×

एमसीसीबारे जसपा अनिर्णित : सांसदहरुले आफ्नो विवेक प्रयोग गर्ने

images

काठमाडौं । आजदेखि प्रतिनिधिसभामा एमसीसीको बारेमा छलफल सुरु हुँदैछ तर सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अझै ‘कित्ता क्लियर’ गर्न सकेको छैन । संसदमा एमसीसीको पक्षमा उभिने कि विपक्षमा भन्नेबारे जसपा नेपाल अनिर्णित बनेको हो । एमसीसीबारे प्रतिनिधिसभामा छलफल हुँदा जसपाका कतिपय सांसद पार्टीको निर्देशन कुरेर बसेका छन् भने कतिपय सांसदले आफ्नै विवेक प्रयोग गरेर बोल्ने भएका छन् । जसपामा एमसीसीलाई लिएर दुई पक्ष देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा छन् तर उनले हालसम्म आधिकारिक धारणा ल्याएका छैनन् । सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई भने एमसीसीको पक्षमा छन् ।

आन्तरिक द्वन्द्वका कारण लामो समयदेखि जसपा नेपालको बैठक बस्न सकेको छैन । जसपा संसदीय दलका प्रमुख सचेतक प्रमोद साह भन्छन्, ‘भोलिदेखि कार्यकारिणी समितिको बैठक बस्दैछ, त्यसबाट केही निर्णय हुनसक्छ तर आजको दिन सांसदहरुले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ ।’ कहिलेकाहीँ सांसदले आफ्नो विवेक पनि प्रयोग गर्नुपर्छ भन्दै उनले एमसीसीको पक्ष वा विपक्षमा धारणा राख्न जसपा नेपालका सांसदहरु स्वतन्त्र रहेको बताए ।

तर सोही पार्टीका सांसद रुही नाज भन्छिन्, ‘यस्तो विवादास्पद विषयमा पार्टीको निर्देशन आवश्यक हुन्छ, सांसदले आफ्नो विवेक प्रयोग गर्ने हो भने किन चाहियो पार्टी, किन चाहियो नेता ?’ आफू पार्टीको निर्णयको पर्खाइमा रहेको उनले बताइन् । पार्टीको निर्देशन नआएसम्म आफूले यसको विषयमा कुनै धारणा नराख्ने उनको भनाइ छ ।

 

सोही पार्टीका अर्का सांसद रेणु गुरुङ आफू एमसीसीको विपक्षमा रहेको बताइन् । एमसीसी देशको हितमा नरहेको कारण आफू त्यसको विपक्षमा उभिएको बताउँदै उनले पनि पार्टीको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिइन् । यद्यपि पार्टीको आधिकारिक धारणा आएन भन्दैमा सांसदहरु त्यतिकै चुप लगाएर बस्न पनि नहुने उनको भनाइ छ ।

सोही पार्टीका सांसद सूर्यनारायण यादवले आफू पनि पार्टीको निर्णयको प्रतिक्षामा रहेको बताए । उनले भने, ‘अहिलेसम्म पार्टीको कुनै निर्देशन आएको छैन, के गर्ने के नगर्ने भन्नेमा हामी अन्योलमा छौं ।’ उनका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव एमसीसीको बारेमा मौन छन् भने डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । यद्यपि पार्टीका अधिकांश सांसद एमसीसीको पक्षमा रहेको उनले बताए ।

 

अर्का सांसद डा.सुरेन्द्र यादवले एमसीसीको पक्ष वा विपक्षमा पार्टीले निर्णय गर्नुपर्ने बताए । तर पार्टीले निर्णय नगरेको अवस्थामा सांसदहरु त्यतिकै चुप लागेर बस्न नमिल्ने उनको भनाइ छ । संसदमा आफूले आफ्नो विवेक प्रयोग गर्ने प्रस्ट पार्दै उनले आफू एमसीसीको पक्षमा रहेको र त्यसलाई पास गराउन आफ्नो भूमिका रहने जानकारीसमेत दिए ।

सांसद रामबाबु यादवले सरकारले संसदमा प्रस्तुत गर्ने बित्तिकै त्यसलाई पास गर्न नहुने बताउँदै त्यस विषयमा दफाबार छलफल हुनुपर्नेमा जोड दिए । एमसीसीलाई छलफलका लागि अर्थ समितिमा पठाउनुपर्ने उनको भनाइ छ ।

आफूले संसदमा हुने दफाबार छलफलमा भाग लिने तर पक्ष वा विपक्षमा आफ्नो धारणा नराख्ने बताउँदै उनले एमसीसीको बारेमा पार्टीको धारणालाई पर्खिने बताए । फागुन १३ गतेदेखि बस्ने जसपा कार्यकारिणी समितिको बैठकबाट एमसीसीका बारेमा कुनै न कुनै निर्णय आउने उनको भनाइ छ ।

अर्का सांसद लिलादेवी सिटौलाले एमसीसीको बारेमा के गर्ने भन्नेबारे हालसम्म कुनै मनस्थिति नबनाएको बताइन् । पार्टीको निर्णयको प्रतिक्षामा रहेको बताउँदै उनले पार्टीको निर्णय नआए संसद भवनमै कुनै धारणा बनाउने बताइन् ।

परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीका सांसदहरुलाई भेटेर एमसीसीको पक्षमा बोल्न आग्रह गरिरहेका छन् । पार्टीका १९ जना सांसदमध्ये १२ जनाभन्दा बढी एमसीसीको पक्षमा रहेको बाबुराम पक्षको दाबी छ ।

जसपाबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने आफू एमसीसीको पक्षमा उभिने प्रस्ट पारिसकेको छ ।

 

 

बिहीबार १२ फागुन २०७८ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया