×

पुस्तक प्रदर्शनीमा पाठकको भीड

images

युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति बढ्न थालेको छ ।
    
प्रज्ञाको भानुभक्त कक्षमा भइरहेको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ साउनसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको जनाएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ ।
 
विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग सात, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड एक, दुई, तीन, चार, पाँच र छजस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् ।
  
प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ । प्रदर्शनी यही भदौ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायतका धेरै विषयका पठनीय अतिउपयोगी झण्डै पाँच सयभन्दा बढी थरीका पुस्तक, पत्रपत्रिका समावेश गरिएको छ । यसैगरी साझा प्रकाशनले प्रकाशन गरेका तीन सयभन्दा बढी थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

‘लोकवार्ता विवेचना’, ‘तुफुका कविता’, ‘बोटे भाषाको व्याकरण’, ‘मातृभाषा साहित्यको इतिहास’, ‘विश्वप्रख्यात नारीका कथाहरु’ र ‘प्रज्ञा नेपाली समालोचना’, ‘प्रज्ञा मैथिली नेपाली शब्दकोष’, ‘चीनका प्राचीन कथा’, ‘अमरकोश’, ‘प्रज्ञा भोजपुरी नेपाली शब्दकोष’, ‘पाकिस्तानी महिला लेखन’ जस्ता ४०  भन्दा बढी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।
 
नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुुरु प्रकाशन भएदेखि २०७९ साउनसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुुभयो ।
 
‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता रु तीनदेखि  नेपाली बृहत् शब्दकोशको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले सुनाउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी यसअघिका प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक रु १५ देखि २० हजारभन्दा बढी पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो ।

प्रतिष्ठानले वर्षमा चारपटक पुस्तक प्रदर्शन गर्ने गरेको छ । नयाँ वर्षका अवसरमा वैशाख पहिलो साता, प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा असार पहिलो साता, मोती जयन्तीका अवसरमा भदौ र पृथ्वी जयन्तीका अवसरमा पुस दोस्रो साता भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुने गरेको छ ।

बुधबार ८ भदौ २०७९ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया