×

मिटरब्याजीविरुद्ध कारबाही सुरु

images

काठमाडौं । चर्को मिटरब्याजको समस्याले पिल्सिएका सर्वसाधारणले माइतीघर मण्डलामा धर्ना दिन थालेपछि सरकारले मिटरब्याजी पीडितको पक्षमा काम गर्न थालेको छ। सरकारले एक अधिकारसम्पन्न अध्ययन समिति निर्माण गरी हरेक जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी सङ्कलन गरेर कारबाही प्रक्रिया अघि बढाएको हो। 

मिटरब्याजी पीडितहरूको उजुरीको चाङ बढेसँगै गृह मन्त्रालयअन्तर्गत गठन भएको कार्यदलले मङ्गलबारदेखि स्थलगत रूपमा खटिएर छानबिन गर्न थालेको छ। गत साउन २७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न कार्यदल गठन गरिएको थियो ।

कार्यदलले देशभर नै मिटरब्याजीबाट गरिब, निमुखा पीडित भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयहरूमा प्रमाणसहित उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो। सूचना जारी भएपछि आइतबार कार्यालय समयसम्म एक हजार ९३७ जना मिटरब्याजी पीडितले उजुरी दर्ता गराएको कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी उजुरी परेका छन्। 

कुल उजुरीको ६९ प्रतिशत मधेश प्रदेशको मात्र छ। यस प्रदेशमा एक हजार ३३० जनाको उजुरी परेको छ। प्रदेश १ मा ९२ जना, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेका छन् । 
नयाँ मिटरब्याजी थपिँदै 

सर्लाही समाचारदाताका अनुसार सर्लाहीमा मिटरब्याजी आरोपितविरुद्ध ४२७ जना पीडितले उजुरी दिएका छन्। चर्को ब्याजमा ऋण लगानी गरेका साहुकारविरुद्ध पीडितले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्। गृह मन्त्रालयले मिटरब्याजको सम्बन्धमा अनुसन्धान गर्न परिपत्र गरेपछि जिल्लामा उजुरी सङ्कलन गर्न सुरु गरिएको थियो। भदौ ५ गतेसम्म ४२७ जनाबाट उजुरी परेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “उजुरी थपिने क्रम जारी छ।”

प्राप्त उजुरीमध्ये मलङ्गवा र पिपरिया घर भएका श्याम परदेशी भन्ने श्यामकृष्ण साह र बरहथवा घर भएका रामबाबु रायविरुद्ध धेरै उजुरी परेका छन्। त्यस्तै, त्रिभुवननगर घर भएका सञ्जय साह रौनियारविरुद्ध उजुरी परेको छ। यी तीन जनामध्ये श्याम परदेशी अहिले पुर्पक्षका लागि कारागारमा छन् भने सञ्जयलाई प्रहरीले केही दिनअघि महोत्तरीबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। दुई पटक पक्राउ परेर छुटिसकेका रामबाबु राय भने अहिले फरार छन्। गृह मन्त्रालयले मिटरब्याजीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक सूचना जारी गरेपछि केही नयाँ मिटरब्याजी आरोपितविरुद्ध पनि उजुरी परेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो। 

घरजग्गा पनि कब्जा 

सप्तरी समाचारदाताका अनुसार मिटरब्याजीविरुद्ध सप्तरीमा ११४ वटा उजुरी परेका छन्। तीमध्ये कतिपयले ठाडो र कतिपयले प्रमाणसहित उजुरी दर्ता गराएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो। प्राप्त उजुरीका आधारमा छानबिन गरेर कारबाही गरिने बताउँदै उहाँले भन्नुभयो, “कतिपयले ऋणीबाट सावाँ–ब्याजसहितको रकम चुक्ता गर्दा पनि कब्जामा लिएको घरजग्गालगायत अन्य श्रीसम्पत्ति फिर्ता नगरेको व्यहोरासहित उजुरी दर्ता गराएका छन्।” दर्ता भएको उजुरीमाथि सबुत प्रमाणका आधारमा सरकारी वकिलसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी गरिएको गौतमले बताउनुभयो।

