×

घान्द्रुकमा बौद्धमार्गीका लागि विद्यालय निर्माण हुने

images

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरूका लागि (पाल डाकार छयोइदुब लिङ) विद्यालय निर्माण हुने भएको छ । 

कूल रु चार करोडको लागतमा निर्माण गर्न लागिएको विद्यालय आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण गरिनेछ । विद्यालयसँगै सङ्ग्रहालय, चमेना गृह, छात्रावास, भान्छाघर, गुफा बस्ने कुटी, मेडिटेशन र पूजा गर्ने हल र स्तुपासमेत निर्माण गरिने जनाइएको छ ।

विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका–११ ओप्लेंका स्वर्गीय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ, चन्द्र गुरुङ र हङकङ निवासी विश्वसम गुरुङको परिवारले १० रोपनी निःशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले जानकारी दिनुभयो ।

धर्मगुरु गुप्ती गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राख्नुभयो । घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको उल्लेख गर्दै उहाँले विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान दिने बताउनुभयो । 

विद्यालयको एक कार्यक्रमबीच शिलान्यास गर्दै पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले विद्यालयले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमा समेत योगदान पुग्ने बताउनुभयो । घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रविन्दु भए पनि विद्यार्थीहरू बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण नरहेको बताउँदै उहाँले विद्यालयसँगै बौद्ध शिक्षाका लागि सहर झर्ने क्रम रोकिने विश्वास व्यक्त गर्नुभयो । विश्वमा अहिंसा बढ्दै गएको बताउदै उहाँले बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताउनुभयो । तमु प्हे ल्हु सङ्घका भूतपूर्वअध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले विद्यालयले यस क्षेत्रको पर्यटकीय एवं शैक्षिक विकासमा योगदान पुग्ने धारणा राख्नुभयो । उहाँले निर्माणको सहयोगार्थ रु ५० हजार पाँच सय पाँच सहयोग गर्ने घोषणा गर्नुभयो । 

शनिबार ८ असोज २०७९ १०:०९ AM मा प्रकाशित

प्रतिक्रिया