×

रमेश खरेल : खरो प्रहरीको राजनीतिमा चलेन जोर

images

 

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई रोजेपछि आकांक्षी रमेश खरेल राजीनामा दिएर तीन वर्षसम्म मौन बसे । ‘नालायक नेतृत्व’को मातहतमा काम नगर्ने बताउँदै राजीनामा दिएका खरेल ११ महिना (प्रहरीमै रहेको भए नियमित अवकाश पाउने दिन) सम्म गुमनाम रहे ।

स्वेच्छिक अवकाश नरोजेको भए सेवा अवधि सकिने दिन १ फागुन २०७५ मा भावनात्मक अवकाश पाएको बताउँदै खरेलले बाँकी जीवन आफूलाई भ्रष्टाचारविरोधी अभियानमा समर्पित गराउने उद्घोष गरे । हुन त उनले ‘कहिल्यै कुनै दलीय अभियानमा सहभागी हुन नचाहने’ बताएका थिए ।


तर, २४ मंसिर २०७८ मा उनी आफैं संयोजक बनेर नेपाल सुशासन पार्टी घोषणा गरे ।

प्रहरीमा छँदा बेथितिविरुद्ध खरो उत्रिने अफिसरका रुपमा छवि बनाएको पृष्ठभूमिबाट आउनसक्ने समर्थनलाई लक्षित गरेर उनले सुशासनलाई प्रमुख एजेण्डा बनाउँदै पार्टी खोलेका थिए ।

एसएसपी छँदा काठमाडौंको प्रहरी प्रमुख भएका उनी प्रहरीमा ‘बढुवा हुनका लागि ब्रिफकेस बोकेर अधिकृतहरु घर–घर धाउन थालेको’ बताएपछि कारबाहीमा परेका थिए ।

आचरण विपरीत र अनुशासनहीन काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट हटायो । तर, आम नागरिकबाट चाहिँ यही शैलीका कारण उनले वाहवाही पाए ।

नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीका अनुसार पार्टीले वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कम्तीमा ३५ स्थानमा उम्मेदवारी दिएको थियो ।
तीमध्ये पर्साको पोखरिया नगरपालिका– ९ को वडाध्यक्षमा पार्टीका उम्मेदवार निर्वाचित भए । अरुले उल्लेख्य मत ल्याउन सकेनन् ।

काठमाडौं महानगरको मेयरमा खरेल स्वयंले पनि उम्मेदवारी दिन खोजेका थिए । अन्तिममा पछि हटे । स्थानीय तह निर्वाचनमा अरु उम्मेदवारले ल्याएको परिणामबाट खरेलले एक्लै उम्मेदवारी दिएर अघि बढ्न सहज नहुने बुझे ।


पार्टी घोषणा कार्यक्रममा रमेश खरेल ।
आम निर्वाचनको तयारीका क्रममा खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, हाम्रो नेपाली पार्टीका सुमन सायमी, विवेकशील साझाका नेताहरुसहित स्वागत नेपाल लगायतको टोलीसँग मिलेर अघि बढ्न निरन्तर छलफल गरे । तर, उनीहरु एक ठाउँमा उभिन सकेनन् ।

खरेलको पार्टीका एक नेताका अनुसार लामिछानेले उनलाई एक्लै पार्टीमा आउन प्रस्ताव गरे । उनलाई सम्मानजनक स्थान दिने प्रस्ताव थियो । तर खरेलले एक्लै जान अस्वीकार गरे ।

आफ्नो टिम रहेको र जाँदा सबै जना जाने बताएपछि अन्तिममा छलफल निष्कर्षमा पुग्न सकेन । सायमी र स्वागत नेपालहरुसँग जुट्ने छलफल पनि निश्कर्षमा पुग्न सकेन । ‘स्वतन्त्र भनेपनि अरु पार्टीमा जस्तै समस्या देखिए, नेतृत्व कसले गर्ने र एकअर्कालाई नस्वीकार्ने प्रवृत्तिका कारण मिल्न सम्भव भएन’, खरेल निकट एक नेता भन्छन् ।

बुधबार ७ मंसिर २०७९ ०५:४५ PM मा प्रकाशित

प्रतिक्रिया