×

पशुपतिबाट निकालियो जलहरी, सुरक्षा घेराभित्र नापचाँच हुदै

images

काठमाडौं । जलहरी प्रकरणमा भएको भ्रष्टाचार छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोली पशुपति नाथको मन्दिरमा पुगेको छ ।

आज (आईतबार) अख्तियारको टोली पशुपति परिसरमा गएको हो । अख्तियारको टोली आएपछि अहिले सर्वसाधरणलाई पशुपति प्रवेशमा रोक लगाइएको छ । पशुपति परिसरमा बाक्लोमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

आयोगको टोली अचानक पशुपति पुगेको हो । आयोगको टोलीले सुरक्षा घेराभित्र जलहरीको नापचाँच गरिरहेको छ । पशुपति परिसरलाई नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको घेरामा राखी आयोगले जलहरीको नापजाँच गरिरहेको हो ।

खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो । 

टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । अब त्यहीँ जोखिनेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई राखिएको छ ।

पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो। त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ।

यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ। तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भएरनभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ।

उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ। तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

 

आइतबार​ १० असार २०८० ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया