×

तिहार: मनखुसी पाराले मनाउने चाड होइन

images

हरेक वर्ष झैं यो वर्षको नेपालीको महान चाड दशैं र तिहार  भरखर समाप्त भएको छ । यसमा दशैंको पूर्वांग गणेश चौथी चथा लाई मानिन्छ भने तिहारको पूर्वांग दशैंलाई मानिन्छ । भनाईको तात्पर्य दशैंसंग चथाको सम्वन्ध छ भने तिहारसंग दशैंको सम्वन्ध छ भन्ने कुरा सर्वविदित छ । जनकथन अनुसार  चथा राम्रो मनाएपछि दशैं पनि राम्रो हुन्छ भन्ने विश्वास पाइन्छ । परम्परागत रीतिरिवाज चलनबाट हेर्दा  दशैंमा चढाएको प्रसाद  तिहारको लागि अनिवार्य चाहिन्छ । यही आधारमा चथा दशैं र तिहार बीच एक आपसमा अभिन्न सम्वन्ध रहेको छ ।


यी कुरा सर्वविदित भएतापनि तिहार भनेको के हो ? यसको वास्तविक अर्थ र महत्व नबुझेर आफु खुसी ढंगले मनखुसी पाराले तिहार मनाउंदै आएको  पनि प्रत्यक्ष रुपले देख्न सुन्न पाइएका छन् । सोही सन्दर्भमा कतिपय बुद्धिजीविहरुबीच अन्तरद्वन्द भएका धारणाहरु प्रकाशमा आएका छन् । जस्तैः 


१.केही वर्ष अघि देखि तिथिको गडबडीले यमपंचक भित्र कुन दिन के मनाउने भन्ने विवाद उठ्दै आएको छ । यसमा नेवार समाजको विशेषता भनेकै विविधता भएको समाज भएकोले कुनै चाड कही आज कहीं भोलिपल्ट मान्दै आएका हुन्छन् । फेरि नेवार ज्योतिषमा तिथिको गणना गर्ने विधि विधान नै आआफ्नै खालको छ । त्यसैले कुनै चाड मनाउदा आफुलाई  कुन विधि विधानमा विश्वास छ , त्यही विधि विधान अनुशरण  गर्नु नै सबभन्दा राम्रो उपाय हो । अतः आफुले कुन विधिविधान अनुशरण  गर्ने हो त्यहीगर्ने र अरुले अनुशरण गरेको विधि गलत नभनी सम्मान नै गर्ने गर्नु पर्दछ भन्ने जस्ता तर्क अघिसारिएको पनि देखियो ।


२.कोही भनी रहेका छन् , होइन परापूर्वकाल देखिनै  कहीं कुनै चाड आज त कहीं भोलिपल्ट मनाउने गरेको थिएन । केही वर्ष यता देखि मात्र यस्तो हुन आएको देखियो । तिथि गणना गर्ने विधिविधान नै नेवार र अरु जातिको भिन्नभिन्न छ भन्ने जस्ता हावादारि कुरा किन गर्ने ?चन्द्र सूर्य पृथ्वी भनेको नेवारको छुट्टै अरुको छुट्टै ग्रह त पक्कै होइन फेरि ती ग्रहको गति गणना गर्ने विधिविधान पनि आआफनै खालका छन् भन्ने जस्ता हावादारि गफ गर्नु उचित होइन । फेरि ती ग्रहको गति जसले चाह्यो उसले हातमा लगाएको आफ्नो घडी जस्तो घुमाउन सक्ने कुरा पनि होइन । त्यसैले त्यसतो उपबुज्रुक सल्लाह टिप्पणी पनि बेढंग नै  छ भनी रहेको देखियो ।