सुर्खेतमा ११ उजुरी 

काँक्रेविहार समाचारदाताका अनुसार सुर्खेतमा मिटरब्याजीविरुद्ध ११ उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो। प्रशासन कार्यालयमा परेका उजुरीमध्ये प्रारम्भिक अध्ययन गरी गृह मन्त्रालयमा पठाइने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “दर्ता भएका उजुरीहरूको प्रारम्भिक अध्ययन गरी वर्गीकरण गरिँदै छ।’’

 स्याङ्जामा दुई जनाविरुद्ध उजुरी 

वालिङ समाचारदाताका अनुसार स्याङ्जामा दुई जनाले मिटरब्याजीबाट आफू अप्ठ्यारोमा परेको भन्दै प्रशासनमा उजुरी दिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो। प्रशासनमा परेका दुवै उजुरी फेदीखोला गाउँपालिकाबाट आएको प्रशासनले जानकारी दिएको छ। उजुरीकर्ता र मिटरब्याजीमा अपराध गर्ने ९पीडित र पीडक० व्यक्तिको नाम भने गोप्य राखिएको छ। प्रजिअ पौडेलले उजुरीमाथि अनुसन्धान गर्ने, सोधपुछ गर्ने तथा आवश्यक कारबाही अगाडि बढाउने जिम्मा प्रशासनलाई दिइएको र सोहीअनुसार मङ्गलबारबाट नै काम सुरु गरिएको बताउनुभयो। 

पैसा असुलेर घरजग्गा हडपियो 

रङ्गेली समाचारदाताका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजी पीडितले दिएका ३७ उजुरीको विवरणमध्ये केहीको सामान्य कारोबार सुरु गरेर मिटरब्याजको अङ्कुशबाटै घरजग्गा हडपेको देखिएको हो। विराटनगर–१५ का जितेन्द्रकुमार रजकसँग २०७० चैत १६ गते विराटनगर–१८ का भानोप्रसाद साहले पाँच लाख रुपियाँ लिनुभएको थियो। घरमूली भानोप्रसादको निधनपछि उहाँकी श्रीमती गायत्रीदेवी साहबाट पैसा पनि असुलेर जग्गा पनि हडपेको उजुरी परेको छ। 

पाँच लाख ऋण दिँदा पाँच कट्ठा जग्गा पारित गरिदिनुपर्ने तर ऋण तिरेपछि जग्गा फिर्ता गरिदिने सर्त अस्वीकार गरिएको भन्दै गायत्रीले रजकविरुद्ध उजुरी दिनुभएको छ। ऋण चुक्ता गर्दासमेत अहिले जग्गा फिर्ता गर्नुभन्दा तिर्न बाँकी देखाएर अङ्कुश लगाउने गरेको उहाँको गुनासो छ। पीडितको दाबीअनुसार ऋण प्रवाह गर्ने रजकसँग कुरा गर्दा सात वर्षअघि पारित भएको जग्गा अहिले मूल्य बढेपछि फिर्ता लिन नक्कली दाबी गरिएको गुनासो गर्नुभयो। पीडित गायत्रीले ऋण लिँदा कित्ता नम्बर ८६७ नम्बरको एक हजार ६९५ वर्गमिटर जग्गा रजकका नाममा धितो पारित गरिदिएको उजुरीमा उल्लेख गर्नुभएको छ। सर्तअनुसार पाँच लाखको आठ लाख ऋण तिरेपछि जग्गा फिर्ता गर्नुपर्नेमा उल्टै ऋण देखाउने गरिएको आरोप छ। गोरखापत्र दैनिक

बुधबार ८ भदौ २०७९ ०७:२० AM मा प्रकाशित

प्रतिक्रिया