×

शङ्कर लामिछानेको सम्झना गरियो 

images

काठमाडौं । नेपाली साहित्यका विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ४७ औं स्मृति दिवसको सन्दर्भ पारेर आज यहाँ उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानको चर्चा परिचर्चा  गरियो । 

शङ्कर लामिछाने प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वक्ताहरूले नेपालीआत्मपरक निबन्धका क्षेत्रमा देवकोटा र शङ्कर लामिछाने अद्वितीय प्रतिभा भएको बताउँदै लामिछानेका निबन्धका विषय र शैलीलगायत विभिन्न पक्षका बारेमा विश्वविद्यालयहरूबाट शोधको खाँचो रहेको औंल्याउनु भयो । 

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. रामदयाल राकेशले शङ्कर लामिछाने कलमका जादूगर भएको बताउनु भयो । कवि एवम् समालोचक प्रमोद प्रधानले आजभन्दा ५० वर्षभन्दा अघिको समयमा लेखिएका लामिछानेका निबन्धहरू विषय, भाव, बौद्धिकता, गाम्भीर्य, कलात्मकता र शैली सबै दृष्टिबाट विशिष्ट रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, "उनका निबन्धहरूमा जीवनप्रतिको चिन्तन, अध्ययनबाट प्राप्त ज्ञान र बौद्धिकता र विभिन्न क्षेत्रमा कार्यरत रहँदाका अवस्थामा प्राप्त अनुभवहरूको समष्टिगत प्रस्तुति भएको पाइन्छ ।" 

अर्का वक्ता निबन्धकार श्रीओम श्रेष्ठ "रोदन"ले लामिछानेलाई पत्रपत्रिकाका सम्पादकहरूले अग्रिम पारिश्रमिक दिएर निबन्ध लेख्न लगाउने गरेको सन्दर्भ उल्लेख गर्दै त्यसबाट पनि उनको साहित्यिक मूल्य र स्तरको मापन गर्न सकिन्छ भन्नुभयो । लामिछाने एक इमानदार स्रष्टा भएको उनको भनाइ थियो । 

नियात्राकार प्रतीक ढकालले हाम्रो पुस्ता शङ्कर लामिछाने लगायतका निबन्ध पढेर हुर्केको  साहित्यिक पुस्ता भएको स्मरण गर्दै उनको योगदानका बारेमा जति चर्चा परिचर्चा हुनुपर्ने थियो, जति लेखिनुपर्ने थियो, त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । 

निबन्धकार श्रीबाबु कार्कीले संचालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरु देवीभक्त श्रेष्ठ (झापा), नरेन्द्रबहादुर श्रेष्ठ,नरेन्द्रराज पौडेल, डा. गोविन्दमान सिंह कार्की, शंकर भारती, डब्बु क्षेत्री, सुशीला देउजा, संगीता शर्मा, मन्जिला अनिल, पारस नेपाल, मुरारि सिग्देल, रमेश दाहाल, डी. आर. राई, डिल्लीरमण सुवेदी, रिपेश गुप्तालगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार १० माघ २०७९ ०९:३१ PM मा प्रकाशित

प्रतिक्रिया