३.कोही यो पनि भन्दै आए कि संस्कृति परम्परा भन्ने कुरा जेसुकै होस् हामी मान्दैमान्दैनौं पंचांग पात्रोमा जे लेखियो त्यही सदर भन्न मात्र जान्दछौं अरु मतलव छैन । यदि यो कुरा ठीक मनासीव हो भने आज उप्रान्त अध्ययन अनुसन्धान भनेकै बन्द गर्नु पर्यो । कथंकदाचित कसैले गर्न खोजियो भने पनि तत्काल निषेध गरी कारवाही गर्नु पर्ने जस्तो कुरा पो आयो । त्यसकारण त्रुटी भनेको मान्छेबाटै हुने कुरा हो । त्यसैले संस्कृति परम्परा शास्त्र ज्योतिष सबै अध्ययन गरेर अकाट्य प्रमाणको आधारमा निर्णय भएमा मात्र एकरुपता आउन सक्छ । अहिले हरेक कुरा ज्योतिष हेर्नेले संस्कृति शास्त्र परम्परा बेवास्ता गर्ने  गरिएका कारण हरेक चाडवाड दुईदुई दिन गर्ने प्रथा बस्दै आएको छ । त्यही भएर तिहारमा एकदिन भाइतिहार र अर्को दिन किजापूजा भनेर  समेत बिदा घोषणा गर्नु पर्ने हुनआएको दृष्टान्त छँदै छ ।  


यसपाली  मनाइएका विविध प्रकारका तिहार
यमपंचक भनेकै तिहार हो यो सवैलाई थाहा छ । त्यसैले यमपंचकको पाँच दिन मध्ये पहिलो कागतिहार दोस्रो कुकुरतिहार तेस्रो गाइतिहार, चौथो गोरुतिहार र अन्तिम पाँचोैं दिन भाइतिहार भनेर मनाउने गरेको पनि नौलो कुरो होइन । अर्को कुरो गाइतिहार कै दिन लक्ष्मी पूजा हुनु पर्दछ भन्ने पनि थाहा छ । हो यहीं निर ज्योतिषवादी  र संस्कृतिवादी बीच विवाद भई  आएको छ । चौथो दिन नेवार बाहेकले गोरुपूजा गरी गोवद्र्धन पर्वको रुपमा तिहार मनाउने गर्दछ भने नेवारले म्हपूजा गरी नेपालसंवत् फिर्ने पहिलो दिन समेत भएकोले हुंदँया भिन्तुना भनी वर्षभरि सबैको घरमा सुखसंपत्तिले भरिपूर्ण भइ सुस्वास्थ्य आयुवृद्धिको कामना गरी शुभकामना आदान प्रदान गरी मनाउने चलन छ । पाँचौंदिन सकल दिदी बहिनीले आफना दाजुभाईको आयुवृद्धिको कामनागरी भाइतिहार याने किजापूजा बडो हर्षोल्लासका साथ मनाउने चलन छ । यसमा पनि संस्कृतिवादी र ज्योतिषवादी बीचको विवादले परिवार परिवार बीच दिदीबहिनी र दाजुभाईहरुले समस्या झेल्दै आउनु परेको छ । यसको मुख्य कारक तत्व भने कै उही विवाद नै हो भन्ने स्पष्ट छ । यो समस्याले फेरि नेवार समुदाय कै दिदीबहिनी दाइभाइलाई ग्रसित पार्दै आएको छ । यस विषयमा अझै पनि चिन्ता गरिएन भने चाडवाड पछि गएर बोझको रुपमा रुपान्तरण नहोला भन्न सकिन्न । 
प्रत्यक्ष रुपले देख्दै आएको कुरा हो । यमपंचकको पहिलो दिन कागतिहारमा कुनै विवाद छैन । दोस्रोदिन बिहान कुकुर पूजा गरी कुकुर तिहार मनाई बेलुका औंसीको रातको घडिपला देखियो भनी त्यही रातमा लक्ष्मीपूजा पनि मनाउने गरियो । पात्रोमा भोलिपल्ट औंसी गाइतिहार गाई पूजा भनी लेखी दिंदा गाइपूजा नगरीकनै अघिल्लो दिन नै लक्ष्मीपुजा गराइ दिने भयो । तव पात्रोमा गाइपूजा भोलिपल्ट भनी लेखिएतापनि गाइपूजा नगरी लक्ष्मीपूजा गर्नु भएन भन्दै बिहान कुकुरपूजा गरी सकेपछि गाइपूजा गरी बेलुका लक्ष्मीपूजा गर्नेहरु पनि देखिए । यो त बिरालो बाँधी श्राद्ध भने जस्तो गरेको भयो ।  फेरिे यो के तरिका हो  न ज्योतिषवादी सिद्धान्तको अनुकूल भयो न संस्कृतिवादी सिद्धान्तको अनुकूल भयो । यो पनि नेवार समाजको विविधताको अर्को नमुना हो भनियो भने  निश्चित दिनमा हुनु पर्ने संस्कृतिसंस्कार नेपालको सांस्कृतिक विशेषता भनेर विश्वसामु देखाउने कुरा के बाँकी रह्यो त भन्ने प्रश्न उठ्छ  ।


