मन्दिरको गेट (प्रवेशद्वार)मा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । गणक मेसिनमा सङ्कलन भएको पर्यटकको तथ्याङ्क मासिक तथा वार्षिकरूपमा सार्वजनिक गरिने सूचना केन्द्रले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा यसअघिसम्म कति पर्यटक आउँथे भन्ने तथ्याङ्क थिएन । आगामी दिनमा गणक मेसिनमार्फत हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्याङ्क सङ्कलन गरेर उनीहरूको व्यवस्थापन सहज हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि यसअघि सिसी क्यामेरा जडान गरिएको थियो । हलेसीमा लाग्ने मेला तथा भीडभाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गरिएको हो ।

सिसी क्यामेरा जडान गरेपछि नगरपालिकाको तर्फबाट सूचना केन्द्र स्थापना गरेर हलेसीमा हुने हरेक गतिविधिको निगरानी गर्ने काम भइरहेको छ । महादेवगुफा, पार्वतीथान, बसाहगुफा, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरेपछि दर्शनार्थी तथा पर्यटकसमेत सजग भएका छन् ।

सिसी क्यामेरा जडान गरेपछि हलेसी क्षेत्रका मुख्यमुख्य ठाउँमा ‘तपार्इँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने जानकारी लेखिएको बोर्डसमेत राखिएको छ । नगरपालिकाको करिब रु सात लाख लगानीमा मन्दिर क्षेत्रको विभिन्न ११ ठाउँमा सिसी क्यामेरा जडान गरिएको जनाइएको छ । 

सिसी क्यामेरा जडानपछि जथाभावी फोहर फाल्ने, अभद्र व्यवहार गर्ने, भीडभाड गर्नेजस्ता क्रियाकलाप न्यूनीकरण हुँदै गएको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसअघि जथाभावी फोहरैफोहर र अव्यवस्थित देखिने हलेसीको बजार क्षेत्र अहिले सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ । 

विश्व प्रसिद्ध त्रिर्धामिकस्थल रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । मेला भर्न नेपालका सबै जिल्लाका साथै अन्य देशहरू भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिकालगायतबाट भक्तजन आउने गरेका छन् ।

हलेसी आउने दर्शनार्थी तथा भक्तजनका लागि धर्मशालासमेत निर्माण भइरहेको छ । धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपमासमेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा ‘हलेसी विकास समिति’ जुटेको छ ।

शनिबार ११ असार २०७९ ०९:४२ PM मा प्रकाशित

प्रतिक्रिया