जब कुकुर तिहार कै दिन लक्ष्मीपूजा गरेपछि यमपंचकको पाँचदिनको कुनै अर्थ रहेन चार दिन भए पुग्ने भयो । यहाँ ज्योतिषवादी र संस्कृतिवादीको संमिश्रणले गर्दा यमपंचकको पाँचदिनको दरकार भएन । तिहार लहरै मनाउनु पर्छ भन्नेहरुले कुकुर तिहार र लक्ष्मीपूजा मनाइ सके पछि भोलिपल्ट म्हपूजा र पर्सीपल्ट किजापूजा गरेर चार दिनमै तिहार छोट्याएर मनाउनेहरु पनि देखिए भने अर्को पक्ष ज्योतिषवादीको डुंगामा पनि टेक्ने र संस्कृतिवादीको डुंगामा पनि टेक्नेले ज्योतिषवादीको अनुकूल भएर ककुर तिहार कै दिन लक्ष्मी पूजा गरी औंसीको दिन खाली बसेर न्ह्ूंदँ मनाउनेहरु कै संसर्गमा लागी त्यही दिन म्हपूजा र भोलीपल्ट किजापूजा गर्नेहरु पनि देखापरे । यो पनि विविधता मध्येको अर्को उदाहरण भनेर अरुले अपनाएको विधि गलत भन्न नहुने भन्दै चूपलाग्नै पर्ने भयो । यसले के नेवार समुदायको संस्कृति भनेर गौरव गर्न लायकको संस्कृतिसंस्कारको रुपमा के बाँकी रहयो ?


एकातिर अरुले अपनाएको विधि गलत भन्न पनि नपाइने र अर्कोतिर यस प्रकारको मनखुसी पाराको संस्कृति कुन सिद्धान्त कुन शास्त्र र कुन विधिसम्मत छ भनेर पनि देखाउन नसक्ने यस्तो कुप्रथा किन जन्मियो अचम्म यसमा छ । 
यसको असर


यस्तो मनखुसी पाराको जुन  संस्कृति जसरी हुर्के यसले के असर गरिरहेको छ भन्ने कुरा नेवार समुदायमा प्रत्यक्ष रुपले देखापरेको छ । वास्तवमा  शास्त्र विधि अनुकूल कुन चाही पक्ष हो खुट्याउन सकेको छैन । यहाँ उनीहरुले अपनाएको विधि अरुले गलत भन्न नपाइने तर उनीहरुले चाही अरुले अपनाएको विधि गलत भन्न चाहीं पाइने जस्तो अनौठो भनाइ देखापरेको छ  । यदि अरुले अपनाएको विधि गलत भन्न नपाइने मान्यता लिने भए गाइपूजा औंसी कै दिनमा हुनुपर्छ र औंसी कै दिनमा लक्ष्मीपूजा गर्नु उचित हो भन्ने कुरा गलत भन्न पनि नपाइनु पर्ने हो । तर तिनीहरुलाई पनि भड्काएर औंसीको रातको घडिपला नभएको दिनमा लक्ष्मीपूजा गरेमा मृत्यु पनि हुनसक्छ भन्ने जस्ता हौवा फैलाउने किन भन्ने प्रश्न उठेको छ । त्यतिमात्र होइन अधिकाँश नेवार समुदायका दाजुभाइ दिदीबहिनीहरुले महशूस गरेका छन् कि अरु जेसुकै होस् भाइटिका(किजापूजा) सबैठाउंमा एकै दिनमा हुने भइ दिएको भए हुन्थ्यो भनीरहेका छन् । यो अवस्था किन आयो त भन्दा  अन्ततः त्यही मनखुसी पाराको संस्कृति नै मुख्य कारक तत्व हो भन्ने त निश्चित रुपले देखियो । 


पंचांग पात्रोको उदाहरण


वि.सं २००० सालको पात्रोमा कार्तिक ११ गते र १२ गते  चतुर्दशी परेकोले पहिलो चतुर्दशीमा ककुर तिहार र दोस्रो चतुर्दशीमा लक्ष्मीपूजा र दीपमालिका दिइएको छ । औंसीको दिन म्हपूजा र प्रतिपदाको दिन किजापूजा गरेको कुरा पात्रोमा पाइएको छ । 
त्यस्तै वि.सं २००१ सालमा पनि असोज ३० र ३१ गते दुवैदिन चतुर्दशी परेकोले पहिलो चतुर्दशीमा ककुरतिहार र दोस्रो चतुर्दशीमा लक्ष्मीपूजा दीपमालिका र सुखरात्री मनाइ कार्तिक १ गते औसीमा म्हपुजा गोवद्र्धनपुजा गरेको कुरा पात्रोमा पाइएको छ ।
त्यसको लगत्तै पछिल्लो वर्षहरुमा  औंसी कै दिनमा लक्ष्मीपूजा दीपमालिका सुखरात्री मनाएको देखिन्छ ।


वि.सं २००६ सालमा चतुर्दशी टूट भएकोले कार्तिक ४ गते त्रयोदशी कै दिनमा कागतिहार र कुकुरतिहार गरि कार्तिक ५ गते औंसीको दिन लक्ष्मीपूजा दीपमालिका , सुखरात्री मनाएको देखिन्छ । 
वि.सं २००७ सालमा औंसी टुट भएकोले कार्तिक २३ गते कागतिहार र २४ गते कुकुरतिहार तथा लक्ष्मीपूजा सुखरात्री दीपमालिका मनाएको कुरा पात्रोमा पाइन्छ । 


यसरी कहिले चतुर्दशी टूट कहिले चतुर्दशी दुइ दिन परेको र कहिले औंसीटूट र कहिले औंसी दुइ दिन परेको बेलामा बाहेक अरु वर्षमा औंसी कै दिनमा लक्ष्मीपूजा दीपमालिका  सुखरात्री मनाएको देखिन्छ ।
वि.सं १९५९ सालमा कार्तिक १५ गते औंसी र सूर्यग्रहण समेत परेकोले त्यो वर्ष चतुर्दशी कै दिन कार्तिक १४ गते लक्ष्मीपूजा सुखरात्री मनाएको देखिन्छ । यी उदाहरण भनौं या प्रमाणलाई आधारमान्दा अरुवेला लक्ष्मीपूजा औंसी कै दिनमा मनाउने गरेको उदाहरण धेरै नै पाइन्छ । 


केहीवर्ष यताका पात्रोहरु पल्टाएर हेर्दा लक्ष्मीपूजा सुखरात्री दीपमालिका भनेर जहिले पनि चतुर्दशीको दिनमा पारेको उदाहरणहरु पाइएकोले यसमा आशंका गर्ने ठाउं प्रशस्त बनेको छ ।  
माथि भने झैं  नेवार समाजको विशेषता  नेवार ज्योतिषमा तिथिको गणना गर्ने विधि विधान नै आआफ्नै खालको छ भनेको कुरामा कुनै संगति मिलेको देखिएन ।

किनकि औंशी कै दिनमा लक्ष्मीपूजा पारेको उदाहरण कैयौं छन् र ती पंचांग पात्रोहरु नेवारले बनाएको त बिल्कुलै होइन । त्यसकारण टिप्पणीकर्ता जोसुकै होउन तिहारको बारेमा टिप्पणी गर्दा अलिकति सूझबूझ भन्ने कुरा पनि ख्याल गरेर गर्नु जरुरी छ । 
ज्योतिषवादीले जारी गरेको विज्ञप्तिमा गत २०८० को कार्तिक २६ ,२७ र २८ लक्ष्मीपूजा म्हपूजा र किजापूजा भनी क्रमशः गर्न सकिन्छ भनिएको छ । किनकि पहिलो दिन दिउंसो २ः१४ उप्रान्त औंसी, दोस्रो दिन २ः०४उप्रान्त परेवा र तेस्रो दिन २ः३८ उप्रान्त द्वितीया लाग्ने भएकोले उक्त दिनहरुमा लक्ष्मीपूजा म्हपूजा र किजा पूजा(भाइटिका) गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ । यहाँ गंभीर भएर बुझ्नु पर्ने कुरा यही कि यसरी “सकिन्छ” भनेपछि कार्तिक २६ गते लक्ष्मीपूजा गरेपनि हुन्छ नगरेपनि हुन्छ । यदि गर्न चाहेमा गर्न सकिन्छ भनेको भयो । त्यस्तै २७ गते म्हपूजा र २८ गते किजापूजा पनि यदि चाहेमा गर्न हुन्छ नचाहेको खण्डमा नगरे पनि हुन्छ भनेको जस्तो देखियो । वास्तवमा यसप्रकारले दिग्भ्रमित पार्ने गरी विज्ञप्ति जारी गर्नु हुंदैनथ्यो  । यदि शास्त्र एवं नेपालको रीतिरिवाज परम्परा संस्कृति इतिहासले आफनो कुरा अनूकूल छ भने ठोस प्रमाण दिन सक्नुपर्ने हो । 


नेपालमा वर्षको पहिलो दिन र अन्तिम दिन मनाउने परम्परा
परापूर्वकाल देखि नेपालमा कार्तिक महिना शरद ऋतुमा नयाँ अन्न भित्र्याउने र अघिल्लो वर्षमा भित्रिएर बाँकी शेष बचेको अन्न संचित गर्ने चलन बिकास भएर आएको पाइन्छ । नेपालसंवत् शुरु हुनु भन्दा अघि ८०२ वर्ष पहिले नै नेपालमा कार्तिक शुक्ल प्रतिपदाको दिन  नयाँ वर्ष मनाउने चलन थियो भन्ने कुरा लिच्छविकालमा चलेको संवत्ले नै बताउंछ । यसबाट वर्षको पहिलो दिन कार्तिक शुक्ल प्रतिपदा  हो भने यसको ठीक अघिल्लो दिन औंसीलाई वर्षका अन्तिम दिन मानेको स्पष्ट हुन्छ । त्यसवेला प्रचलित अमान्तमान(औंशी अन्तिम दिन हुने महिना) पद्धतिले कछला थ्व पारुको दिन नयाँवर्षको पहिलो दिन र यसको ठीक अघिल्लो दिन कौला गा औंसीको दिन वर्षको अन्तिम दिन भन्ने स्पष्ट बुझिन्छ । वर्षको अन्तिम दिनमा बचेको धनसम्पत्ति संचित गर्ने र पहिलो दिन नयाँ वर्ष देखि वर्ष भरि धनधान्यले परिपूर्ण भई वर्ष भरि सुख सुस्वास्थ्य कायम भइ आयु आरोग्य बृद्धि होस् भनी कामना गरिन्छ ।  यही परम्परा अन्तर्गत लक्ष्मीपूजा र म्हपूजा को संस्कृति बिकास भएको हो । यो लक्ष्मीपूजा र म्हपूजा भनेरै कसको पालामा कहिले प्रचलन भएको भन्न गाह्रो छ  । तथापि यही सन्दर्भमा पछि यमपंचकको संस्कृति संस्कार विकास हुन आएको हुनाले यो पक्षलाई हृदयंमगर्दा संभवतः नेपालसंवत् शुरु भए देखि लक्ष्मीपूजा म्हपूजा र किजापूजाको प्रचलन शुरु भएको हुनुपर्छ भन्ने अध्ययनले देखापरेको छ  


नेपालसंवत्को शुरु र यमपंचकको सम्वन्ध 
नेपालसंवत् शुरु हुनु भन्दा अगाडि इशाको नवौं शताव्दी तिर नेपालमा अनेको प्राकृतिक प्रकोप भुइंचालो बाढी पैह्रो लगायत महामारी जस्ता अनेकौं प्रकोपले गर्दा धेरै संख्यामा मान्छेको मृत्यु भएको संकेत वंशावलीहरुबाट पाइन्छ । हुन पनि लिच्छविकालको त्यस्तो कला उन्नति लगभग समाप्त  प्राय हुन गएको देखिन्छ । बाँकी बचेका मान्छेहरुले त्रिकालदर्शी महात्माहरु सित भेटेर यसको उपाय पत्ता लगाउन बिन्तीभाव गरेपछि महात्माहरुले अनेकौं साधना गरी वर्षौं वर्ष लगाएर गरेको साधनाबाट यमपंचक शान्त गराएर मनाएको चाड नै तिहार चाड हो । यसलाई मान्छेले आफनो मनखुसी ढंगको चाड बनाउनु उचित हो जस्तो बिल्कूलै लाग्दैन । 


 निष्कर्ष
समग्रमा हाम्रा चाडवाडलाई लिएर सिंहावलोकन गरेर हेर्ने हो भने ज्योतिषीय सिद्धान्तले मार्गदर्शन गरी दो¥याएको एउटा पनि चाड छैन । हाम्रा चाडपर्व गठामुग देखि शुरु हुन्छ । त्यही गठामुग देखि संस्कृतिसंस्कार रीति रिवाज परम्पराले नै मार्गदर्शन गरी दो¥याएको मात्रै छन्  । अझ गठामुगको दिन त बिहान त्रयोदशी र बेलुका चतुर्दशी लागेको झन उत्तम मानेको कुरा शास्त्र मै पाइन्छ । त्यही भएर अरु पनि चाडबाडहरु बिहान एउटा तिथि र बेलुका अर्को तिथि लागेको हुनु त झन अत्युत्तम  मानेर  बिहान सूर्योदय हुंदा सूर्यले जे तिथि लिएर उदय भएको हो अर्को सूर्योदय नभएसम्म त्यहि तिथि मानेर चाडपर्व मनाउने संस्कृति र परम्परा नै नेवारी संस्कृति परम्पराको प्रमुख विशेषता बनेको हो । यो परम्परा प्राचीन काल देखि अटूट रुपले निरन्तर चली आएको छ । केही मान्छे संस्कृति परम्परालाई हेर्ने कि ज्योतिषले बोलेको धार समात्ने भन्नेमा दिग्भ्रमित भयो भन्दैमा चाडबाडमा एक सूर्योदय देखि अर्को सूर्योदयसम्म कायम रहने सिद्धान्त बिखण्डन हुंदैन । तथापि एउटा कुरा भन्नै पर्ने भएको छ संस्कृतिको धार मान्दैमान्दैनौं भने पनि अरु चाडपर्व जोजोले जुनसुकै दिनमा मनाओस् वा मनाउन् मतलव छैन तर किजापूजा (भाइटिका) एउटा सम्पूर्ण नेपालीले एकै दिनमा मनाउने गरौ भनी प्रण गरोस् अहिलेलाई यत्ति मै पनि चित्त बुझाउन परेको छ ।  
श्यामसुन्दर राजवंशी
 

शुक्रबार​ ८ मंसिर २०८० ०२:३७ PM मा प्रकाशित

प्रतिक्रिया